खोटाङ - मान्छे–मान्छेबीच मितेरी साइनो गाँसेको त जाने सुनिएकै हो । तर, खोटाङमा दुई विद्यालयबीच पनि मितेरी साइनो गाँसिएको छ । पारस्परिक रुपमा शैक्षिक गुणस्तर उकास्न परम्परागत विधिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि र मोरङको विराटनगर महानगरपालिका–३ स्थित मोडर्न एरा इङ्लिस बोर्डिङ स्कुलबीच यसै साता मितेरी साइनो गाँसिएको हो । स्थानीय विक्रममणि राई र कटकबहादुर राईले परम्परागत विधिबाट बकपत्र गरेको मितेरी कार्यक्रममा जालपा माविका प्रधानाध्यापक तेजबहादुर राई र मोर्डन एरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रसाद घिमिरेले आपसमा चिनो साटासाट गर्दै मितेरी साइनो स्थापित गरेका हुन् ।
जालपा माविमा आयोजित कार्यक्रममा प्रअ राईले चिनोस्वरुप हस्तनिर्मित कठुवा/ठेकी प्रिन्सिपल घिमिरेको हातमा थमाइदिए । घिमिरेले पनि चिनोस्वरुप राईको हातमा भलिबल थमाइदिए । पारस्परिकरुपमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि परम्परागत तरिकाले मितेरी साइनो गाँसेका दुई विद्यालयलाई कार्यक्रममा उपस्थित १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले एक थान ल्यापटप दिए ।
सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा नयाँ अभ्यास गर्नेक्रममा प्रदेश सरकारकै पहलमा पहाड र तराईका विद्यालयबीचमा मितेरी साइनो कार्यक्रम आयोजना गरिएको हो । दुई विद्यालयबीच हार्दिकता र सद्भाव कायम गर्दै शैक्षिक उन्नयनका क्षेत्रमा सामूहिक रुपमा क्रियाशील हुन मितेरी साइनो गाँसिएको जालपाका प्रअ राईले बताए । ‘विद्यालयबीचमा पारस्परिक सम्बन्ध स्थापित गर्दै प्रभावकारी, गुणस्तरीय शिक्षा र बालमैत्री शिक्षाका लागि ज्ञान, अनुभव आदान–प्रदान गर्न मितेरी साइनो कायम गरिएको हो,’ राईले भने, ‘अब हामीबीचका शैक्षिक समस्या सामूहिक रुपमा हल गर्नेछौं । शिक्षाको गुणस्तर बढाउन अनुभव र सीपको आदान–प्रदान पनि हुनेछ ।’
दुई विद्यालयबीच आवश्यकता अनुसार शिक्षण सिकाइ क्रियाकलाप सुधार गर्न विद्यार्थी, शिक्षक र अभिभावक तहमा भ्रमण गरी विचार आदान–प्रदान गर्ने, शैक्षिक गुणस्तर बढाउन शिक्षक तथा अभिभावकको दक्षता विकास गर्न कार्यशाला तथा गोष्ठी सञ्चालन गर्ने र निष्कर्ष कार्यान्वयन गर्ने, दुवै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि निःसर्त सहयोग आदानप्रदान गर्ने सहमतिमा हस्ताक्षर भएको छ । यस्तै, दुवैै विद्यालयको पहलमा साझा उद्देश्य पूरा आवश्यक आर्थिक, भौतिक तथा मानवीय स्रोत खोजी गर्ने, विद्यालयका लागि अन्य आवश्यक कार्य दोहोरो सहमतिका आधारमा गर्ने, मितेरी साइनो माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न निरन्तर पैरवी गर्दै जानेलगायत सहमति दुई विद्यालयबीच भएको छ ।
प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे, पूर्व सांसद टंक राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङ, नगरका मेयर दीपनारायण रिजाल, वडाध्यक्ष विकास राईलगायतको रोहबरमा सोमबार दुई विद्यालयबीच मितेरी सम्बन्ध स्थापित गरिएको हो । प्रदेशका अन्य बिद्यालयबीच पनि मितेरी साइनो स्थापित गर्दै लैजाने प्रदेश सरकारले जनाएको छ । मितेरी साइनोका कारण हुने सहकार्यले भविष्यमा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त हुनेमा अभिभावक आसावादी बनेको प्रााध्यपक ध्रुव श्रेष्ठले बताए ।
प्रकाशित: २१ मंसिर २०७५ ०२:०० शुक्रबार