coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वन मन्त्रालयबाट मन्त्रीसहित १२ जनाको पोल्यान्ड भ्रमण

काठमाडौं - वन तथा वातावरण मन्त्रालयबाट मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्यान्ड भ्रमणमा गएका छन्।

पोल्यान्डमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफससिसी) को २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन्।

आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्यान्ड गएका हुन्।

मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाका अनुसार पोल्यान्डमा जारी सम्मेलनमा मन्त्रालयका सहसचिव महेश्वर ढकाल छन्। मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख ढकाल भने फोकल पर्सन हुन्। सहसचिव रामप्रसाद लम्साल पनि छन्। उनी वन तथा भू–संरक्षण विभागको महानिर्देशक हुन्। यसअघि जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको अनुभव संगालेको भन्दै उनलाई पनि सम्मेलनमा पठाएको ढुंगानाले जानकारी दिए। तर, उनी असम्बन्धित व्यक्ति हुन्।

त्यसैगरी उपसचिव अखण्ड शर्मा, रामहरि पन्त, रामप्रसाद अवस्थी पनि भ्रमणमा गएका छन्। प्रशासन सचिव रामबहादुर शाही, मन्त्री बस्नेतका निजी सचिव गणेशविक्रम शाही पनि भ्रमणमा छन्। उनीहरुको सम्मेलनमा कुनै काम छैन्। विन्दु मिश्र, अरुण भट्ट, सञ्जय तिवारीलगायतका असम्बन्धित कर्मचारी पनि सम्मेलनका लागि भनेर हाल पोल्यान्डमा घुम्दैछन्। प्रवक्ता ढुंगानाका अनुसार मन्त्रालयले मनोनयन गरेर पठाएको कर्मचारी १० जना मात्रै हुन्। तर, यादव उप्रेती पनि सम्मेलनका लागि भन्दै भ्रमणमा सहभागी छन्। उनी भने मन्त्रालयका कर्मचारी होइनन्। ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी फन्डमा कन्सल्ट्यान्टका रुपमा कार्यरत उप्रेतीलाई मन्त्रालयका सचिव विश्वनाथ ओलीले पठाएको स्रोतले बतायो। सम्मेलनमा ओली पनि जाने तयारी गरेका थिए। तर, मन्त्रिपरिषद्बाट सचिव ओलीको भने भ्रमण स्वीकृत नभएर रोकिएका थिए।

‘यो महत्वपूर्ण सम्मेलन भएर धेरै कर्मचारीको सहभागिता गराएका हौं,’ मन्त्रालयका प्रवक्ता ढुंगानाले भने, ‘कर्मचारीको भ्रमणले मन्त्रालय तथा सरकारलाई कुनै आर्थिक भार पर्दैन।’ उनका अनुसार मन्त्री बस्नेतबाहेक कर्मचारी विभिन्न दातृ निकायको फन्डबाट सम्मेलनमा भाग लिन पोल्यान्ड पुगेका छन्।

सरकारलाई नै आउने दातृ निकायको सहयोग रकमबाट ती कर्मचारी विदेश भ्रमणमा सयर भएको स्रोतको दाबी छ। सरकारलाई भार नपर्ने भन्दै कार्यक्रम भन्दा असम्बन्धित कर्मचारीलाई लर्को लगाएर विदेश पठाएकोमा भने मन्त्रालयकै कर्मचारीको आपत्ति छ।

प्रवक्ता ढुंगानाका अनुसार पनि पोल्यान्डमा भइरहेको सम्मेलनका लागि लागि फोकल पर्सन जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख ढकाल हुन्। उनै सहसचिव ढकालको नेतृत्वमा अन्य कर्मचारी सम्मेलनमा पठाइएको हो। ‘यो महŒवपूर्ण सम्मेलन भएकाले धेरै कर्मचारीको आवश्यकता हुन्छ,’ ढुंगानाले भने, ‘सम्मेलनको नेतृत्व गरेका ढकालले नै अरु कर्मचारीलाई जिम्मेवारी दिएर सहभागी गराउनुहुनेछ।’

सबै कर्मचारीले जिम्मेवारी पूरा गरेर केही सिकेर आउने अपेक्षा मन्त्रालयको छ। क्षमता अविवृद्धिका लागि पनि कर्मचारी विदेश जानुपर्ने भन्दै लर्को लागेर विदेश गएको भन्दा त्यहाँ सिकेर आएका कुरा यहाँ उतार्नु महŒवपूर्ण हुने उनले बताए।

मन्त्रालयका कर्मचारी सम्मेलनका लागि भन्दै मंसिर ८ गतेबाट पोल्यान्ड जान थालेका थिए। आइतबार भएको सम्मेलनमा भने सबै कर्मचारी पुगिसकेका थिए। मन्त्री बस्नेत भने शनिबार गएका हुन्। उनी बिहीबार फर्किए। केही कर्मचारी भने मंसिर अन्तिमसम्मै बस्ने मन्त्रालयले जनाएको छ। ‘मंसिर २९ गतेका दिन सहसचिव ढकालको प्रस्तुति छ,’ ढुंगानाले भने, ‘त्यतिन्जेल त बस्नै प¥यो नि।’ सम्मेलनमा मंसिर १६ गतेबाट सुरु भएको हो। सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन्।

राष्ट्रपति भण्डारी भने बिहीबार नेपाल फर्किएकी छन्। अधिकांश कर्मचारी पोल्यान्डमै घुम्न व्यस्त छन्।

कोपमा पनि असम्बन्धित कर्मचारी
मन्त्रालयले पोल्यान्डमा मात्रै नभएर इजिप्टको कोप सम्मेलनमा पनि असम्बन्धित कर्मचारीलाई लर्को लगाएर पठाएको थियो। मंसिर १ देखि १३ सम्म इजिप्टमा भएको जैविक विविधतासम्बन्धी पक्ष मुलुकको राष्ट्रसंघीय १४ औं सम्मेलन (कोप १४) मा आधा दर्जन बढी कर्मचारीलाई सामेल गराएको स्रोतको दाबी छ। इजिप्ट जानेमा उपसचिवहरु रामचन्द्र खतिवडा, लक्ष्मण खनाल (लेखा), कोमल खत्री (कानुन), वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसी र सहायक वन अधिकृत दीपा ओली रहेका थिए।

त्यसैगरी सहसचिव यज्ञनाथ दाहाल पनि इजिप्ट गएका थिए। कात्तिक २६ गते इक्वेडरबाट फर्किएका उनी भोलिपल्टै इजिप्ट गए। दाहाल इक्वेडरमा आयोजित जैविक विविधतासम्बन्धी महासन्धिको तयारी बैठक सकेर कात्तिक २६ गते फर्किएका थिए। इजिप्टका लागि भने फोकल पर्सन दाहाल नै थिए। अन्य व्यक्ति भने असम्बन्धित रहेको स्रोत बताउँछ।

त्यसैगरी मंसिर तेस्रो साता भुटानमा हुन लागेको हात्ती र मानव द्वन्द्व कार्यक्रममा पनि मन्त्रालयले असम्बन्धित व्यक्तिको लर्को लगाएर पठाउन लागेको दाबी स्रोतको छ।

मन्त्रालयका सचिव ओलीले आफू नजिकका कर्मचारीलाई असम्बन्धित कार्यक्रममा विदेश सयर गराउँदै आएको स्रोतको दाबी छ। सचिव ओलीले पहिलैदेखि विदेशमा हुने अधिकांश कार्यक्रममा असम्बन्धित कर्मचारीलाई लर्को लगाएर पठाउँदै आएका छन्।

प्रकाशित: २१ मंसिर २०७५ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App