coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण : इन्जिनियरद्वारा विशेष भत्ता माग

काठमाडौं - भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरको खोसिएको सेवा सुविधा पू्र्ववत् रुपमा कायम गर्न प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशनले माग गरेको छ।

इन्जिनियरहरुको संस्था प्रोग्रेसिभ एशोसियशनले बिहीवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै इन्जिनियरलाई विशेष भत्ता उपलब्ध गराउन माग गरेको हो। ‘इन्जिनियरहरुले अति प्रतिकुल अवस्थामा, जोखिमपूर्ण स्थानमा काम गरिरहँदा र आफ्नो पेशागत जिम्मेवारी पूरा गरिरहँदा खाइपाई आएको सामान्य सुविधा समेत सम्वेदनहिन ढंगले खोसिदिएको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष शम्भु बहादुर श्रेष्ठले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ।

एशोसियशनले पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुले खाईपाई आएको विशेष भत्ता खोसिएकोप्रति असहमति जनाउँदै सो सुविधा पूर्ववत् कायम गर्न र इन्जिनियर लगायत प्राविधिकहरुको सेवालाई निरन्तरता दिने सम्बन्धमा समेत सकारात्मक र स्पष्ट निर्णय लिन प्राधिकरणलाई आग्रह गरेको छ।

‘यसरी खाइपाई आएको सुविधा राज्यले असम्वेदनशील भई खोसिदिँदा योजनास्थलमा खटिएर काम गर्ने इन्जिनियरहरुको कार्यदक्षता, क्रियाशिलता र मनोबलमा प्रतिकुल असर पर्नेप्रति प्राधिकरणको ध्यान आकृष्ट गर्न चाहन्छौं’, ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै, पुनर्निर्माणको कामलाई गति दिएर भूकम्प पीडितको छिटो समस्या समाधान गर्नुपर्ने एशोसियशनको सुझाव छ। 
इन्जिनियरहरुको ज्ञापनपत्र बुझ्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समस्याप्रति आफू जानकार रहेको र समाधानको पहल भइरहेको बताए। उनले इन्जिनियरको समस्या छिट्टै समाधान गरी पुनर्निर्माण द्रुत गतिमा अघि बढाइने स्पष्ट पारे। 

 

प्रकाशित: २० मंसिर २०७५ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App