coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भइ बिहीबार स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रीहरु, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखलगायत विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए। राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो। राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा यही मङ्सिर १६ गतेदेखि शुरु भइ २८ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रमा विशेष सम्बोधन गरेकी थिइन्।

भ्रमण दलमा सहभागी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको भ्रमणका बारेमा जानकारी दिए। राष्ट्रपति भण्डारीले सम्मेलनको उद्घाटनमा नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भएपनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताउनुभएको मन्त्री बस्नेतले उल्लेख गरे।

नेपाल हिमाल, पहाड र तराईयुक्त अतिकम विकसित मुलुक भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएपनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको बताएकी थिइन्। राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको बताएकी थिइन्।

राष्ट्रपति भण्डारीले सम्मेलनमा हिमाली जलवायु विज्ञानको अध्ययन प्रवद्र्धन गर्ने, दिगो पहाडी अर्थतन्त्र जोगाउने, सामाजिक तथा आर्थिक विकास गर्ने, सबै नेपालीलाई स्वच्छ ऊर्जामा पहुँच दिने प्रयासमा ज्ञान, सीप, प्रविधि र जलवायु वित्त अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोग हुने विश्वास व्यक्त गरेकी थिइन्। भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र राष्ट्रसंघिय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसलेबीच शिष्टाचार भेटवार्ता भएको थियो।

साथै राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्री बस्नेतले जानकारी दिए। भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पोल्याण्डको राजधानी वार्सास्थित रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारी आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली संघ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएकी थिइन्। (रासस)

प्रकाशित: २० मंसिर २०७५ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App