८ वैशाख २०८१ शनिबार
अन्य

बगरमा बिलायो त्यो खुसी

धादिङ-उत्तरी धादिङको विकट गाउँमा सोमबारसम्म छुट्टै रौनक थियो। भूकम्पले १६ महिनाअघि ढालेको घरको जग हाल्न सरकारले पहिलो किस्ता अनुदान लिन बोलायो । दसैंलगत्तै घरको जग हाल्ने उत्साहसाथ उनीहरु ५० हजार रुपैयाँ लिन सदरमुकाम ओइरिए।

कतिपयसँग लालपुर्जा थिएन, ५० हजार बुझ्न लालपुर्जा नभइनहुने भएकाले उनीहरु नामसारी गर्न सदरमुकाम हान्निए ।

मंगलबार बिहान ११ बजेसम्म स्थानीयमा रहेको त्यो खुसी एकाएक सिसाको घर गर्लाम्म ढलेझैं चकनाचुर भयो, अनुदान र लालपुर्जा झिकेर गाउँ फर्किरहेका गाउँले जब बस दुर्घटनामा परे ।

गाउँ एकाएक शोकको आहालमा चुर्लुम्म भयो ।

उत्तरी धादिङको विकट क्षेत्र मार्पाक–५, लपाङफेदीमा मंगलबार बस दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भयो जो अधिकांश भूकम्पपीडित थिए, अनुदान लिएर सदरमुकामबाट घर फर्कैदै थिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते छन् । गम्भीर घाइते ११ जनाको राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

१८ जनाको घटनास्थलमै र एक जनाको राजधानीमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरीप्रमुख एसपी शरद खत्रीले जानकारी दिए ।

जिल्ला सदरमुकाम, धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको फोरह्विल बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँमा भीरबाट खसेर करिब ३ सय मिटर तल आँखुखोला बगरमा पुगेर चकनाचुर भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएकामा धादिङ, सत्यदेवी–२ का मेहन्दीजामी तामाङ, चित्रमाया तामाङ, रंगसिंह तामाङ र रौता तामाङ, सत्यदेवी–३ का लीलाबहादुर थिङ, सत्यदेवी–९ का रावन तामाङ, मार्पाक–५ की दिलकुमारी अधिकारी र कमला पौडेल छन् ।

यसैगरी, मार्पाक–५ का पदमबहादुर थापा, गुम्दी–८ का रुद्रबहादुर घले, दार्खा–९ का रामचन्द्र सापकोटा, री–८ का मानबहादुर तामाङ, चन्द्र तामाङ, री–२ का टेकबहादुर तामाङ र खिया लामा, सेर्तुङ–९ का लारुप तामाङ, झार्लाङ–१ का मेन्छे तामाङ र बसचालक गोर्खाका गंगावीर विश्वकर्माको पनि घटनास्थलमै मृत्यु भएको हो।

दिलकुमारी र कमला सासूबुहारी हुन् ।

भीरमा गुल्टिँदै खोलाको बगरमा पुगेको बस दुई टुक्रा भएको छ भने पार्टपार्ट छुट्टिएको छ । पहिरोले पुरिएको साँघुरो बाटोमा चिप्लिएर दुर्घटना भएको स्थानीय शिक्षिका गायत्री इटनीले बताइन् ।

३१ जना यात्रुको टिकट काटेर बिहान ८ बजे धादिङबेसीबाट किन्ताङफेदीका लागि गुडेको बस ११ः३० बजे दुर्घटनाग्रस्त भएको हो । घाइतेको स्थानीय, प्रहरी र लगत्तै घटनास्थल पुगेका जिपका यात्रुले उद्धार गरेका थिए । घाइतेलाई दुइटा हेलिकप्टरमा उपचारका लागि काठमाडौं पठाइएको थियो । दुर्घटनाको खवरपछि धादिङ कांग्रेस सभापति रमेश धमला निजी एयरलाइन्सको हेलिकप्टरसहित उद्धारका लागि लपाङबेसी पुगेका थिए ।

बसमा सवार अधिकांश यात्रु भूकम्पले क्षति पु¥याएको घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराइरहेको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ रकम बुझेर घर फर्कंदै थिए । केही यात्रु अनुदानकै लागि आवश्यक लालपुर्जा नामसारी गरेर फर्कंदै थिए ।

कच्ची सडकमा कोचाकोच यात्रु बोकेकाले ओभरलोड भई दुर्घटना भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय, धादिङका डिएसपी दिपेन्द्र पँजियारले बताए । अप्ठ्यारो बाटो, त्यसमाथि पहिरोले कुनापट्टिको भाग भिरालो पारेको र केही घुम्ती भएको ठाउँबाट पछाडिको चक्काले सडक छाडेपछि दुर्घटना भएको उनले जानकारी दिए ।

प्रत्यक्षदर्शी इटनीका अनुसार बसको छतमा पनि यात्रु थिए । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किमी टाढा छ । धादिङको उत्तरी क्षेत्र जाने यो एकमात्र सडक हो । उत्तरी धादिङ जोड्ने साङकोष–तिप्लिङ सडकखण्ड बर्खामासमा सवारीसाधन चलाउनै नसक्ने हालतले बिग्रिएको भए पनि त्यही सडकमा यात्रा गर्नु त्यस क्षेत्रका स्थानीयको बाध्यता छ ।

घटनास्थल पुगेका प्रहरी सुरेन्द्र यादवले भने, ‘सडकको दुरवस्थाकै कारण दुर्घटना भएको देखिन्छ ।’

‘आमालाई लालपुर्जा देखाउनै पाइनँ’

मार्पाक–५ राम्चेका विनोद पौडेललाई उनका बुबाले १३ वर्षपहिले नै सदाका लागि छाडेर जानुभयो । एउटा सानो घर थियो, त्यो पनि भूकम्पले लग्यो । ‘घरमा धेरै काम छ, म जाँदै गर्छु, तिमी भोलि चाँडै आऊ है, छिट्टै कागजपत्र मिलाएर घर बनाउन थाल्नुपर्छ, भन्नुभएको थियो,’ पौडेलले भने, ‘आमालाई लालपुर्जा देखाउनै पाइनँ ।’

आमा कमला र हजुरआमा दिलमायालाई विनोदले मंगलबार बिहान टिकट काटेर गाडी चढाइदिए । गाडी चढाएको तीन घन्टा बित्न नपाउँदै बस दुर्घटनामा दुवै जनाको मृत्यु भएको हो । घर पुग्न केही बेर बाँकी रहँदा बस दुर्घटनामा प¥यो । पौडेलले भने, ‘जग्गा नामसारी गर्न आउनुभएको हो, लालपुर्जा मात्रै लिन बाँकी थियो, लिएर आइज है बाबु भन्नुभएको थियो, भेट्नैसमेत पाइनँ ।’

बुबाको मृत्युपछि हजुरआमाले आमाका नाममा जग्गा नामसारी गरिदिएकी थिइन् तर लालपुर्जा हात नपर्दै दुर्घटनामा मृत्यु भयो । भगवानले बसको बी–साइडको ५ र ६ नम्बरको टिकट काटेर आमा र हजुरआमालाई घर पठाएका थिए ।

लपाङ बस दुर्घटनाका मृतकहरु

मेहन्दीजामी तामाङ   – सत्यदेवी २

चित्रमाया तामाङ – सत्यदेवी २

रंग सिं तामाङ – सत्यदेवी २

रौता तामाङ – सत्यदेवी २

लीला बहादुर थिङ – सत्यदेवी ३

रावन तामाङ – सत्यदेवी ९

दिल कुमारी अधिकारी – मार्पाक ५

कमला पौडेल – मार्पाक ५

पदम बहादुर थापा – मार्पाक ५

मानबहादुर तामाङ – री ८

चन्द्र तामाङ – री ८

टेकबहादुर तामाङ – री २

खिया लामा – री २

रुद्रबहादुर घले – गुम्दी ८

रामचन्द्र सापकोटा –दार्खा ९

लारुप तामाङ – सेर्तुङ ९

मेन्छे तामाङ – झार्लाङ १

का गंगवीर विश्वकर्मा – तान्द्रुङ, गोरखा

'पहिले छट्पटाइरहेकालाई निकाल्यौं'

खाना खाने बेला भएको थियो । बस पल्टियो रे भन्ने सुनेँ । लगत्तै दगुरेर त्यहाँ पुगियो । त्यतिबेला पौने एक बजेको थियो ।

कोही चिच्याइरहेका थिए, कोही गुहारगुहार भनिरहेका थिए । उठ्न सक्ने घाइते धमर्राउँदै भागिरहेका थिए। केही घाइते पानी–पानी भन्दै छटपटाइरहेका थिए । घाइते र शव भीरभरि छरपष्ट देखिन्थ्यो । भीरमा ढुंगा सँगसँगै शव उछिट्टिएर छरिएका थिए । टाउको एकतिर, ज्यान अर्काेतिर देखिन्थ्यो । धेरैको मुखबाट रगत भलभल बगिरहेको देखिन्थ्यो ।

चारैतिरबाट मान्छे बस पल्टिएको ठाउँतिर ओइरिरहेका थिए । त्यहाँ आइपुगेकाहरु घाइते र शवको अनुहार हेर्दै हिँडिरहेका थिए । कोही आफ्नो मान्छे परेको छ कि भनेर खोजेजस्तो गर्दैथिए । सडकबाट हेर्दा बसको पार्टपार्ट छुट्टिएर भीरमा अड्किएको थियो । च्याचिस भने आँखुको बगरमा पुगेको रहेछ ।

                एक जना महिला गाडीभित्रै च्यापिएकी रहिछन् । हामी पहिले छटपटाइरहेकालाई टिप्न थाल्यौं। त्यतिखेरसम्म भीर माथिबाट हेर्ने मात्र धेरै थिए । भीरमा जाँदा ढुंगा पल्टिने र समाउने ठाउँ नभएकाले आफैं लड्ने डरले मानिस रमितेजस्ता देखिन्थे ।

‘ओइ, आओ न भन्दै बोलाउँदै निकाल्न थाल्यौं । सुरुमा हामी विकास स्मालीमगर, बुद्धिबहादुर गुरुङ, विशेष थापा, सरन सिंखडा, नारायण पन्तलगायत थियौं । केही बेरमा प्रहरी आइपुगे । स्थानीय पनि धेरै नै जम्मा भएका थिए । घाइतेलाई भीरबाट निकालिसक्दै थियौं, हेलिकप्टर आयो । पहिलो खेपमा छ जना घाइतेलाई लिएर गयो, पछि फेरि अर्काे आएर बाँकी घाइतेलाई लग्यो ।

                मैले पढाएको एक जना भाइ पनि त्यहीँ परेको रहेछ । विष्णु स्मालीमगर हो । विष्णुको हजुरबुबा पनि बसमा थिए भन्ने थाहा भयो । हामी फेरि खोज्न थाल्यौं, विष्णुका हजुरबुबा पदमबहादुरको मृत्यु भइसकेको रहेछ । भीरमै अड्किराखेको अवस्थामा निकाल्यौं ।

                त्यो पहिरो पुरानै हो । बेलाबेला झरिरहन्छ । यसपालि पनि झरेकाले सडक पुरिएर अग्लो भएको थियो । चट्टानजस्तो ठाउँ भए पनि छेउपट्टि माटो मात्र रहेछ । गाडीको टायर त्यहीँ परेर पछि माटो भस्किएर गाडी खोलामा पुगेको रहेछ ।

यो बाटोमा जो पायो, त्यो ड्राइभरले बस ल्याउनै सक्दैन । यो ड्राइभरले त पहिलेदेखि नै यही गाडी चलाएको हो । आज के भएर दुर्घटना भयो, थाहा भएन । छतमा पनि मान्छे चढाएको रहेछ । यात्रु झारेर गएको भए दुर्घटना हुँदैनथ्यो कि ?

 युवराज पन्त, शिक्षक, निमार्चोक उच्च मावि. मार्पाक

(टेलिफोन कुराकानीमा आधारित)

 

प्रकाशित: १२ आश्विन २०७३ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App