८ वैशाख २०८१ शनिबार
विचार

कोमामा कृषि क्याम्पस

लगभग तीन महिनादेखि रामपुर क्याम्पसको अध्ययन–अध्यापन ठप्प छ। दैनिकजस्तो आन्दोलन, हड्ताल, आगजनी लगायतका समाचार प्रशस्तै पढ्न पाइन्छ। सवाल चाहिँ विश्वविद्यालयले केही नयाँ कलेजहरूलाई सम्बोधन दिएकोबारे हो। म आफू पनि त्यही क्याम्पस पढेर आएको हुनाले आन्दोलनको विषयमा केही  बोल्नैपर्ने भयो। आन्दोलन र यसको उपजमा जानु अगाडि एकछिन रामपुर क्याम्पसको चलनचल्ती र बजारबारे चर्चा गरौँ।

मैले त्यो क्याम्पस छोडेको लगभग तीन वर्ष पूरा भइसकेको छ। म त्यहाँ हुनुभन्दा पाँच वर्ष अगाडिदेखि हालसम्म त्यहाँको बजार कस्तो छ त ?

शिक्षक र कर्मचारीको नियुक्ति, बढुवा राजनैतिक भागबन्डाको आधारमा हुन्छ। त्यहाँको ल्याबमा सबै सामान खिया लागेका हुन्छन्। त्यहाँ पढाउने शिक्षकहरू सरकारले दिएकै तलब खाए तापनि सरकारी समय एनजीओ  अन्य निजी विद्यालय र क्याम्पसलाई पढाउन दिन्छन्। यदि त्यसरी अन्य निकायमा समय दिएर पैसा कमाउन पाएनन् भने त्यहाँका शिक्षकहरू विभिन्न बाहनामा आन्दोलन गर्छन् र प्रशासन ठप्प पार्छन्। यसरी आन्दोलन गर्नु प¥यो भने आफ्नो पक्षका विद्यार्थी भेला पारेर उचाल्ने, ताला लगाउन लगाउने परम्परा छँदै छ।

विभिन्न विभाग सम्हालेर बस्ने शिक्षकहरूको चलन चाहिँ यस्तो छ, कुखुराको चारो किनेको भनेर दाल किन्ने र घरमा लगेर पकाएर खाने। बालीविज्ञानतिर गोदाममा राखेको धान मुसाले खायो भनेर बेचेर खान्छन्। तरकारी विज्ञानतिर विभिन्न सामग्री किन्ने भने पनि पुरानै खिया लागेको सामग्रीले अझै काम चल्दै छ। हरेक विभागमा तलबभन्दा बढी भत्ता खाने रकम विनियोजन छँदै छ। बाहिर काम गर्न जाने चलन झन् बढेको छ।

विद्यार्थीलाई क्याम्पसभित्र नै भएको फोटोकपी सेन्टरबाट नोटकपीको  फोटोकपी गरेर लानू भनेर शिक्षक भन्छन्। कुनै अभ्यास नै नगरेका विद्यार्थीलाई आफ्नो पक्ष हेरेर २५ मा २५ दिने र अर्को पक्षको विद्यार्थीलाई फेल बनाउन पछि नपर्ने शिक्षकहरू त्यहीँ पढाउँछन्। त्यहाँका शिक्षक एक वर्षमा मुस्किलले २ महिना पनि विद्यार्थीलाई पढाउन कक्षा–कोठामा छिर्दैनन्।

अहिले शिक्षक भएकाहरू उनीहरू विद्यार्थी हँुदा त्यो बेलाका शिक्षकले प्रयोग गर्थे, आन्दोलन गर्न लगाउँथे, अहिले तिनै विद्यार्थीहरू शिक्षक भएका छन् अनि अहिलेका विद्यार्थीहरूलाई आन्दोलन गर्न लगाएका छन्। विद्यार्थीका आमा–बुबाले दुःख गरेर पठाएको पैसा कक्षामा नपढी, फिल्डमा काम नसिकी, ल्याबमा सामान नदेखी फोटोकपी किनेर उडाउनु परेको छ विद्यार्थीले।

रामपुरका शिक्षकका भाषामा, दुई बिघा जग्गा नभएको, कुनै भौतिक पूर्वाधार नभएको क्याम्पसलाई सम्बोधन दिइयो भन्ने छ। उपकुलपतिलगायत समूहले सम्बन्धन दिएर पैसा खान हुने कि नहुने ? इमानदार भएर पढाउने शिक्षक त्यहाँ एक–दुई जना मात्र होलान्।     नेपाल सरकारले एक निष्पक्ष छानबिन समिति बनाएर त्यस रामपुर विश्वविद्यालयको सम्पूर्ण प्रक्रिया सुधार गर्ने प्रस्ट खाका बनाउनु पर्छ।

कसैले राजीनामा वा कारबाही आदि भन्दा पनि छानबिन समितिले सुधार गर्ने स्पष्ट खाका ल्याए पुग्छ किनकि त्यहाँ इमानदार मानिस छैनन्। शिक्षा माफिया (शिक्षक) लाई छोडेर शैक्षिक माफिया (पदाधिकारी) लाई मात्र कारबाही गर्दैमा रामपुरको सुधार हुँदैन। नेपाल सरकारको प्रचलित नियमहरू कडा रूपमा कार्यान्वयन हुने व्यवस्था रामपुरमा मिलाउनुपर्ने हुन्छ।

प्रकाशित: २० मंसिर २०७५ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App