७ वैशाख २०८१ शुक्रबार
कला

चीनमै फ्लप ‘क्रेजी रिच एसियन्स’

बेइजिङ – पश्चिमा मुलुकको बक्स अफिसमा सर्वाधिक हिट भएको फिल्म ‘क्रेजी रिच एसियन्स’ चिनियाँ बक्स अफिसमा भने फ्लप भएको छ। चिनियाँ कलाकार अभिनित गत अगष्टमा चीनबाहेक विश्वभर रिलिज यो फिल्मले व्यावसायिकसँगै समिक्षात्मक रुपमा पनि सफलता पाएको थियो। एसियन मूलका कलाकार लिएर निर्माण गरिएको यो पहिलो प्रमुख हलिउड फिल्मले विश्वव्यापी रुपमा २ सय ३८ मिलियन अमेरिकी डलरको व्यापार गरेको थियो।

विश्वभरका दर्शकले रुचाएको जोन एम चु निर्देशित फिल्मलाई चिनियाँ दर्शकले भने रुचाएनन्। अमेरिकासहित विश्वभर चार महिना अघि रिलिज भएको यो फिल्मले चीनमा तीन दिनमा १ दशमलब १ मिलियन डलर मात्र व्यापार ग¥यो। विश्वकै धेरै जनसंख्या भएको मुलुक चीनमा चिनियाँ कलाकारले नै अभिनय गरेको फिल्म फ्लप हुनुले फिल्मकर्मीलाई चकित बनाएको छ।

विश्वव्यापी रिलिजको चार महिना पछि मात्र चिनियाँ थिएटरमा आएको यो फिल्म चीनमा फ्लप हुनुलाई ढिलो रिलिजको कारण मानिएको छ। चिनियाँ सरकारले वर्षेनी अधिकतम् ३४ वटा मात्र फिल्म आफ्नो मुलुकमा प्रदर्शन गर्न पाउने नियम बनाएको छ। यो नियमसँगै फिल्म सेन्सरमा पनि समय लाग्ने भएकाले ‘क्रेजी रिच एसियन’ नचलेको फिल्म विश्लेषकहरूको बुझाई छ। चिनियाँ कलाकारहरू स्वदेशी बजारमा भन्दा पश्चिमा मुलुकका लागि नयाँ लाग्ने भएकाले पनि चीनमा फिल्मले सफलता नपाएको विश्लेषण फिल्मकर्मीको छ।

चिनियाँ फिल्म उद्योगले स्टार कलाकारको पारिश्रमिक घटाइरहँदा र कतिपय कलाकारहरूले कर छलेको प्रमाण भेटिएपछि महंगो बजेटमा बनाइएको ‘क्रेजी रिच एसियन’ प्रति दर्शकको विश्वास घटेको चर्चा पनि चीनमा छ।

यो फिल्मसँगै रिलिज भएको हलिउड फिल्म ‘एकुवामेन’ले भने सोचे भन्दा राम्रो व्यापार गरिरहेको छ। २५ वर्ष अघि पनि एसियन कलाकार लिएर फिल्म ‘दी जोए लक क्लब’ निर्माण गरिएको थियो।

लेखक केभिन क्वेनको पुस्तकमा आधारित फिल्मले एसियन–अमेरिकन मूलकी महिलाको कथा प्रस्तुत गरेको छ। रोमान्टिक कमेडी जनराको फिल्म ‘क्रेजी रिच एसियन्स’ पछिल्लो दशकको ‘टप–ग्रसिङ’ फिल्ममा पनि परेको छ भने हलिउडको सर्वकालिन् सर्वाधिक कलेक्सनको सूचीमा छैटौं स्थानमा परिसकेको छ। चिनियाँ बजारसँगै पूर्वी एसिया र अष्ट्रेलियाका थिएटरमा पनि रिलिज भएको यो फिल्मले खराब समिक्षा पाएको छ। ‘चिनियाँ समुदायलाई अपमान गरेको यो फिल्म बकवासको गुच्छा हो,’ एक दर्शकले सामाजिक सञ्जालमा लेखेका छन्।

चीनमा चिनियाँ भाषाबाट निर्माण गरिएका रोमान्टिक कमेडी फिल्मलाई मात्र दर्शकले रुचाउने गरेको पाइएको छ। तर चीनमा हलिउडका रोमान्टिक कमेडीको अवस्था भने ठीक उल्टो छ। सन् २०१६ मा रिलिज भएको हलिउड रोमान्टिक कमेडी फिल्म ‘ब्रिडजेट जोन्स बेबी’को अवस्था ‘क्रेजी रिच एसियन्स’कै जस्तो भयो। यो फिल्म रिलिजको पहिलो हप्तामा नै असफल भएपछि हलबाटै उत्रिएको थियो।

प्रकाशित: २० मंसिर २०७५ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App