६ वैशाख २०८१ बिहीबार
कला

‘छक्का पन्जा ३’को सम्मान

काठमाडौं – नेपाली फिल्मले प्रदर्शनको ५१ औं दिन मनाउने माहौल पछिल्लो समयमा बिरलै देख्न पाइन्छ। यही बिरलतालाई अन्त्य गर्दै गत असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ३’ ले मंगलबार प्रदर्शनको ५१ औं दिनको उत्सव मनाएको छ। गत बिहीबार प्रदर्शनको ५१ औं दिन पुगेको फिल्मले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मसँग आबद्ध कलाकार तथा प्राविधिक, प्रदर्शकसहित पत्रकार तथा सञ्चारकर्मीलाई सम्मान गरेको थियो।

कार्यक्रममा फिल्मका कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले फिल्मले मात्र नभई नेपाली फिल्म क्षेत्रले ५१ औं दिन मनाएको बताए। ‘हलिउड र बलिउडजस्ता ठूला बजारका फिल्मसँग प्रतिस्पर्धा गरेर पनि सफलता पाउनु नेपाली फिल्मका लागि ठूलो उपलब्धि हो,’उनले भने,‘ हामीले करोडमा बनाएको फिल्मले बलिउडका अर्बौ लगानीमा बनेका फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेको छ। तर, नेपालमा सर्वाधिक धेरै कमाई गर्ने फिल्मको सूचीमा कुनै बलिउड फिल्म छैन। हाम्रै फिल्म छ।’ फिल्मकी निर्देशक दीपाश्री निरौलाले टिमको मेहनतले फिल्म हिट भएको भन्दै आफूले मात्र जस नलिने बताईन्।

फिल्मले उपत्यकामा मल्टिप्लेक्सअन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफक्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबुसहित  सिंगल थिएटरअन्तर्गत अष्टनारायण बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गंगा सिनेमा बालाजु, गोपीकृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औं दिन पार गरेको छ। यसैगरि मोफसलका कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्ध्वासिनी सिनेमा पोखरामा ५१ औं दिन पार गरेको छ।

फिल्ममा दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बाङ्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय छ। जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’ र ताराचन्द्र बजगाई ‘निशान’ निर्माता छन्।

प्रकाशित: २० मंसिर २०७५ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App