७ वैशाख २०८१ शुक्रबार
कला

नारायणगोपाल निवासमा नोस्टाल्जिक नीर

नारायणगोपाल स्मृति दिवसमा सम्मान लिँदै अभिनेता तथा गीतकार नीर शाह र नारायणगोपाललाई श्रद्धाञ्जली दिँदै सहभागी। तस्बिर चाँदनी/नागरिक

काठमाडौं - स्वरसम्राट नारायणगोपालको २८ औं स्मृति दिवस मनाउन बुधबार अभिनेता तथा गीतकार नीर शाह महाराजगञ्जस्थित नारायणगोपाल निवास पुगे। नारायणगोपालको घर पुग्नु अघि नै लरबराएका उनका पाइलालाई घरको कम्पाउण्डमा प्रवेश गराउन गाह्राे प-यो। गायकको स्मृतिमा हुने कार्यक्रम ढिलो हुने बुझेपछि ‘म एकछिन डुलेर आउँछु है’ भन्दै बाहिर निस्किए।

केही बेरपछि कार्यक्रम सुरु हुन थाल्दा उनी फेरि देखिए। नारायणगोपाल संगीत कोषले उनको स्मृतिमा नारायण प्रदान गर्न लागेको ‘नारायणगोपाल स्मृति सम्मान’ पाउनेमा शाह पनि एक थिए। कार्यक्रमको सुरुवात लगत्तै सम्मान कार्यक्रम सकियो। शाहसँगै संगीतकर्मी कर्म योञ्जन, गीतकारहरू डा.दीर्घ सिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी पनि सम्मानित भए। सम्मान पछि मन्तव्यको पालो आउँदा उनी मन नगर्दानगर्दै पनि मञ्चमा पुगे । ‘यो घर, यहाँको रुख अनि हरेक कुना संगीतप्रतिको प्रतिकका रुपमा उभिएका छन्,’ शाहले मन गहुँगो पार्दै भने, ‘ यहाँ आउँदा नोस्टाल्जिक हुन्छु। एक मिनेटपनि चैन हुन्न। त्यसकारण अक्सर आउन रुचाउँदिन।’
नारायणगोपालले भौतिक शरीर छोडेको २८ वर्ष पुग्दा नीरले स्वरसम्राटसँगको सहकार्यको पुराना दिन भुल्न सकेका छैनन्। उनले गायकको घर नबन्दै एकदिन नारायणगोपालले मोटरसाइकलमा राखेर त्यहाँ पु-याएको सम्झिए। ‘अहिले जहाँ उनको अहिले शालिक छ नि त्यहीनेर मोटरसाइकल राखे। अनि हिडेर यहाँ आयौं,’ शाहले सुनाए, ‘यहाँ सानो जमिन किन्ने विचार गरेको छु। लौ अब विश्लेषण गर भने।’

जमिन किनेर घर बनेपछि पनि नारायणगोपालको दौंतरीका रुपमा उनी त्यो घरमा बारम्बार पुगे। ‘उ त्यही झ्याल हो जहाँ नारायणगोपालले टाउको निकालेर ‘ए माछा पाक्यो आउ आउ’ भन्दै बोलाउँथे,’ यसो भनिरहँदा नीरका आँखा रसाए। उनको आँखामा नारायणगोपालको प्रेम छचल्किँदै थियो। उनको भावुकताले उपस्थितका आँखा र भावमा पनि स्तब्धता छायो। सबै एकोहोरिए।

भित्रका हरेक कोठामा कहिले खानपान र रमाइलो त कहिले संगीतको सिंगौरी खेलेको आत्मियता अझै ताजा गरि नीरको हृदयमा टाँसिएका थिए। नीरले नारायणगोपालसँगै उनकी पत्नी पेमला गुरुवाचार्यको प्रेमिल क्षणलाई पनि सम्झिए। उनले आफ्ना घरको हरेक कोठामा नारायणगोपाललाई राख्ने चाहना यसपटकको सम्मानले पुरा गरेको खुलाए। शाहका अनुसार उसबेलाको त्यो माहोलमा गाउनमात्र नभई संगीतको गहन अध्ययनमा पनि नारायणगोपाल अब्बल थिए। ‘आफुले पाएको ज्ञान नयाँ पुस्तालाई बाँड्ने उहाँको धोको अधुरै रह्यो। अहिले बजारमा छ्याप्छ्याप्ती गीत संगीतको बाढी आएपनि संगीतको अध्ययन र अनुसन्धानमा नयाँ पुस्ता कमजोर नै छ,’नीर गुनासिए।

संगीतकार कर्मले पनि नारायणगोपालसँग पारिवारिक साइनोमा बिताएका क्षण सम्झिए। गोपाल योञ्जनको मीत भएकाले कर्मलाई नारायणगोपाल ‘दाजु’ भन्थे। गोपालसँग नारायणले गीत संगीतका गहन गफ गरिरहँदा कर्मसँग भने उनी रमाइलो गर्थे। ‘जिस्कने, घुम्न जाने, मन लागेका कुरा सँगै ल्याउने अनि अन्तरंग साट्ने काम मसँग गर्नुहुन्थ्यो। एकदिन ‘सुके पोखरी जाउन है दाजु’ भनेपछि मैले ‘किन जाने’ भनेर प्रतिप्रश्न गरें। उनले ‘मेरो पेमलासँग बिहे छ। दाजु अभिभावक बनेर जानुपर्छ है’ भने,’कर्म फ्ल्यासब्याकमा फर्किए,‘पेमलाको घरमा बिहेको व्यस्तत भइरहँदा मलाई नारायणगोपालले पिता र दाजुको दर्जा दिए। पेमलासँग निकटता बढाउन मैले पनि सघाएको थिएँ।’

उसबेला सुकेपोखरीको आसपास नारायणगोपाल र पेमलाको डेटिङ चल्थ्यो। त्यहाँ पु-याएर दुईलाई भेट गराउने काममा योञ्जन सधैं साथै रहन्थे। दुईको प्रेमालाप चलिरहँदा योञ्जन भने घुमघाममै व्यस्त हुन्थे। संगीतकार योञ्जन अझै पनि विश्वभर बस्ने नेपालीमाझ नारायणगोपालको स्वरको जादु उस्तै रहेको बताउँछन्। उनको जस्तो स्वर भारतीय गायन क्षेत्रमा समेत नरहेको दाबी योञ्जनको छ।

गीतकार डा. बमले स्वरसम्राटलाई जीवनलाई संगीतमय राख्न सक्ने खुबी भएका गायकको उपमा दिए। ‘जुनसुकै उमेरका मानिससँग घुलमिल हुनु, गीतसंगीतमा नचाउनु अनि गीतलाई गहिराइमा पु¥याएर गाउनु उनको सांगीतिक सशक्तता र सफलता थियो,’बमले भने।

कोषकी अध्यक्ष उषा शेरचनले नारायणगोपालको अन्तिम इच्छाको रुपमा रहेको ‘गीतगंगा संगीत संग्रहालय’को निर्माण कार्य छिट्टै सुरु हुने बताइन्। ‘नारायणगोपालको गायकीको ओज जति बढी छ। त्यो भन्दा बढी ओज उनले छानेका गीतको छ,’उनले भनिन्, ‘त्यही ओजको सम्मान गर्न कोषले पर्दा पछाडिका गीतकारको सम्मानलाई निरन्तरता दिएको हो।’

कोषका महासचिव दिपक केसीले कोषमार्फत नारायणगोपाललाई राष्ट्रिय विभूतीका रुपमा चिनाउने अभियान थालेको जनाए। कार्यक्रममा नारायणगोपाललाई राष्ट्रिय विभूतीका रुपमा घोषणा गर्न उपस्थित संगीतकर्मीले समेत माग गरे। नारायणगोपालसँग बिताएका क्षण सम्झने सहकर्मी र उनको पथ पछ्याउने सबैले बुधबार दिनभर उनकै घरमा बिताए। नयाँपुस्ताले उनले गाएका गीत गाउँदै र सुनाउदै उनको सिको गर्ने प्रयत्न गरे।

प्रकाशित: २० मंसिर २०७५ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App