दार्चुला - दार्चुलाको उत्तरी भेगमा रहेको व्यास गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा राज्यको पहुँच नहुँदा असुरक्षा बढ्दै गएको छ। व्यास क्षेत्रका स्थानीय सौका समुदाय र प्रहरी बेंसी झरेसँगै त्यो क्षेत्र राज्यविहीन बनेपछि असुरक्षा बढेको हो। राष्ट्रिय रूपमै सीमा समस्याको विकराल रूपमा चिनिएको दार्चुलाको कालापानी र लिपुलेकमा सीमा अतिक्रमण मात्र भएको छैन, यस क्षेत्रमा सधैं भारतीय पक्षको दबदबासमेत रहँदै आएको छ। व्यास गाउँपालिका–१ साबिकको व्यास गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय बिन्दु भए पनि राज्य संयन्त्रको पहुँचबाहिर रहेको छ। नेपाली भूभागमा भारतीय पक्षले आफूअनुकूलका गतिविधि सञ्चालन गरिरहेको सूचना पाए पनि त्यहाँसम्म राज्यको पहँुच भने हुँदैन।
सुरक्षाकर्मीको दुव्र्यवहार, तुइन काटिने, सुरक्षा जाँचको नाममा खानतलासी, मालसामानमा रोकटोक तथा यात्रा अनुमतिपत्रको भन्झट भोग्दै आएको यस क्षेत्रमा पछिल्लो समय भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको तथा राज्यको उपस्थिति नै नभएको फाइदा उठाउँदै आएको छ। गत वर्ष व्यास गाउँपालिका–२ ताम्पाकु, घाटबगर, दोपखे नज्यङ क्षेत्रमा नेपाली भूमि प्रयोग तथा प्राकृतिक साधनसमेतको दोहन गर्ने गरेको तथ्य खुलेको थियो। नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीसमेत सञ्चालन गर्ने भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन, सीमापारि निर्माण हुने सडकमा प्रयोग गरिएका विस्फोटकले नेपालतर्फ गम्भीर क्षति र वन पैदावार तथा वन्यजन्तुहरूको समेत चोरीसिकार हुँदै आएका छन्। गत वर्ष भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको र डोजर प्रयोग भएको घटना प्रकाशमा आएसँगै यससँग जोडिएका अन्य तथ्यहरूसमेत प्रकाशमा आएका छन्। सीमामा भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीतका गतिविधिहरू गरिरहनुमा त्यस क्षेत्रमा राज्यको उपस्थिति नै नहुनु प्रमुख कारण रहेको व्यास–१ तिंकरका दानसिंह तिंकरीले बताए।
‘सीमामा भारतीय पक्षको दोहन रोक्न न त यस क्षेत्रमा हाम्रो बसोबास छ, न त सुरक्षा निकायको उपस्थिति, यसैको फाइदा भारतीय पक्षले लिइरहेको छ,’ तिंकरीले भने, ‘त्यस क्षेत्रमा रहने नागरिकसमेत भारतीय पक्षको दबाबमा रहनुपर्ने बाध्यता रहेकाले नेपालको सीमामा सुरक्षा तथा नागरिकको पक्षमा राज्य चाहिएको छ।’ तिंकरीका अनुसार हाल महाकाली नदीकिनारको उत्तरतिर दुम्लिङमा मात्रै नेपाल प्रहरीको उपस्थिति छ, जहाँबाट तिंकर पुग्न दुई दिन लाग्छ। ‘व्यास गाउँपालिका केन्द्र नै ६० किलोमिटर टाढा सुन्सेरामा र वडा कार्यालय जिल्ला सदरमुकाम खलंगामा रहेको छ,’ उनले भने।
भारतबाट अतिक्रमित र त्रिदेशीय सीमाक्षेत्रको सुरक्षा व्यवस्थापनमा हालसम्म केन्द्र सरकारले उपेक्षामा पर्दै आएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए। ‘त्यस क्षेत्रका नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति त परै जाओस्, स्वदेशमै पैदलमार्गसमेत नहुँदा भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय सरकारले पैदलमार्ग निर्माणमा जोड दिएर निर्माण कार्य गरिरहेको छ,’ उनले भने, ‘स्थानीय सरकारले जनताको आवश्यकतामा आधारित पूर्वाधार निर्माणको प्रयास भइरहे भए पनि सुरक्षाको पहुँचका लागी संघीय सरकारको चासो देखिएन।’
सुरक्षा पोस्ट माग हुन्छ, सुनवाइ हुँदैन
पाँच वर्षअघि दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएको थियो। पाँच वर्षको अवधिमा दार्चुलामा सशस्त्र प्रहरीका आधा दर्जन उच्च अधिकारीले निरीक्षण भ्रमण गरेको र दार्चुला भ्रमण गर्ने सबै उच्च अधिकारीहरूले व्यास क्षेत्रमा सुरक्षा पोस्ट राख्ने विषयलाई प्राथमिकता दिएका थिए। उच्च अधिकारीहरूको भ्रमणमा गरिने जिल्लाको सुरक्षा ब्रिफिङमा पनि व्यास क्षेत्रमा सुरक्षा उपस्थिति पहिलो प्राथमिकतामा पर्ने गरेको स्रोतको भनाइ छ। गत असोज गते सशस्त्र प्रहरीका एआइजी नारायणबन्धु थापाले दार्चुला भ्रमणमा प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सुरक्षा अधिकारीहरूले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेका थिए।
उच्च सुरक्षा अधिकारीको प्राथमिकताले मात्रै काम गर्न नसक्ने अवस्था रहेको धेरैको बुझाइ छ। डेढ दशकदेखि दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरूले पनि गृह मन्त्रालय र गृहमन्त्रीहरूलाई व्यास क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्न माग गर्दै आएका थिए। तर यो विषय हालसम्म सम्बोधन हुन सकेको छैन। प्रशासनिक नेतृत्व र सुरक्षा अधिकारीका साथै दार्चुलाको राजनीतिक नेतृत्वले पनि व्यासमा सुरक्षा उपस्थिति मजबुत बनाउन पहल गरेको देखिन्छ। तर सरकारको नेतृत्व गर्ने मन्त्रीहरूको प्राथमिकता र इच्छाशक्ति नभएकाले यो विषय सम्बोधन हुन नसकेको स्थानीयको बुझाइ छ। छिमेकी भारतको सम्भावित नकारात्मक प्रतिक्रियाको डर र त्रासले सरकारको नेतृत्वले व्यासक्षेत्रमा आँखा चिम्लिएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामीको भनाइ छ।
दुई स्थानमा सशस्त्र पोस्ट सिफारिस
व्यास–१ को छाङरु र २ को दुम्लिङमा पोस्टको स्थापनाका लागि जिल्ला सुरक्षा समितिबाट समेत निर्णय भई केन्द्रमा पठाइएको छ। दार्चुलाका आधा दर्जन सीमावर्ती स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) राख्ने प्रस्ताव तयार भएको छ। दार्चुलाको सदरमुकाममा सशस्त्र प्रहरीको गुल्म स्थापना भएपछि सीमावर्ती क्षेत्र व्यासको तिंकर र छाङरु, राप्लाको दुम्लिङ, व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा, महाकाली नगरपालिका–९ दत्तु र लेकम गाँउपालिकाको लालीमा बिओपी राख्न अध्ययन गरी प्रस्ताव गरिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताए। सुरक्षा पहुँच हुँदा छिमेकी राष्ट्रहरू भारत र चीन सीमामा समन्वय , नेपाली भूमिमा राज्यको पहुँच, सीमा सुरक्षा, तस्करी नियन्त्रण, राजस्व वृद्धिका सीमा–नाकाहरूमा नेपाली नागरिकलाई पनि सहज हुने सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २० मंसिर २०७५ ०१:५८ बिहीबार