७ वैशाख २०८१ शुक्रबार
समाज

लुटिएकाे एटिएम कार्डले पुर्‍यायो हिरासत (भिडियो)

काठमाडौं - तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन्। कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन्। एकछिनको प्रयासमा पैसा ननिस्केपछि उनी त्यहाँबाट निस्कन्छन्। केही बेरपछि पुनः सोही बुथमा प्रवेश गर्छन् र कागज हेर्दै पासवर्ड थिच्छन्। अधिकतम अंक थिचेर बढी पैसा निकाल्न खोज्दा रकम नपुगेको सन्देश आउँछ। तर ती युवक रकम निकाल्ने प्रयास रोक्न चाहँदैनन्। उनी रकम घटाउँदैघटाउँदै निरन्तर अंक थिचिरहन्छन्। धेरैबेरको प्रयासपछि अन्ततः पैसा निकाल्न सफल हुन्छन्। सिसिटिभी फुटेजमा हेर्दा तीन हजार रुपैयाँ मात्रै निस्केको देखिन्छ। उक्त पैसा गोजीमा राखेर युवक एटिएम बुथबाट बाहिरिन्छन्।

ती युवकले प्रयोग गरेको एटिएम कार्ड उनको होइन। त्यो कार्ड लुटिएकी एक महिलाको हो। तिनको हाते ब्याग एटिएमसम्म पुगेर पैसा निकाल्ने युवकसमेत सम्मिलित ६ जनाको समूहले मंसिर १२ गते एक सार्वजनिक यातायातमा लुटेको हो। लुटेको हाते पर्सभित्र एटिएम कार्ड र त्यसको पासवर्ड लेखिएको कागजसमेत भेटिएपछि सो समूहका एक सदस्य सानुकाजी तामाङ पैसा झिक्न एटिएम बुथमा पुगेका थिए। एटिएम र पासवर्डकै कारण लुटेरा समूह प्रहरीको नियन्त्रणमा पुगेको हो। सुरुमा सिसिटिभी फुटेजको सहयोगमा एटिएम बुथसम्म पुग्ने सानुकाजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

महानगरी प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार उक्त लुटेरा समूहले सार्वजनिक यातायातमा लुटपाटको धन्दा गर्दै आएको थियो। पाँच÷छजनाको समूह बनाई बसमा चढ्ने र यात्रुलाई लुट्ने क्रम बढ्दै आएको थियो। उनीहरू विगतमा पनि लुटपाटका घटनामा संलग्न रहेको पाइएको डिएसपी मिश्रको भनाइ छ। पक्राउ परेका सानुकाजी तामाङ, अम्बर तामाङ, अञ्जन तामाङ र विवेक लामालाई डाँकाचोरीको अभियोगमा मुद्दा दायर गरिएको छ। अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेका चारजना २२ देखि २७ वर्ष उमेरसमूहका छन्। प्रहरीका अनुसार उनीहरू ललिपुरको गोदावरी क्षेत्रमा बस्दै आएका छन्। अभियुक्तहरू योजनाबद्ध तरिकाले लुटपाटका घटनामा संलग्न रहेको पत्ता लागेको डिएसपी मिश्रले जानकारी दिए।

यसरी लुटे
मंसिर १२ गते साँझ साढे ६ बजे ताल्छिखेलबाट ६ युवक चक्रपथमा घुम्ती सेवा दिने महानगर यातायातको बसमा चढे। उनीहरू बसमा रहेका कुनै न कुनै यात्रुलाई तारो बनाउने मौका हेरिरहेका थिए। सुनको ब्रासलेट लगाएकी र आकर्षक झोला बोकेकी एक महिलामाथि उनीहरूको नजर प¥यो। उनीहरू ती महिलातर्फ अगाडि बढे। सानेपास्थित अस्पतालकी नर्स रहेकी उनलाई घेरामा पारियो।

कुसुन्तीमा पुग्दा ती महिलाले भाडा तिर्न भन्दै पर्सबाट रकम निकाल्न खोज्दै थिइन्, युवकहरूले लुटपाट थाले। हारगुहार गर्न थालेपछि उनलाई मार्ने धम्की दिइयो। हेर्दाहेर्दै हातमा लगाइएको सुनको ब्रासलेटसम्गै पर्स लुटियो। बसका अरू यात्रु नभएका होइनन् तर कसैले प्रतिकार गर्ने साहस देखाएनन्। डरलाग्दा ती युवकहरूको त्यस्तो गतिविधिका कारण यात्रुहरू त्रस्त थिए। डकैती गर्ने समूहले महिलाको साथमा रहेको गहना, नगद त लग्योलग्योे, पर्समा रहेको व्यक्तिगत परिचय खुलाउने सामग्रीसमेत बाँकी राखेन।

उजुरीको कारण बैंक
लुटिएकी महिलाले सुरुमा प्रहरीमा उजुरी दिइनन्। लुटिएकै साँझ जब मोबाइलमा आफ्नो एटिएम कार्डबाट रकम निकालिएको सन्देश आयो तब उनी उजुरी दिने सोचमा पुगिन्। भोलिपल्ट सिटिजन्स बैंकमा सम्पर्क गरी एटिएमबाट लुटेराले रकम झिकेको जानकारी गराइन्। बैंकका कर्मचारीले प्रहरीमा उजुरी गर्ने सल्लाह दिएपछि उनी सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्त पुगिन्। प्रहरीले बैंकसँग सम्पर्क गरी रकम झिकिएको कुमारीपाटीस्थित एटिएम पत्ता लगाएर सिसिटिभी फुटेज झिक्यो। फुटेजकै माध्यमले हुलिया पत्ता लगाई प्रहरीले रकम झिक्ने युवकलाई पक्राउ ग-यो। पक्राउ परेका उनकै बयानका आधारमा अन्य लुटेरा समूहका सदस्यसमेतलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

राजधानीका सार्वजनिक यातायातमा लुटपाट र पाकेटमारका घटना चुलिए पनि उजुरी गर्ने अवस्था भने अत्यन्त कम रहेको बताइएको छ। घटनाको संख्या धेरै भए पनि पीडितले उजुरी गर्न डराउने वा झन्झट मान्ने हुँदा लुटेरा समूह उत्साही भएको देखिन्छ। नागरिक दैनिकले निरन्तर सार्वजनिक यातायातमा लुटपाट र पाकेटमारका घटनाबारे समाचार प्रकाशन गर्दै आएपछि सर्वसाधारणले उजुरी दिन थालेका छन्। उजुरी पर्न थालेसँगै प्रहरीले पनि लुटपाट गर्ने समूहलाई धमाधम नियन्त्रणमा लिन थालेको हो। नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी जनताको जिउधनको सुरक्षाका लागि प्रहरीले कुनै कसर बाँकी नराखेको बताउँछन्। ‘नेपाल प्रहरी सार्वजनिक स्थान र सेवाका क्षेत्रहरूमा शान्तिसुरक्षा कायम राख्न सक्रिय छ,’ उनी भन्छन्।

प्रकाशित: २० मंसिर २०७५ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App