१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तमलोपा अध्यक्ष ठाकुरको घरमा डकैती गर्ने उनकै पूर्व चालक

काठमाडौं– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा लुटपाटगर्ने ब्यक्ती उनकै पूर्व गाडी चालक र नियमित आउजाउगर्ने कार्यकर्ता भएको खुलेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैतीको आरोपमा पक्राउ गरेका रन्जितप्रसाद गुप्ता ठाकुरको गाडी चालक र अर्का प्रमानन्द भन्ने प्रचण्डप्रताप सिहं नियमित सम्पर्कमा रहेका ब्यक्ती भएको खुलेको हो।

अध्यक्ष ठाकुरको भक्तपुर सानोठिमीस्थित घरमा भदौ २४ गते एकजना हतियार सहितको नकावधारी ब्यक्तीले डकैती गरेको थियो। डकैती गर्ने क्रममा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर(झा)लाई पूर्व चालक गुप्ताले घाईते समेत बनाएका थिए। गुप्ताले  घटनाका दिन साँझ पानी परिरहेको अवस्थामा अचानक झाको आँखामा खुर्सानीको धुलो छरेर ठाकुरको कोठाबाट एउटा ब्रिफकेश चोरी गरेका थिए।

महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले तीनपटकको प्रयासमा गुप्ता डकैतीमा सफल भएको बताए । उनका अनुसार भदौ २२ र २३ गते डकैतीको प्रयास गरेका गुप्ताले २४ गतेमात्र मौका पाएका थिए। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार २०७२ असोजदेखि फागुनसम्म अध्यक्ष ठाकुरका सवारीचालक रहेका गुप्ताले ब्रिफकेशमा धेरै रकम हुने अनुमानमा चोरी गरेका हुन । पक्राउ परेका सिंह जागिरको सिफारीस र पार्टी कार्यकर्ताका हैसियतले अध्यक्ष ठाकुरको घर आउजाउ गर्दै आएका थिए।

‘घरमै बसेको एकजना र नियमित आईरहने अर्कोले चोरी गरेको देखियो, घटनास्थलका बिषयमा पूर्व जानकारी भएकाले छोटोसमयमा डकैती सम्भव भएको रहेछ,’ एसपी कार्कीले भने। उनका अनुसार डकैती पछि गुप्ता र सिंह केही दिन सर्लाही र महोत्तरी बसेर केही दिन अघिमात्र काठमाडौं आएका थिए।

प्रहरीका अनुसार डकैती भएको अध्यक्ष ठाकुरको ब्रिफकेशमा करिब पचास हजार रकम र अन्य कागजपत्र रहेको परिवारले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित: ११ आश्विन २०७३ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App