coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

श्रृङ्खलालाई हौसला दिन परिवार चीन जाँदै

मकवानपुर– मिस वर्ल्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन एक टोली चीन जाँदै छ। श्रृङ्खलाका बाबु विरोध खतिवडाको नेतृत्वमा आमा मुनु सिग्देलसहित परिवार, आफन्त लगायत चीन जाँदैछन्।

‘हामी बिहीबार चीन जाँदैछौ परिवारसहित’, विरोधले काठमाडौंबाट टेलिफोनमा भने, ‘श्रृङ्खलाका मामा–माइजु, दाजुभाई, साथी लगायत ३०/३१ जना जाँदैछौं।’ उनका अनुसार श्रृङ्खलालाई मिस वर्ल्ड आयोजित चीनको पर्यटकीय सहर सान्यामै भेट्ने तयारी छ। ‘अभिभावकलाई भेट्न देला नि, समस्या नहोला, त्यही भेट्छौ’, उनले थपे, ‘बरु हामी बसेको ठाउँमा आउन चाँही आयोजकले देला–नदेला।’ मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएपनि आगामी बिहीबार नेपाल फर्किने बताउँदै खतिवडाले भने, ‘छेन्दुमा ८ घण्टा ट्रान्जिट रहेकाले शुक्रबार बिहान ७÷८ बजे मात्र सान्या पुग्छौं होला।’

छोरी श्रृङ्खलालाई चीनमै भेटेर बल दिन आमा मुनु सिग्देल बुधबारै हेटौंडाबाट काठमाडौं घर पुगेकी छिन्। ‘मिस वर्ल्ड हेर्न टिकट बुकिङ्ग भइसक्यो हाम्रो’, उनले उत्साहित हुँदै नागरिकसँग टेलिफोनमा भनिन्। मिस वर्ल्डको अन्तिम तयारीका लागि श्रृङ्खला रिहल्सनमा व्यस्त रहेको भन्दै उनले मंगलबारदेखि क्लोज क्याम्पमा रहेको बताइन्। ‘बुधबार बिहान हिड्ने बेलामा फोन गरेकी थिई, हतार–हतार त्यही पनि’, उनले भनिन्, ‘अब फाइनल स्टेजको तयारीमा छिन्।’ फेसबुकमा मिस वर्ल्ड नेपाल फेसबुक पेजका पोष्ट र श्रृङ्खलालाई भोटका लागि आग्रह गरिएका पोष्टलाई शेयर र फरवार्डसँगै अन्तरवार्ता दिन उनी व्यस्त थिइन्। ‘विभिन्न मिडियामा एक दर्जन बढी अन्तर्वार्ता दिइयो होला’, उनले भनिन्, ‘यसपटकको मिस वर्ल्ड नेपालले जित्नेमा ढुक्क छौं।’

श्रृङ्खलाले ‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ पर्पस’ अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन्। मल्टिमिडिया अवार्ड जित्ने पहिलो र ब्युटी विद अ पर्पस जित्ने दोस्रो मिस नेपाल हुन, उनी सफल भएकी छिन्। श्रृङ्खलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देश–विदेशमा रहेका नेपालीमा उल्लास छाएको छ।

‘नेपालीले जसरी हेरेका छन्, मैले त्यसरी नै हेरेको छुँ’, खुशी साट्दै श्रृङ्खलाका बाबु खतिवडाले भने, ‘श्रृङ्खलाले जित्न चाहेकै मिस वर्ल्ड पछिको दोस्रो ठूलो मानिने ब्युटी विद अ पर्पस अवार्ड जितिन्, मल्टिमिडिया त पछि महसुस गरेर जितेकी हुन्।’ ‘सबै नेपालीले चाहेकै नतिजा (मिस वर्ल्डको विजेता) हामीले पनि चाहेको छौं’, उनले घुमाउरो शैलीमा बताए। मिस वल्र्डमा दुई अवार्ड जितेपछि श्रृङ्खलामा धेरै उत्साही, आत्मविश्वास बलियो भएको उनले बताए।

विश्वका १ सय २१ देशकी सुन्दरीबीच जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल शनिबार (डिसेम्बर ८) मा हुँदैछ। विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित मिस वर्ल्डको ‘प्रतिस्पर्धी’को रूपमा चर्चा गरिरहेका छन्। युट्युब च्यानल, भोटिङ साइट तथा अनलाइन पोर्टलले अवार्ड जित्नु अगाडि नै श्रृङ्खलालाई मिस वर्ल्ड जित्न सक्ने प्रतियोगीको रूपमा टप १५ भित्र समावेश गरेका थिए। नेपालबाट मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले मात्र सेमीफाइनलको यात्रा तय गरेकी थिइन्। ईशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाइनलको यात्रा गर्न सफल भएपनि उत्कृष्ट १० सम्म पुगेर असफल भएकी थिइन।

प्रकाशित: १९ मंसिर २०७५ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App