coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

काठमाडौं – माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट बिजुली लैजान बंगलादेशलाई मार्ग प्रशस्त भएको छ।

सो आयोजनाको प्रवद्र्धन भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले गरिरहेको छ। मंगलबार यहाँ सम्पन्न नेपाल र बंगलादेशका ऊर्जा संयन्त्रको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली निर्यातसम्बन्धी सम्झौता अनुमोदन गरेको छ।

गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गरेको बंगलादेश भ्रमणका क्रममा सो आयोजनाबाट बिजुली किन्न बंगलादेश सरकार तयार रहेको जनाएको थियो। बंगलादेशले भारतीय कम्पनी एनभिभिएनबाट ५०० मेगावाट बिजुली लैजाने छ। तर प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न पाएको म्याद गत असोज २ गते नै सकिएको छ। म्याद थपका लागि जिएमआरले लगानी बोर्डमा आवेदन दिएको छ।

नेपाल र बंगलादेश संयुक्त रुपमा विद्युत् व्यापारको सम्भावना खोज्न सहमत भएका छन्। यस्तै नेपालमा जलविद्युत् आयोजनाको विकासमा लगानीको सम्भावना, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावना र दुई देशबीच नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग गर्नेसम्बन्धी निर्णयसमेत बैठकले अनुमोदन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

यस्तै द्विपक्षीय बैठकमा विद्युत् व्यापारको सम्भावना खोज्न दुवै देशले आफ्नो दीर्घकालीन योजनाको समीक्षा गर्ने र नेपालमा लगानीयोग्य सम्भावित आयोजनाको पहिचान गर्न एक प्राविधिक टोली गठन गर्ने निर्णयसमेत गरेको छ।
सो प्राविधिक टोलीमा रहने सदस्यको नामावली एक महिनाभित्र दुवै देशले एकअर्कालाई उपलब्ध गराउने छन्। सो टोलीले आयोजनाको पहिचान तथा उत्पादन गर्ने विषयमा आवश्यक परामर्श र निर्णय गर्नेछ।

यसैगरी, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावना अध्ययन गर्न दुवै देशले तीन–तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गर्नेछन्। उक्त प्राविधिक टोलीले प्रसारण लाइनको समग्र अवस्थाका बारेमा अध्ययन गर्नेछ। आगामी एक महिनाभित्र सो टोलीमा रहने सदस्यको नामसमेत एकअर्का मुलुकले उपलब्ध गराउने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिए।

संयुक्त समितिको आगामी बैठकमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न आआफ्नोतर्फबाट प्राथमिकताका साथ सो विषयको उठान गर्ने सहमतिसमेत भएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशको तर्फबाट विद्युत् ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव डा अमहद काइकाउसले नेतृत्व गरेका थिए। सोमबार सुरु बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका विविध आयाममा छलफल भएको थियो।

सोमबारको बैठकमा संयुक्त कार्य समूहले आवश्यक प्रस्तावको तयारी गरेको थियो। गत साउन २५ गते दुई देशबीचमा ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही समक्षदारीपत्रको दफा ४ बमोजिम सम्झौता कार्यान्वयनमा सहजीकरण गर्न बैठक आयोजना गरिएको हो।

बंगलादेशले सन् २०४१ सम्म नेपालबाट करिब नौ हजार मेगावाट बिजुली आयात गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ। गत भदौमा मन्त्री पुनले गरेको भ्रमणका क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिना र त्यहाँका विद्युत् ऊर्जा, खनिज स्रोतमन्त्री नसरुल हमिदले पनि सो जानकारी गराएका थिए।   (रमेश लम्साल/रासस)

प्रकाशित: १९ मंसिर २०७५ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App