८ वैशाख २०८१ शनिबार
राजनीति

लैगिक हिंसा नियन्त्रणका लागि प्रहरी सञ्जाल

काठमाडौं – नेपाल प्रहरीले स्थानीय तहका वडा वडासम्म लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गर्ने भएको छ। लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य सञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठीपछि प्रहरीले यसलाई देशभर सञ्जाल गठन गर्ने तयारी गरेको छ।

राजधानीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैंगिक हिंसा नियन्त्रणका विषयमा भएका परिवर्तन र यस क्षेत्रमा कार्यरत प्रहरी अधिकृतलाई अभिमुखीकरण गर्ने कार्यक्रमको उद्घाटन गरे। प्रहरी महानिरीक्षक खनालले सो कार्यक्रमको उद्घाटनको क्रममा समाजमा बढ्दै गएका लैंगिक हिंसाका घटनालाई नियन्त्रण गर्ने विगतको अभियानलाई निरन्तरता दिँदै देशव्यापी रुपमा लैंगिक हिंसा नियन्त्रणका लागि सञ्जाल गठन गरी यसका काम कारबाहीलाई थप व्यवस्थित गर्न ‘लंैगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि,२०७५’ जारी गरिएको समेत बताए।

समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत स्थानीय सरकार र सरोकारवाला निकायलाई समेटेर ल्याइएको कार्यक्रमले स्थानीय स्तरको समस्या पहिचान गरी निराकरण गर्न र सुरक्षित वातावरणमा विकास निर्माणका कार्य अगाडी बढाउन सकारात्मक प्रभाव पार्दै उत्साहप्रद वातावरण सिर्जना गरेको समेत प्रहरी महानिरीक्षक खनालले बताए।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले लैंगिक हिंसामा प्रहरीले कही कतै पनि सम्झौता नगर्ने बताए। सो गोष्ठीमा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ र २०७२ को महत्व, जिल्ला, नगरपालिका, गाउँपालिका र वडास्तरीय सञ्जाल गठन, यसका काम कर्तव्य र अधिकार, यसको अनलाइन अभिलेखीकरणको परिचय, यसअन्तर्गत कार्यसम्पादनको क्रममा प्राप्त चुनौती, अनुभव र सुझावका बारेमा प्रस्तुतीकरण, आगामी योजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिचय लगायतका विषय छलफलमा ल्याइएको छ।

एसियन डेभलपमेन्ट बैंकको सहयोगमा प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा आयोजित सो गोष्ठीमा महानगरीय प्रहरी कार्यालय तथा सोअन्तर्गतका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत ९७ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ।

प्रकाशित: १९ मंसिर २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App