coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय कामदारलाई उपेक्षा गरेपछि होटलमा तोडफोड

बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, वनकट्टीमा रहेको पाँचतारे (फाइभ स्टार) होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारी र व्यवस्थापन पक्षबीच फेरि विवाद सुरु भएको छ। होटल व्यवस्थापन पक्षले एक वर्षको सम्झौता गरी राखेका कामदारलाइ अग्रिम सूचनै नदिई कामबाट निकाल्ने तयारी गरेपछि विवाद सुरु भएको हो।

यसै क्रममा शनिबार राति होटल परिसरमा पसेको युवाहरूको एक समूहले तोडफोडसमेत गरेको छ। तोडफोडबाट होटलको सेन्सर गेट, केही कुर्सी र टेबलमा क्षति पुगेको छ। घटनामा २० लाख रुपैयाँभन्दा बढी क्षति भएको भन्दै होटल व्यवस्थापन पक्षले प्रहरीमा उजुरी दिएको छ। रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमुद ढुंगेलले घटनाबारे छानबिन भइरहेको बताए।

स्थानीयलाइ रोजगारीमा प्राथमिकता दिने भनिए पनि होटल व्यवस्थापन पक्षले त्यसको कार्यान्वयन नगरेको आरोप पहिलेदेखि नै लाग्दै आएको छ। पछिल्लो समय ८–१० जना स्थानीयलाई होटलको कामबाट निकालेर बाहिरका कामदार ल्याउन लागेको सूचना आएपछि शनिबार राति तनाव सिर्जना भएको होटलकै एक कर्मचारीले बताए। होटलका प्रबन्धक (म्यानेजर)ले स्थानीय कामदारप्रति हेयभाव राख्ने गरेको गुनासोसमेत ती कर्मचारीले गरे। ती कर्मचारीले भने, ‘तलब सुविधा तथा मजदुर अधिकारका कुरा गरे कामबाटै निकालिनुपर्छ।’

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, वनकट्टीमा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका व्यवस्थापकले स्थानीय कामदारलाई निकालेर बाहिरका ल्याउने तयारी गरेपछि विवाद भएको हो।

होटल व्यवस्थापन पक्षले पछिल्लो ६ महिनामा १० स्थानीय कर्मचारीलाई होटलबाट निकालेको जानकारी आफूले पाएको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङले बताए। होटलमा कार्यरत एक सुरक्षा गार्डका अनुसार पछिल्लो समय स्थानीय कर्मचारीलाइ निकालेर अन्यत्रबाटै कामदार ल्याइएको र भएका कर्मचारीलाइ पनि तलब सुविधामा विभेद गर्ने गरिएको छ। तर होटल व्यवस्थापन पक्षले भने स्थानीय भनेर कसैलाइ विभेद नगरिएको र योग्यताका आधारमा सुविधा दिने गरिएको दाबी गरेको छ।

होटल निर्माणका क्रममा ढुंगा, गिटी, बालुवा सप्लाइ गर्दै आएको एटिवाई सप्लायर्सले अहिले होटलका खाली बोतल बोतल उठाउने ठेक्का लिएको छ। उक्त सप्लायर्सका सञ्चालकमार्फत होटलमा कामदारसमेत राख्ने गरिएको थियो। तर पछिल्लो समय होटल व्यवस्थापकले कामदार आपूर्तीको सम्पूर्ण जिम्मा काठमाडौंको गरुण कम्पनीलाइ दिएपछि स्थानीय ठेकेदार रुष्ट भएको र उनीहरूकै उक्साहटमा तोडफोड भएको आरोप लगाइएको छ। तर एटिवाई सप्लायर्सका सञ्चालक तारा मल्लले भने घटनामा आफूहरूको कुनै हात नभएको बताए। तर स्थानीयले काम पाउनुपर्ने माग आफूहरूको पनि रहेको उनको भनाइ छ।

पाँच अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानीमा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले आफ्नो स्थापनाका क्रममा स्थानीय स्तरमा गर्ने भनेका कामहरू पुस्तकालय स्थापना, बाटो, गेट, नहरजस्ता पूर्वाधार निर्माण नगरिदिएको स्थानीय बासिन्दाको गुनासो छ। अर्बौंको लगानीमा खुलेको पर्यटकीय होटलले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व पूरा नगर्दा र सम्झौताअनुरूप स्थानीयलाइ रोजगारीमा प्राथमिकता नदिँदा बेला–बेला स्थानीय बासिन्दा र होटल व्यवस्थापन पक्षबीच विवाद हुने गरेको हो।

यसअघि गत जेठमा पनि होटलले ढलसहितको फोहोर गाँउको बीचबाट बग्ने अमुवा नहरमा मिसाउँदा गाँउ नै प्रदूषित भएपछि स्थानीयले धर्ना दिएका थिए। स्थानीयको दाबाबपछि होटल व्यवस्थापन पक्षले फोहोर प्रशोधन मेसिन तत्काल जडान गर्ने, स्थानीयलाइ रोजगारी दिने, बाटो, पक्की नहर, पुस्तकालय निर्माण लगायतका काम गर्ने बताएको थियो। तर ती काम अहिलेसम्म नभएको वनकट्टीका बासिन्दा बताउँछन।

प्रकाशित: १९ मंसिर २०७५ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App