७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदीय समितिमा कोरम पुग्नै समस्या

फाइल फाेटाे

काठमाडौं – संसदीय समितिमा विगत एक महिनादेखि कोरम नपुग्ने समस्या बढेर गएको छ। बैठक बोलाएपछि समितिका सदस्यलाई कुरेर नै घन्टौं समय बित्न थालेको छ। कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले त कोरम नपुग्ने भएका कारण समितिको पहिलो बैठकसमेत बोलाउन सकेका छैनन्। उनले केही दिनअघि अनौपचारिक बैठक बोलाएका थिए। उनले भने, ‘समितिमा कोरम नपुग्ने समस्याकै कारण बैठक बोलाउन सकेको छैन।’

मंगलबार बिहान ११ बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिको बैठक पनि कोरम नपुगेर दुईपटक स्थिगित भएको छ। पहिलो बैठकमा निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन कर्तासँग छलफल गरिएको थियो। संशोधन कर्ता भरत साह, रेखा शर्मा र प्रेम सुवालले संशोधन राख्नुको कारणबारे समितिलाई स्पष्ट पारेका थिए। त्यसपछि बैठक स्थगित गरी अर्को बैठक दफाबार छलफलको लागि बोलाइएको थियो।

दफाबारको छलफलका क्रममा समितिका सदस्यहरू ८ जना मात्र सदस्य रहेका कारण कोरम नपुगेपछि बैठक सञ्चालन हुन सकेन। समितिमा उपस्थित रहेका १७ जना सदस्यमध्ये ९ जना सदस्य बाहिरिएपछि ८ जना मात्रै बाँकी थिए। त्यसपछि बसेको तेस्रो बैठकमा कोरम पुगेपछि विधेयकमाथि दफाबार छलफल भएको थियो।

संसद् नियमावली बमोजिम पहिलो बैठकमा ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। २५ जना समिति सदस्य रहेको बैठकमा कोरम पुग्नका लागि १४ जनाको उपस्थिती हुनुपर्दछ। निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको संशोधनकर्तासँग छलफल पछि त्यसमा दफाबार छलफल गरिएको हो।

अर्थमन्त्रालयका सचिवसहित अधिकारीहरू निर्धारित समयमा नै उपस्थित भएका थिए। अर्थमन्त्री अर्थमन्त्री युवराज खतिवडा संशोधनकर्तासँग छलफल भइरहेका समयमा उपस्थित थिए। सांसद सत्या पहाडीले समितिको बैठकमा नआउने सांसदलाई छलफलमा भाग लिन नपाउने व्यवस्था गर्नसमेत माग गरिन्।

बैठकमा समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिका सदस्यहरू नभएका कारण दफाबार छलफल अर्को दिन गरौं भन्नेसमेत प्रस्ताव गरेका थिए। तर, उनको प्रस्तावमा घनश्याम भुषाल, सत्या पहाडी, रामकुमारी झाँक्रीलगायतले कार्कीको प्रस्ताव अस्वीकार गर्दै जति सदस्य भए पनि बैठक अघि बढाउन प्रस्ताव गरेका थिए।

गत मंसिर ६ गते सोमबार अर्थ समितिको बैठकले कोरम बल्ततल्ल पुगे पनि मुख्य एजेण्डामा प्रभावकारी छलफल गर्न सकेन। पुँजीगत खर्च बढाउने विषयमा बोलाइएको बैठकमा सामान्य छलफल भएपछि स्थगित भएको थियो। अर्थ समितिको बैठक दिउँसो १ बजेलाई डाकिएको थियो। पौने दुई बजे सांसद मेटमणि चौधरी बैठक हल पुग्दा नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका सांसद डा. बाबुराम भट्टराईले ‘ढिलो आउनेलाई पुस्कारको व्यवस्था गरौ,’ भनेर व्यंग्य गरेका थिए। त्यतिबेलासम्म उक्त समितिमा सातजना सांसद मात्रै उपस्थित थिए। बिहान ९ बजे बोलाइएको बैठक गणपुरक संख्या नपुगकै कारण दिउँसोलाई सारिएको थियो। गत ७ गते बिहान बोलाएको विकास समिति पनि कोरम नपुगेका कारण स्थगित भएको थियो। समितिमा ११ जनाको मात्रै उपस्थिती रहेको थियो।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बिहान ११ बजेका लागि बोलाएको बैठकमा १२ बजेपछि स्थगित गरिएको थियो। बैठक स्थगित भएको घोषणापछि आइपुगेका समिति सदस्य अनिल झा र लिला श्रेष्ठलाई समिति सभापति कल्याणी खड्काले समयसीमाबारे ख्याल गर्न ध्यानाकर्षण गराएकी थिइन्। यसैगरी, सोही दिन १ बजे बोलाएको सार्वजनिक लेखा समितिको बैठक पनि कोरम नपुगेर केही समय स्थगित भएको थियो। पछि कोरम पुगेपछि सञ्चालन भएको थियो।

गत ९ गते कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति पनि कोरम नपुगिकनै सञ्चालन भएको थियो। बिहान ११ बजे बोलाइएको बैठक गणपुरक संख्या पुर्याउनका लागि सवा १२ बजेसम्म रोकिएको थियो। त्यतिबेला पनि १० जना सदस्यमात्रै थिए। उपसमिति गठन गर्ने सम्बन्धमा छलफल सुरु भएपछि हरिबोल गजुरेल र केहीबेरपछि ओनसरी घर्ती मगर थपिएका थिए। तर पनि १४ जना पुग्न सकेको थिएन। समिति सदस्य हरिबोल गजुरेलले समिति प्रभावकारी नहुँदा कोरम नपुग्ने समस्या रहेको बताए।

गत असोज तेस्रो साता प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता पीडितहरुसँग नागरिकताका समस्याबारे छलफल गरेको थियो। उक्त बैठकमा पनि सभापति सहित जम्मा पाँच जना समिति सदस्यहरु उपस्थित थिए। संसद्को शिक्षा स्वास्थ्य समितिको बैठक पनि पटकपटक कोरम नपुगेर स्थगित भएको छ। गत कात्तिक १५ गते चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य समितिको कोरम नपुग्दा स्थगित भएको थियो।

प्रकाशित: १९ मंसिर २०७५ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App