coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाटमा ढिलाइ

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ। नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंग्याउने जनाएको थियो।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै नेकपाले मंसिर १० गते बस्ने भनिएको बैठक ११ गतेका लागि सरेको थियो। मंसिर ११ गते पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो। उक्त बैठकमार्फत नेकपाले प्रदेश सदस्यहरूको टुंगो लगाए पनि केन्द्रीय सदस्यको जिम्मेवारी टुंग्याउने विषय भने अनिश्चित बनेको छ।

४ सय ४ीय सदस्य रहेको नेकपाभित्र लामो समयसम्म जिम्मेवारी बिहिन हुनुपरेको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाउँदै आएका छन्। नेकपाभित्र केन्द्रीय सदस्यहरूको असन्तुष्टि सम्बोधन गर्नका लागि सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ। तर, कार्यदलले हालसम्म पनि केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंग्याउन सकेको छैन्।

हालसम्म पनि केन्द्रीय सदस्यहरूको जिम्मेवारीसम्बन्धी प्रस्ताव नै तयार नभएको नेकपाका एक उच्चनेता बताउँछन्। ‘केन्द्रीय सदस्यहरूको जिम्मेवारीसम्बन्धी प्रस्ताव नै तयार भएको छैन, त्यसैले जिम्मेवारी तोक्न सकिएको छैन,’ ती नेताले भने नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नमा ढिलाइ हुनुलाई नेताको कार्यशैलीसँग जोडेर हेर्छन्। ‘यो उहाँहरूको स्वार्थ र नियतभन्दा पनि काम गर्ने शैलीको समस्या हो,’ भुसालले भने। समयमै केन्द्रीय सदस्यको जिम्मेवारी टुंग्याउन नसक्दा त्यसको असर पार्टी, सरकार र समग्र मुलुकलाई नै पर्ने उनको तर्क छ।

‘पार्टी परिचालन नभएपछि त्यसको असर सरकारमा पनि देखिन्छ, सरकारको काम प्रभावकारी नहुँदा मुलुकलाई नै नोक्सानी हुन्छ,’ भुसालले भने। पार्टीसँग नेता, कार्यकर्ता भए पनि त्यसलाई संगठित ढंगले परिचालन गर्न नसक्दा सरकारले गरिरहेका काम पनि छायाँमा परिरहेको भुसाल बताउँछन्। पार्टीसँग बलियो शक्ति भए पनि त्यसको सदुपयोग गर्न नेतृत्व चुकिरहेको उनको आरोप छ। प्रदेश सदस्यहरूको टुंगो लगाउँदा सुरुमा केही समस्या भएपनि पछि मापदन्ड बनाएर त्यसलाई ढिलै भए पनि सहज ढंगले टुंग्याउन सफल भएको भन्दै उनले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटलाई पनि सहजरूपमै टुंग्याउन सकिने बताउँछन्।

नेकपाका एक उच्च नेता पछिल्लो समय सरकारका तर्फबाट आयोजना भएका कार्यक्रमको असर पार्टीमा परेको बताउँछन्। सरकारको सहभागितामा भएको एसिया प्यासिफिक सम्मेलनका कारण पार्टीका काम कारबाहीसमेत प्रभावित भएको उनले बताए। पार्टीमा दुईजना अध्यक्ष भए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारका कामकारबाहीमा व्यस्त हुँदा समेत पार्टीका गतिविधि गर्ने जिम्मा हस्तान्तरण नगर्दा केन्द्रीय सदस्यहरूको जिम्मेवारी लम्बिएको हो। ‘नेतृत्वमा आफूले पनि समय नदिने र नभ्याउँदा जिम्मेवारी पनि नसुम्पिने प्रवृत्तिले पार्टीमा समस्या ल्याएको छ,’ ती नेताले भने।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपामा दुई अध्यक्षिय प्रणालीमा पार्टी सञ्चालन हुँदै आएको छ। तर कार्यकारी भूमिकामा सरकार र पार्टी दुवैमा ओली शक्तिशाली बनेपछि पार्टीका कामकारबाहीमा विलम्ब हुने गरेको छ। प्रधानमन्त्री ओली सरकारका काममा व्यस्त हुँदा पार्टीका काममा विलम्ब हुने र पार्टीका काममा व्यस्त हुँदा सरकारका कामकारबाहीमा असर पर्दै आएको छ।

प्रकाशित: १९ मंसिर २०७५ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App