८ वैशाख २०८१ शनिबार
कला

‘मिस वल्डको अगाडिको यात्रा चुनौतीपूर्ण’

काठमाडौं – वर्तमान ‘मिस नेपाल’ श्रृंखला खतिवडाले ‘मिस वल्र्ड’को ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’को अवार्ड जितेकी छिन्। नेपालको लोपोन्मुख अवस्थामा रहेको चेपाङ समुदायका मानिसको स्वास्थ्यका लागि उनले सञ्चालन गरेको ४० लाख हाराहारीको प्रोजेक्टले ‘ब्युटी विथ प्रपोज’ को उपाधि जितेको थियो। ‘ब्युटी विथ अ पर्पाेज’ र मल्टिमिडिया’ अवार्ड जितेलगत्तै उनी ‘मिस वल्र्ड’को ‘टप ३०’ मा छनोट भएकी छन्।

चेपाङहरूलाई केन्द्रित गरेर निर्माण गरिएको स्वास्थ्य चौकीले निःशुल्क उपचार प्रदान गरिरहेको छ। ‘मिस नेपाल’ श्रृंखलाले स्वास्थ्य चौकी निर्माणको लागि विदेशमा रहेका नेपाली समुदायमा सहयोगको लागि अपिल गरेकी थिइन्। यसअघि सन् २०१३ मा इशानी श्रेष्ठले नेपालका लागि पहिलोपटक ‘ब्युटी विथ अ पर्पोज’ जितेकी थिइन्।

‘मिस वल्र्डमा नेपालले यसपटक अहिलेसम्म उत्कृष्ट नतिजा प्राप्त गरेको हो। हरेक वर्ष मिस नेपालले आफूलाई निखार्दै गएका छन्। यसपटकको मिस नेपाललाई अन्तर्राष्ट्रिय र नेपाली समुदायले समेत साथ दिएका थिए,’ ‘मिस नेपाल’ आयोजक द हिड्न ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले भने,‘यसपटक मिस वल्र्डमा मिस नेपालको सहभागिता हेर्दा टप पाँचसम्म पुग्न सकिन्छ भन्नेमा आशावादी छु।’

२२ वर्षीया श्रृंखलाले मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा चेपाङ समुदायलाई केन्द्रित गरेर झण्डै ४० लाख हाराहारीमा निर्माण गरिएको स्वास्थ्य चौकी र त्यसले प्रदान गर्ने स्वास्थ्य उपचारलाई ‘ब्युटी विथ अ पर्पोज’ अन्तर्गतको भिडियोमा समावेश गरिएको थियो। ‘मिस वल्र्ड’मा सहभागी भएका प्रतियोगीहरूले आ–आफ्नो देशमा गरेको सामाजिक कार्यमा आधारमा ‘ब्युटी विथ अ पर्पोज’ प्रदान गरिन्छ।

नेपालले ‘ब्युटी विथ अ पर्पोज’ र मल्टिमिडियाको अवार्ड जित्न सफल भएको छ । यो खुसीको आँशु रोक्न सकिरहेको छैन् । ‘मिस वल्र्ड’को अगाडिको यात्रा अझ चुनौती र उत्साहपूर्ण रहेको हुँदा सबैलाई साथ दिन हुन अनुरोध गर्दछु।

‘मल्टिमिडिया अवार्ड’ दर्शकको सहभागिता, सोसल मिडिया प्लेटफर्म, कलात्मक विषय र प्रभावका आधारमा छानिएको थियो। नेपाल पहिलो भएको यस विधामा क्रमशः मेक्सिको र केन्या दोस्रो र तेस्रो भएका थिए। नेपालले पहिलोपटक ‘मल्टिमिडिया अवार्ड’ जितेको हो।

‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ जितेलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ‘मिस वल्र्ड’को अबको यात्रा चुनौतीपूर्ण रहेको जनाएकी थिइन्। ‘नेपालले ‘ब्युटी विथ अ पर्पोज’ र मल्टिमिडियाको अवार्ड जित्न सफल भएको छ। यो खुसीको आँशु रोक्न सकिरहेको छैन्। ‘मिस वल्र्ड’को अगाडिको यात्रा अझ चुनौती र उत्साहपूर्ण रहेको हुँदा सबैलाई साथ दिन हुन अनुरोध गर्दछु,’उनले ‘मिस नेपाल’को आधिकारिक फेसबुक पेजमा भिडियो राख्दै भनेकी छन्।

यसपटक ‘मिस वल्र्ड’मा नेपालसहित एक सय १८ देशले सहभागिता जनाएका थिए। प्रतियोगिताको ‘उत्कृष्ट ३०’ मा नेपालसहित सिंगापुर, फ्रान्स, भारत, बंगलादेश, मलेसिया, जापान र भियतनामलगायत देश पुगेका छन्। त्यस्तै ‘मिस वल्र्ड’अन्तर्गतको ‘टप मोडल’ फ्रान्स, ‘ट्यालेन्ट’ जापान, ‘स्पोर्टस’ अमेरिका, ‘फेसन डिजाइनर’ चीन र दक्षिण अफ्रिका तथा ‘सान्या पर्यटन प्रवद्र्धन भिडियो’ केन्याले जितेको थियो। ‘मिस वल्र्ड’को टप १५ मा पुगेका प्रतियोगिहरूले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। ‘मिस वल्र्ड’को फाइनल आगामी डिसेम्बर ८ मा चीनको सान्यामा हुँदैछ।

प्रकाशित: १९ मंसिर २०७५ ००:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App