१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपाले हिन्दू राष्ट्रका लागि देशव्यापी आन्दोलन थाल्ने, कार्यकर्तालाई तयार रहन निर्देशन

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिस्ट सरकारको कार्यशैली गलत रहेकाले नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्। मंगलबार प्रदेश राजधानी हेटौंडामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका कारण देशलाई ठूलो घाटा पुगेको जिकिर गरे।

सरकार कारण देश असफल हुने खतरा : कमल थापा

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले अपराध नियन्त्रण गर्न, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न सरकार असफल भएको दाबी गरे। ‘धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा सहभागी भई पुरस्कार लिनु आपत्तिजनक छ,’ उनले भने, ‘यस्तो कार्यले राष्ट्रिय पहिचान र नेपालीको सम्मानमा गम्भीर धक्का लागेको छ।’

वर्तमान सरकार पूर्ण रुपले असफल भएको दाबी गर्दै उनले दुई तिहाईको सरकारले शान्ति, अमन चयन गर्ने जनताको चहानामा तुसारापात भई सकेको दाबी गरे। सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्न नसकेको बताउँदै उनले सरकारले चार महिना अघि बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको अपराधीलाई संरक्षण गरेको लगाए। तराई क्षेत्रमा विखण्डनकारी सक्रिय हुँदा पनि सरकारले ध्यान नदिएको भन्दै अध्यक्ष थापाले सरकारको संरक्षणमा नेपालमा गैरसरकारी संस्थाका नाममा धर्म प्रचारको काम गईरहेको प्रति आक्रोष पोखे।

राप्रपा प्राविधिक कारणले चुनावमा हारेपनि पार्टीको विचार जनतामा स्थापित हुँदै गएको उनले बताए। पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी पार्टी एकीकरणको बाधक रहेको आरोप लगाउँदै अध्यक्ष थापाले अब पार्टी एकीकरणका लागि कुरेर नबसी अभियानमा अघि बढ्ने बताए। उनले भने, ‘अब राप्रपाले हिन्दु राष्ट्रका लागि देशभर आन्दोलन थाल्ने भएकाले कार्यकर्ता तयार रहनुहोस्।’

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम वर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी, जिल्ला उपाध्यक्ष शिवराम थापा, सचिव केदार चौलागाई, १ नम्बर क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतले तीनै राप्रपा एकजुट भएर देशको विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १८ मंसिर २०७५ १६:०७ मंगलबार

राप्रपा कमल_थापा