७ वैशाख २०८१ शुक्रबार
शिक्षा

डोल्पामा मंसिरमै बार्षिक परीक्षा सुरु

मंगलबारबाट सुरु भएको बार्षिक परीक्षा दिँदै त्रिपुरा सुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुरा मावि त्रिपुराकोटका बिद्यार्थी ।

डोल्पा– डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका भित्र पर्ने ३२ वटा विद्यालयमा बार्षिक परीक्षा सुरु भएको छ।नगरपालिका भित्रपर्ने वडा नं १ देखि ११ सम्मका बिद्यालयहरुमा मंगरबारबाट आधारभुत तह (१–८ कक्षा) र माध्यामिक तह (९–१० कक्षा) को बार्षिक परीक्षा सुरु भएको हो।

मंसिर महिनादेखि नै चिसो बढ्ने र पुस माघमा हिमपात हुने भएकाले मंसिर अन्तिम सातासम्म परीक्षा सम्पन्न गरेर पुस पहिलो साताभित्रै नगरका सम्पूर्ण विद्यालयहरु बन्द हुने त्रिपुरा सुन्दरी नगरपालिकाले जनाएको छ।

जारी शैक्षिक सत्र सकेर बन्द भएका बिद्यालयहरु नयाँ शैक्षिक सत्र सुरु भएसँगै फागुनमा खुल्ने गरेको नगरको भनाई छ।
हिँउदको समयमा चिसोले पठन पाठन प्रभावित हुने भएकाले पुसमै बिद्यालयहरु बन्द भएर फागुनमा खुल्ने गरेको बताइएको छ।

त्यस्तै ठुलीभेरी नगरपालिका भित्रपर्ने २४ विद्यालयमा २६ गतेबाट, जगदुल्ला गाउँपालिकाका १० बिद्यालयमा २६ गतेबाट, मुड्केचुला गाँउपालिका १३ बिद्यालयमा २३ गतेबाट बार्षिक परीक्षा तोकिएको छ। काईके गाँउपालिका भित्रपर्ने १४ बिद्यालयमा भने गत सोमबार देखि नै परीक्षा सुरु भइसकेको छ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो, डोल्पो बुद्ध, छार्काताङसोङका २४ बिद्यालयमा कात्तिक अन्तिमभित्र बार्षिक परीक्षा सम्पन्न गरेर बन्द भइसकेको जिल्ला प्रशासन शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख सिँहराज डाँगीले जानकारी दिए।

गत कात्तिक अन्तिममा बन्द भइसकेका उपल्लो डोल्पाका बिद्यालयहरु छ महिना पछिमात्रै खुल्ने उनको भनाइ छ। भौलिक बिकटता र फरक हावापानीको कारण जिल्लाको शैक्षिक सत्रनै दुई भागमा बिभाजित भएको छ।

उपल्लो डोल्पामा तीनवटा स्थानीय तहमा प्रत्येक बर्ष बैशाखमा सुरु भएको शैैक्षिक सत्र कात्तिकमा सकिने र तल्लो डोल्पामा फागुनमा सुरुभएको शैक्षिक सत्र पुसमा सकिन्छ।

कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुमा एकै बर्ष दुईवटा शैक्षिक सत्र लागुहुने गरेता पनि अन्य जिल्लामा भने प्रत्येक बर्षको चैतमा शैक्षिक सत्र सकिएर बैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।

प्रकाशित: १८ मंसिर २०७५ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App