६ वैशाख २०८१ बिहीबार
अर्थ

कमलपोखरीको ढाँचा तयार, अर्काे वर्षको छठसम्म निर्माण सकिने

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन्। कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा बोल्दै मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी गरे। सहरी योजना आयोगमै सरोकारवालासँग छलफल गर्दै मेयर शाक्यले काठमाडौंको मुटुमा अवस्थित उक्त पोखरी मात्र नभई महानगर भित्र रहेका अन्य पोखरी र पार्कलाई पनि व्यवस्थित र हरियालीयुक्त बनाउने बताए।

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद गगन थापा, प्रदेश सांसद नरोत्तम वैद्य लगायतसँगको छलफलमा मेयर शाक्यले महानगरपालिका सहरी सौन्दर्य बढाउने अभियानमा जुटेको जानकारी गराए। कमलपोखरीको अस्तित्व जोगाउँदै निर्माण गर्ने उनले स्पष्ट पारे।

उनले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हालेमालो गरेर अघि बढ्न आग्रह गरे।  सबैको साथ र सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने मेयर शाक्यले दाबी गरे।

छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको भनाई छ। मेयर शाक्यले पार्क, पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिए। 

‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौं’, मेयर शाक्यले भने, ‘हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौं।’ उनले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिए। बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार गरिएको सो पोखरीमा रात्रिकालिन वत्तीको समेत व्यवस्था गरिएको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए। सो पोखरी निर्माण सम्पन्न भएपछि पोखरी वरीपरी फ्रि वाइफाईको समेत व्यवस्था गर्ने महानगरको तयारी छ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताए। ‘नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि खुशी हुँदै भने, ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ। मलाई एकदम मन पर्यो। हामी महानगरपालिकासँग मिलेर काम गर्न तयार छौं। अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔं।’ 

सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे। मत्स्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्ने लगायतका कुरामा पनि पहल गर्नुपर्ने उनको भनाई थियो। ‘योजना राम्रो बनेको छ। कमल पोखरी विकास समाजसँग पनि छालफल गरौं, त्यहाँका क्लबका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौं,’ थापाले भने, ‘यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस।’ 

कमल पोखरी संरक्षण योजनाबारे जानकारी दिदैँ सदस्य सविच बस्नेतले भने, ‘कमलपोखरी  बास्तुशास्त्रमा आधारित भएर निर्माण हुने छ।’ उनले पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिने, पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गर्ने, बास्तुमूर्ति स्थापना गर्ने लगायतको ढाँचा तयार पारेको जानकारी दिए। उनले पोखरी निर्माणका लागि सबै ढाँचा तयारी भए पनि पानीको सतह र निकासका बारेमा अझै समस्या भएको पनि जानकारी दिए। उनले पानीलाई कसरी दैनिक सफल गर्न सकिन्छ भन्ने बारेमा पनि अध्ययन भैरहेको भन्दै पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना बनाउने, विभिन्न ठाउँमा चैत्य राख्ने, पाँचओटा मकरधार निर्माण गर्ने तयारी भएको बताए। फाउण्टेनको समेत अवधारणा ल्याएको उनको भनाई थियो। बस्नेतले डिजाइन स्वीकृत भएपछि काम हुरु भएको मितिले ९ महिनाभित्र सबै काम सकिने पनि दाबी गरे। सहरी योजना आयोगले महानगर भित्रका विभिन्न पार्क र पोखरीको डिजाइन तयारी पार्दै आएको छ। 

प्रदेश सांसद नरोत्तम वैद्यले पोखरीको डिलमा राजनीतिक दलका लागि भाषण गर्ने छुट्टै ठाउँको व्यवस्था गर्नुपर्ने सुझाव दिए। उनले हरियाली व्यवस्थापन गर्न कठिन हुने भन्दै त्यसमा बढी जोड नदिन सुझाव दिए। छलफलमा स्थानीय क्लवका अध्यक्षलगायतले पनि पोखरी निर्माणका लागि आफूहरु बाधक नबन्ने बताएका थिए।  

प्रकाशित: १८ मंसिर २०७५ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App