८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधनको लागि एमालेसँग परामर्श गरिएको छैन: नेपाल

नेपालगन्जमा मंगलबार कार्यकर्तालाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।

नेपालगन्ज–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताएका छन्। नेपालगन्जमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले संविधान संशोधनकालागि एमालेसँग कुनै परामर्श नगरिएको भन्दै दुःख व्यक्त गरे। ‘एमालेले संविधान संशोधन गर्नै हुदैन भनेको छैन, एमालेसँग कुनै परामर्श गरिएको छैन, आउनुपर्यो नि छलफल गर्न,’ उनले भने, ‘तयार गरिएको कागजमा मात्र सही गर्न एमालेले सक्दैन।’

एउटा पक्षलाई सन्तुष्ट पार्नका लागि अरुलाई असन्तुष्ट पार्ने काम राजनीतिक दलले गर्न नहुने उनले सुझाव दिए। ‘राष्ट्रिय हित विपरित कुनैपनि काम गर्नु हुँदैन,’ नेपालले भने। अधिकार दिने नाममा राष्ट्रिय हित विपरितको सहमति गर्न नसकिने उनले प्रष्ट्याए। अर्को प्रसंगमा नेपालले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गरिसकेको दाबी गरे।

‘पार्टीभित्र अब गुटबन्दी छैन, हामीले छलफल गरेर धेरै असमझदारीलाई टुंग्याइसकेका छौं,’ उनले भने, ‘कतिपय कुरालाई समिक्षा गरी गल्तीलाई सुधार गर्दै जानुपर्छ, तर जति घाउलाई जति कोट्यायो त्यति ठूलो हुन्छ।’ पार्टी नेतृत्वले कार्यकर्तालाई काखा र पाखा गर्न नहुने उनको भनाइ छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै वरिष्ठ नेता नेपालले जिम्मेवार व्यक्तिले विचार पुर्याएर बोल्नुपर्ने धारणा राखे।

 

प्रकाशित: ११ आश्विन २०७३ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App