८ वैशाख २०८१ शनिबार
अर्थ

६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने

फाइल फाेटाे

काठमाडौं – नेपाल आयल निगमले मुलुकका ६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो।

जनकपुर, सिमरा, भरतपुर, दाङ, मन्थली, झापामा डिपो निर्माण गर्ने निगमले जनाएको छ। ती विमानस्थलमा डिपो निर्माण गर्न चालु आर्थिक वर्ष ०७५÷७६ को बजेट तथा कार्यक्रममा स्वीकृत भएको छ। नागरिक उड्डयन प्राधिकरणसँग जग्गा लिजमा लिएर डिपो निर्माण गर्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘यो वर्ष ६ विमानस्थलमा डिपो निर्माण सुरु गर्छौं,’ भट्टराईले भने। विमान उडानको चाप भएका विमानस्थलमा बाहिरबाट ट्यांकरमा हवाई इन्धन लगेर भर्न कठिन भएपछि विमानस्थलमा डिपो बनाउन लागेको भट्टराईले बताए।

निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ। पुराना विमानस्थलमा पनि क्षमता वृद्धि गर्ने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। पोखरालगायत विमानस्थलमा विमानको चाप बढेकोले क्षमता बढाउन लागेको गोइतले बताए। ‘आन्तरिक उडानको चाप बढेका विमानस्थलमा क्षमता बढाउछौं,’ गोइतले भने।

मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन। डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बोकेर जानुपर्ने बाध्यता छ।

उडानको चाप रहेका विमानस्थलमा पनि हवाई इन्धनको व्यवस्था नहुँदा समस्या भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारी बताउँछन्। यसले विमान कम्पनीलाई व्यापारिक रुपमा घाटा पुग्छ। काठमाडौंमा सात हजार सात सय १०, विराटनगरमा दुई सय ८०, भैरहवा ५६, पोखरा ६४, नेपालगन्जमा दुई सय ८०, सुर्खेत ६० र धनगढीमा ४५ किलोलिटर क्षमता छ।

मुलुकभर आठ हजार चार सय ९९ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता भएको निगमले जनाएको छ। निगमले भद्रपुर र मन्थलीमा अस्थायी रुपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ।

सिमरा विमास्थल बारा, भरतपुर, जनकपुर, चन्द्रगढी झापा, दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी।, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल संखुवासभामा हवाई इन्धन डिपो छैन। अहिलेको १० हजार किलोलिटर क्षमतालाई २० हजार किलोलिटर पुर्याउने निगमको योजना हो।

हवाई इन्धन डिपो विस्तार गर्नुपर्ने आवश्यकता रहेको प्रवक्ता गोइतले बताए। निगमको इन्जिनियरिङ क्षमता क्षीण हुँदै गएकाले पनि व्यवस्थापनमा कठिनाइ भएको निगमले जनाएको छ। विमानस्थलमा हवाई इन्धन डिपो बनाउन नागरिक उड्डयन प्राधिकरणको पनि तत्परता चाहिने निगमले जनाएको छ। ‘डिपो बनाउन जग्गा आवश्यक पर्छ,’ भट्टराईले भने, ‘जग्गा दियो भने काम अघि बढाउन तत्पर छौं।’ सबै विमानस्थलमा भने डिपो जरुरी नभएको निगमले जनाएको छ।

कम उडान हुने र कच्ची धावन मार्ग भएका ठाउँमा आवश्यक रहेको भट्टराईले बताए। ‘कतिपय विमानस्थलमा गाडी पुगेको छैन,’ उनले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी एक दर्जन, अन्तर्राष्ट्रिय दुई दर्जन एयरलाइन्सका दैनिक पौने दुई सयभन्दा बढी विमानले इन्धन भर्ने गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक पाँचदेखि सात लाख लिटर इन्धन खपत हुन्छ।

प्रकाशित: १८ मंसिर २०७५ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App