६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

‘अमेरिकी कार आयातमा ट्यारिफ घटाउन चीन सहमत’

वासिङ्टन – चीनमा भइरहेको अमेरिकी कार आयातमा लाग्दै आएको ४० प्रतिशत कर घटाउन र हटाउन बेइजिङ सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

कुनै विस्तृत विवरण बिना नै सामाजिक सञ्जाल ट्विटरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमाथि चीनमा लाग्दै आएको ४० प्रतिशत ट्यारिफ हटाउन बेइजिङ सहमत भएको बताएका हुन्। ट्रम्पको यस्तो घोषणालाई चीनले पुष्टि गर्न इन्कार गरेको बिबिसीले जनाएको छ।

ट्रम्पले सार्वजनिक गरेजस्तो यदि चीन अमेरिकी कार आयातमा ट्यारिफ हटाउन सहमत भएको हो भने अमेरिका–चीन व्यापार युद्धले आक्रान्त बनेका कार उत्पादन कम्पनीमा खुसीको सञ्चार हुने बिबिसीले जनाएको छ। तितो विवादकै बीच अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अस्थायी व्यापारिक  युद्धविराम गर्ने सहमति भएको छ।

विश्वका २० शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रहरुको समूह ‘जी–ट्वान्टी’ को अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न भएको सम्मेलनपछि आयोजित डिनरसहितको बैठकमा ट्रम्प र सीबीच वार्ताका लागि भन्दै ९० दिनसम्मका लागि एकअर्काविरुद्ध ट्यारिफ नबढाउने सहमति भएको थियो। यो अवधिमा अमेरिका र चीनबीच कुनै सम्झौता हुन नसके दुई सय विलियन अमेरिकी डलरबराबरको चिनियाँ सामानमा १० देखि २५ प्रतिशतसम्म कर वृद्धि हुनसक्ने छ। यदि अमेरिकाले कर वृद्धि गरे चिनियाँ पक्षबाट पनि सोहीअनुसारको कदम चालिने अनुमान गरिएको छ।

‘जी–ट्वान्टी’ बैठकपछि अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच भएको बैठकको उपलब्धीलाई मूर्त रूप दिनका लागि दुवै देशका आर्थिक टिमलाई निर्देशन दिइसकिएको बताइएको छ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार बताएअनुसार ‘जी–ट्वान्टी’ सम्मेलन सकेलगत्तै चीन र अमेरिकाका राष्ट्रपतिले उपलब्धीमूलक वार्ताका लागि आ–आफ्ना देशका आर्थिक समूहलाई निर्देशन दिएका थिए। यद्यपि मन्त्रालयले सो निर्देशन कुनै विशेष उद्देश्यका लागि तयारीसहितको निर्देशन थियो भन्नेबारे भने केही नबताएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षीबीच तत्कालका लागि व्यापार युद्धविराम भएको समाचार बाहिरिएसँगै  एसियाली सेयर बजार उकालो लागेको छ।

अमेरिका र चीनले घरेलु उत्पादनलाई थप प्रतिस्पर्धी बनाउने प्रयासस्वरुप एकअर्काकाका सामानमाथि ट्यारिफ लगाएपछि दुई देशबीच व्यापार युद्ध सुरु भएको थियो। चीनको अनुचित व्यापारिक अभ्यासका कारण आफ्नो ट्यारिफनीति आएको अमेरिकाले दाबी गर्दै आएको छ। उसले चीनले बौद्धिक चोरी गरेको आरोपसमेत लगाउँदै आएको छ।

अमेरिका र चीन दुवै देशले एकअर्काका अर्बौं अमेरिकी डलरबराबरका सामानमा ट्यारिफ लगाएका छन्। अमेरिकाले दुई सय ५० विलियन अमेरिकी डलरबराबरको चिनियाँ सामानमा जुलाई महिनोदखि ट्यारिफ लगाउने घोषणा गरेपछि त्यसको प्रतिक्रियास्वरुप चीनले पनि एक सय १० विलियन अमेरिकी डलरबराबरका अमेरिकी सामानमा ट्यारिफ लगाएको छ। अमेरिकी ट्यारिफअन्तर्गत चिनियाँ कारमा २५ प्रतिशत ट्यारिफ लगाइएको छ भने अमेरिकी कारका लागि विश्वकै ठूलो बजार चीनमा जुलाई महिनादेखि ४० प्रतिशत कर लगाइएको छ।

प्रकाशित: १८ मंसिर २०७५ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App