coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जर्मनी र नेदरल्यान्ड्स एउटै समूहमा

डब्लिन – विश्व फुटबलमा पछिल्ला समयमा खराब नतिजाको सामना गरिरहेको जर्मन र नेदरल्यान्ड्स  युरोपियन च्याम्पियनसिप २०२० को छनोट चरणमा एउटै समूहमा परेका छन्।

रूस विश्वकपमै छनोट नभएको नेदरल्यान्ड्स र सोही विश्वकपमा समूहचरण पार गर्न नसकेको जर्मनी आइतबार सार्वजनिक भएको ‘ड्र’ मा समूह ‘सी’ मा छन्। सो समूहमा बलियो डिफेन्सको छबि बनाएको नर्थन आयरल्यान्ड, बेलारुस र इस्टोनिया छन्।

‘यो समूहका कारण एकदम बेखुसी छु,’ नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्डो कोइमनले भने, ‘दुवै राष्ट्र निकै बलिया छन्। त्यसैले म मात्र होइन, जर्मनी पनि यो समूह चाहँदैनथे होलान्।’ युइएफए नेसन्स लिगमा गत महिना जर्मनी लिग ‘ए’ बाट रेलिगेसनमा परेको थियो।

विश्वकपको समूहचरणबाटै बाहिरिएको जर्मनी यस संस्करण युरोपियन च्याम्पियनसिपमा पनि समूहचरणबाटै बाहिरिने खतरा बढेको छ। नेसन्स लिगमा नेदरल्यान्ड्सले जर्मनीसँग एक जित र एक बराबरी गरेको थियो। छनोट चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले मार्च २४ मा जर्मनीसँग खेल्नेछ।

सन् २०१६ को युरो र सन् २०१८ को विश्वकपको छनोट हुन असफल भएको थियो।  सन् १९८८ मा युरोकप विजेता टिमका सदस्यसमेत रहेका कोइमनको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्समा युवा खेलाडी सम्मिलित टिम छ। ‘यो टिममा धेरै परिवर्तन भएको छ,’ कोइमनले भने, ‘हाम्रा समर्थकले पनि यस पटक धेरै आशा गरेका छन्।’

यस प्रतियोगिता आगामी १२ जुन लन्डनको वेम्बलीमा सुरु हुँदै छ। फाइनलमा भने १२ जुलाईमा हुनेछ। समूह ‘ए’ मा इङ्ल्यान्ड, चेक रिपब्लिक, बुल्गेरिया र कोसोभो, ‘बी’ मा पोर्चुगल, युक्रेन, सर्बिया, लिथुआनिया र लक्जम्बर्ग, ‘डी’ मा स्विट्जरल्यान्ड, डेनमार्क, रिपब्लिक आयरल्यान्ड, जर्जिया र जिब्राल्टार, ‘ई’ मा क्रोएसिया, वेल्स, स्लोभाकिया, हंगेरी, अजरबैजान, ‘एफ’ मा स्पेन, स्विडेन, नर्वे, रोमानिया, फारोइ आइल्यान्ड र माल्टा, ‘जी’ मा पोल्यान्ड, अस्ट्रिया, इजरायल, स्लोभानिया, एफवाइआर म्याकडोनिया र लाट्भिया, ‘एच’ मा फ्रान्स, आइसल्यान्ड, टर्की, अल्बानिया, माल्डोभा, एन्डोरा, ‘आई’ मा बेल्जियम, रसिया, स्कटल्यान्ड, साइप्रस, कजाखस्तान, सान मारियो तथा ‘जे’ मा इटाली, बोस्निया एन्ड हर्जेगोभिना, फिनल्यान्ड, अर्मेनिया र लिच्टेनिस्टेन छन्।

प्रकाशित: १८ मंसिर २०७५ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App