७ वैशाख २०८१ शुक्रबार
खेल

सिटीलाई पछ्याउँदै लिभरपुल

लन्डन – लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनलाई निराश पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गरेको दिन आइतबार आर्सनलले उत्तरी लन्डन डर्बीमा टोटेनह्यामलाई पराजित गर्दै उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा एभर्टनका गोलकिपर जोर्डन पिंकफोर्डको गल्तीमा अन्ततः १–० को नतिजा निकालेको हो।

यता युनेई इमिरेको आर्सनलले टोटेनह्यामविरुद्धको जितसँगै जारी सिजन सबै खाले प्रतियोगितामा अपराजित यात्रालाई १९ खेलसम्म निरन्तरता दिएको छ। गत साता चेल्सीलाई २–० ले स्तब्ध पारेको टोटेनह्यामले आर्सनलविरुद्ध भने जितको स्वाद चाख्न पाएन।

च्याम्पियन्स लिगमा गत साता पेरिस सेन्ट जर्मन (पिएसजी) लाई नतिजा सुम्पिँदै अघिल्लो चरण यात्रा कठिन बनेको लिभरपुलले आइतबार मर्सिसाइड डर्बीमा १–० को जितका साथ उक्त हारको पीडा केही कम गरेको थियो। दुवै टोलीले पर्याप्त गोलका अवसर पाए पनि बललाई जाली चुमाउन नसक्दा खेल गोलरहित बराबरीतर्फ धकेलिएको थियो। तर अन्तिम समयमा गोलकिपर पिंकफोर्डको गल्ती महँगो साबित हुँदा एभर्टन अंक गुमाउन बाध्य भएको थियो।

ओरिजीको गोलमा खुसीयाली मनाउने क्रममा मैदानभित्रै प्रवेश गरेका लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै माफी मागेका छन्।

इन्जुरी समयको चौथो मिनेटमा रक्षक भर्जिल भान डिजिकले गरेको प्रहार पोस्टमा लागेर फर्के पनि पिंकफोर्डले उक्त बलको दिशा ठम्याउन नसक्दा वैकल्पिक खेलाडी डिभोक आरिजीले गोल गर्दै लिभरपुलका लागि ३ अंक पक्का गरेका थिए। पिंकफोर्ड अघि बढेको मौकामा रिबाउन्ड बललाई ओरिजीले खाली पोस्टमा बललाई जाली चुमाएका थिए। पिंकफोर्डले आफ्नो गम्भीर गल्तीमा अंक सुम्पन बाध्य भएकोमा क्षमा मागेका छन्।

‘मैले नियन्त्रण लिने क्रममा बलले दिशा परिवर्तन गर्यो,’ पिंकफोर्डले भने, ‘हामीले एन्फिल्ड भ्रमण गर्दा सधंै यस्तो दुर्भाग्यको सामना गर्दै आएका छौं।’ ओरिजीको गोलमा खुसीयाली मनाउने क्रममा मैदानभित्रै प्रवेश गरेका लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै माफी मागेका छन्।

‘म यो बारेमा के नै भन्न सक्छु र ? म दौडँदै मैदानभित्र प्रवेश गर्न चाहन्नथें,’ क्लोपले भने, ‘यो योजनाबद्ध भएको होइन। म गोलकिपर एलिसनसँग खुसीयाली मनाउन मैदानभित्र जान चाहान्नथें। तर मैले आफैंलाई रोक्न सकिनँ। यो राम्रो होइन तर कहिलेकाहीं यस्तो अवस्था आउँछ।’

यस जितपछि १४ खेलमा ३६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा यथावत् छ जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको सिटीभन्दा मात्र २ अंक कम हो। ३१ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ भने आर्सनल र टोटेनह्याम समान ३० अंकका साथ क्रमश चौथो र पाँचांै स्थानमा छन्। २२ अंक जोडेको एभर्टन छैटौं स्थानमा छ। आइतबारै चाँडो गरी सम्पन्न खेलमा आर्सनलले माउरिसियो पोचेटिनोको टोलीलाई ४–२ को हार चखाएको हो।

घरेलु मैदान इमिरेट्स रंगशालमा सम्पन्न खेलको दशौं मिनेटमा पिरे इमेरिक औबामेयाङले पेनाल्टीमा गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो। ३०औं मिनेटमा इरिक डायरले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काएका थिए। त्यसको ४ मिनेटपछि नै ह्यारी केनले गरेको गोलमा टोटेनह्यामले अग्रता २–१ मा पुर्याएको थियो।

दोस्रो हाफमा आर्सनलले उत्कृष्ट पुनरागमनमा थप तीन गोल गर्दै जितको यात्रालाई निरन्तरता दिएको थियो। ५६औं मिनेटमा औबामेयाङले बललाई जाली चुमाउँदै आर्सनललाई खेलमा फर्काएका थिए। खेलको अन्तिम १५ मिनेटमा आर्सनलले थप दुई गोल गर्यो। ७३औं मिनेटमा एलेक्जेन्डर लाकाजेट्ले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपिछ नै लुकास टोरिएराले बललाई पोस्टको दिशा दिँदै आर्सनलको सहज जित पक्का गरेका थिए।

‘यस जितले हाम्रो मनोबल थप बढेको छ,’ इमिरेले भने, ‘हामीले अब यो लयलाई निरन्तरता दिन आवश्यक छ। टोटेनह्याम सधैं कठिन प्रतिद्वन्द्वी हो र उनीहरूविरुद्धको नतिजाले सधैं अर्थ राख्छ।’ आर्सनलले बुधबार जोजे माउरिन्होको टोली म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

प्रकाशित: १८ मंसिर २०७५ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App