८ वैशाख २०८१ शनिबार
कला

रेखा र लयलाई हरितारा पुरस्कार

पुरस्कृत तथा सम्मानित कलाकारहरू। तस्बिरः नागरिक

काठमाडौं – लामो समयदेखि फिल्म तथा टेलिभिजनको अभिनय, निर्माण, निर्देशनमा सक्रिय कलाकारहरूलाई राजधानीमा पुरस्कार र सम्मान प्रदान गरिएको छ। तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा फिल्ममा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली अभिनय तथा पछिल्लो समयमा फिल्म निर्माण र निर्देशनमा सक्रिय नायिका रेखा थापालाई ‘हरितारा चलचित्र पुरस्कार –२०७५’बाट पुरस्कृत गरिएको छ। उनीहरूले सम्मान पत्रसहित जनही २५ हजार रुपैंयाँ प्राप्त गरे।

त्यस्तै परिवर्तन नेपालले गत सालदेखि स्थापना गरेको ‘दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५’ तीन दशकदेखि नेपाली रंगमञ्च तथा फिल्म क्षेत्रमा सक्रिय कलाकार उत्तम केसी र नेपाली रंग पत्रकारितामार्फत तीन दशक बढी समयदेखि फिल्म क्षेत्रमा सक्रिय पत्रकार विजयरत्न तुलाधरलाई प्रदान गरियो। पुरस्कृत दुवैले सम्मान पत्र तथा जनही १० हजार रुपैंयाँ पाए।

यस्तै अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई ‘परिवर्तन सम्मान २०७५’ प्रदान गरियो। पुरस्कृत तथा सम्मानितलाई सावित्री कोइराला, अन्तर्राष्ट्रिय टेनिस खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीन नेपाली फिल्मकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भुषालले पुरस्कार र सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा पुरस्कृत संग्रौलाले सिर्जनाको कर्मलाई निरन्तरता दिएमा सफलतामा पुगिन्छ भन्ने उदाहरण पुरस्कारले दिएको बताए। त्यस्तै अभिनेत्री थापाले फिल्म क्षेत्रको विभेद अन्त्य र समाज परिवर्तनका लागि फिल्ममार्फत नारी सशक्तिकरणमा निरन्तर संघर्ष गर्दै आएकाले सफलता मिलेको जनाइन्। अभिनेत्री भुषालले फिल्ममा काम गर्ने कलाकारलाई अभिप्रेरित गर्ने निजी क्षेत्रको पहिलो पुरस्कारले कलाकारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको दाबी गरिन्।

पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक तथा निर्देशक मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ तथा चलचित्र पत्रकार र गीतकार शान्तिप्रिय थिए।

प्रकाशित: १८ मंसिर २०७५ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App