८ वैशाख २०८१ शनिबार
कला

जलरङमा छचल्कियो विश्वभरको रङ

काठमाडौं - प्रेमबारे मानिसको आ–आफ्नै बुझाई छन्। अमेरिकी कलाकार मिन्नी भ्यालेरो प्रेमलाई ‘लभ इज नट अदर प्लेस, इट इज इन् हार्ट’का रुपमा व्याख्या गर्छिन्। यही भावलाई कलाकार मिन्नीले सोमबारबाट राजधानीमा शुरु भएको ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा आफ्नो क्यानभासमार्फत व्यक्त गरिन्।

रमणिय हरियाली वनको एकान्तमा प्रेमिल एक जोडीको प्रेमानुभावलाई क्यानभासमा उतारेकी उनले प्रेमिल भावमा अनेक रंग छर्न मनपराउने बताइन्। ‘प्रेम आफैमा सुन्दर भाव हो। त्यस भावमा अनेक रङ छर्न मलाई निकै मनपर्छ। जलरङको अनेक रङमा मिसिनसक्ने खुबीले पनि मेरो मानवीय भावलाई साथ दिइरहेको छ,’ उनले भनिन्,‘जलरङ बालबालिकालाई चित्र कोर्न सिकाउने सामान्य रङ होइन्। यो सहजै धेरै भावलाई क्यानभासमा छचल्काउन सक्ने सशक्त माध्यम हो।’

महोत्सवको उद्घाटन अघि उनीजस्तै विश्वका विभिन्न देशका कलाकारले स्थलगत कला कार्यशालामा जलरङ क्यानभास प्रस्तुत गरे। अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरले आयोजना गरेको कार्यशालामा मंगोलियाका मुङ्कु गुगुले जलरङमा मंगोलियन मानिससँगै चिललाई इंगित गर्दै पोट्रेट कोरे। भारतका कलाकार अमित कपूरले स्पेनको सुन्दर सहरलाई जलरङमार्फत ल्याण्डस्केपमा उतारे। ‘कलाकारको कुनै जात, धर्म र रङ हुँदैन भन्ने भावले ल्याण्डस्केप तयार पारेको हुँ। स्वदेशमात्र नभई विदेशका विभिन्न स्थान घुम्न हाम्रा लागि उत्तिकै रुचीकर हुन्छ,’ उनले भने, ‘आफ्नो देशको मात्र हैन। जहाँको भएपनि सुन्दर कुरा रङमा उतार्न मन लाग्छ।’ नेपाल–भारतको कला संस्कृतिमा निकटता रहेको भन्दै उनले यसपटक त्यो निकटता साट्ने अवसर नेपाली कलाकारलाई दिएकोमा आभार व्यक्त गरे।

जलरङ समाजको शाखा ९० देशमा रहेपनि विश्वलाई एकैथलोमा उतार्ने महत्वपूर्ण काम नेपालका कलाकारले गरेको उनको दाबी थियो। उनले सामान्य कला प्रदर्शनी गर्न नै खर्चको अभाव हुने कला जगतमा सिंगै विश्वका कलाकारका बीच कला कोर्ने अवसर हरेक कलाकारका लागि अभूतपूर्व रहेको बताए।

बंगलादेशका कलाकार मोहम्मद कौशिर हुसेनले आफु जन्मेको गाउँलाई सुन्दर ल्याण्डस्केपमा उतारे नोस्टाल्जिक भावको उनको ल्याण्डस्केपले सिंगो बंगलादेशको प्रतिनिधित्व गरेको थियो। ‘म जन्मेको बंगलादेशको यो गाउँ भुल्न सक्दिन,’ कला कोर्दै उनी बोले, ‘बंगलादेश यसैपनि सुन्दर छ। जलरङमा झन खुलेको छ।’ पोखरीको वरिपरी फैलिएको उनको गाउँको हरियाली र झुरुप्प रहेको बस्तीले बंगलादेशको वास्तविकता बोलिरहेको थियो। विदेशी कलाकारहरूले एकअर्को देशको कला संस्कृति बुझ्नेसँगै यहाँको विभिन्न स्थानको भ्रमण गर्ने अवसर महोत्सवले जुराएकोमा खुशी व्यक्त गरे।

नेपाली कलाकार केशवराज खनालले चन्द्रागिरीको हरियालीसँगै देखिएको काठमाडौं उपत्यकालाई ल्याण्डस्केपमा जलरङमार्फत सजाए। कलाकार डिराम पाल्पालीले बानियाँटारको सुन्दरतामा जलरङ मिसाएर विदेशीलाई देखाए। विनोदकमार गुप्ताले नेपाल मन्दिर नै मन्दिर भएको सहरको यथार्थलाई जलरङको कोणबाट चित्रमा पोखे। कलाकार डीबी राईले मुड्खु भञ्ज्याङको दृष्यचित्र कोरेर त्यही पुगेको भान सहभागीलाई गराए। उनका अनुसार भित्र बसेर बाहिरको चित्र बनाउँदा रङ सजावटका हिसाबले अब्बल हुन्छ। ‘तर त्यही काम कल्पना गर्दै कोर्दा रङको छुट्टै रौनक छाउँछ,’ उनले भने, ‘महोत्सवमा हामी त्यो चुनौती छल्दै केही सिकाउने र केही सिक्ने काम गरिरहेका छौं।’

कलाकार डीआर बरालले पछिल्लो समय जलरङ छाड्ने कलाकारको वृद्धिसँगै यसको लोकप्रियता कम हुँदै गएका बेला जलरङ समाजको सक्रियताले फेरि जलरङ विश्वमा जुर्मुराएको जनाए। नेपालका उनीलगायत विशवभरबाट संकलन भएका ३ सय बढी जलरङ चित्र यतिबेला राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शन भइरहेको छ।

यसैबीच महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कलाकारलाई उचित प्रस्ताव लिएर आउन आग्रह गरे। ‘विश्वका प्रख्यात कलाकार यस महोत्सवको अंग बनेका छन्। यसले सरकारलाई समेत हर्षित बनाएको छ,’ मन्त्री पोखरेलले भने, ‘पर्यटन वर्ष २०२० भित्र २० लाख पर्यटन भित्र्याउने लक्ष्यमा जलरङमा काम गर्ने कलाकारले सघाएको छ।’

नेपाल प्राकृतिक ढंगले नै चित्रमय देश भएकाले कला सिर्जनाको लागि उत्कृष्ट थलो बन्ने उनले बताए। नेपाली कला, नेपाली जनता,यहाँको समाज र सरकारकै लागि महत्वपूर्ण अंग रहेको भन्दै पोखरेलले नेपालको कला प्रवद्र्धनमा विदेशी कलाको भूमिका महत्वपूर्ण हुने औंल्याए।

नेकपाका नेता खगेन्द्र राईले विश्वको जुनसुुकै स्थानमा पुगेर नेपालको कलाकृति मौलाउन महोत्सवले अवसर प्रदान गर्ने दाबी गरे। जलरङ समाज नेपाल च्याप्टरका अध्यक्ष एनबी गुरुङले जलरङ एउटा सशक्त माध्यम हो भन्ने भाव जगाउने महोत्सवले प्रयत्न गर्दै पर्यटनसँग कलात्मक सम्बन्ध जोडेको बताए।

कार्यक्रममा जलरङ कोर्ने वरिष्ठ कलाकारद्वय श्यामलाल श्रेष्ठ र आलोक गुरुङलाई सम्मान गरिएको थियो। साथै जलरङलाई देशभर फैलाउन प्रादेशिक संरचनाको भूमिकासमेत कार्यक्रममा हस्तान्तरण गरिएको थियो। महोत्सव राजधानी र लुम्बिनीमा गरि आउँदो मंसिर २३ गतेसम्म चल्ने जनाइएको छ।

प्रकाशित: १८ मंसिर २०७५ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App