७ वैशाख २०८१ शुक्रबार
समाज

सीमा क्षेत्रमा बढ्दै तस्करी

ट्याक्टरमा तस्करीका सामान। तस्बिरः नागरिक

टीकापुर - कैलालीका विभिन्न नाकाबाट व्यापाक मात्रामा सामान तस्करी हुन थालेको छ। भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम बढेको हो। जसका कारण लाखौं राजश्व चुहावट भइरहेको छ।

खक्रौलामा मूल भन्सार कार्यालय स्थापनापछि तस्करी घट्ने विश्वास गरिएको थियो। तर तस्करीमा कुनै कमी आउन नसकेको भन्सार कार्यालयका प्रमुख वसन्त केसीले स्वीकार गरे। सरोकारवाला निकायले सहयोग नगरेका कारण तस्करी नियन्त्रण हुन नसकेको उनको आरोप छ।
‘व्यापारीलाई भन्सारमार्फत सामान ल्याउनुस्। म सहयोग गर्छु भन्दै आएको छु,’ उनले भने, ‘तर व्यापारीहरू मान्न तयार छैनन्।’

भन्सार कार्यालयसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट पनि छ। उसको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो। सोहीअनुरूप सशस्त्र प्रहरीले भन्सार कार्यालयलाई सहयोग गर्दै आएको पनि छ। सीमा सुरक्षा पोस्ट स्थापना भएको करिब एक महिना पुग्दैछ। यस अवधिमा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक भोजविक्रम शाहीले जानकारी दिए। तस्करीविरुद्ध कडाइ गर्दै लैजाने प्रयासमा आफूहरू रहेको उनले बताए।
तर यो अवधिमा तस्करीमा संलग्न व्यक्तिहरू भने पक्राउ परेका छैनन्। उनीहरू गोरुगाडा छोडेर भागेका कारण पक्राउ पर्न नसकेको भन्सार कार्यालयले जनाएको छ।

तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र भन्सार कर्मचारीले संयुक्त गस्ती गर्ने गरेका छन्। तर गस्तीबारे तस्करीमा संलग्नहरूले पहिल्यै सूचना पाउने गरेका कारण नियन्त्रण गर्न कठिन भएको छ। ‘जुन दिन हामी ढुकेर बस्छौं, त्यस दिन सामान नै ल्याउँदैनन्,’ भन्सार प्रमुख केसीले भने, ‘हाम्रा क्रियाकलापको सूचना उनीहरूसम्म पुग्ने गरेको महसुस भइरहेको छ।’

मुख्य गरी टीकापुरतर्फका खक्रौला, चौगुर्दी, अर्नवा, पुरानो भन्सार, कालाकुण्डा र भनजीतर्फका मरियाघाट, जसबहादुरघाट, कौवाखेडाघाट, गुलरीयाघाट, डक्टरघाटबाट व्यापक मात्रामा तस्करी हुने गरेका छन्। यी सबै नाकामा मोहना नदी पर्छ। तस्करहरूले डुंगामार्फत सामान नदी पार गराउने गरेको स्थानीय बासिन्दा बताउँछन्। सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू नै तस्करीमा बढी संलग्न हुने गरेका छन्। टीकापुर र भजनीतर्फका सबै व्यक्तिलाई भारतीय नागरिक मुकेश जैन र आशिष अग्रवालले सामान उपलब्ध गराउने गरेको स्रोतको आरोप छ।

स्रोतका अनुसार कपडा, हार्डवेयर लगायतका सामान भारतबाट तस्करी गरेर नेपाल ल्याउने गरिएको छ। यी सामान स्थानीय बजार टीकापुर, लम्की, बौनीयाँ, सुखड, जोशीपुर, भजनी, पहलवानपुर, सत्ती बजारमा पु-याउने गरिएको छ। यसरी तस्करी गरेबापत यसमा संलग्न व्यक्तिहरूले कुल लगानीको ८ देखि १५ प्रतिशतसम्म कमिसन लिने गरेका छन्। तस्करी गरेर ल्याइएका सामान मिनी ट्रक, ट्याक्टर, गोरुगाडामार्फत व्यापारीहरूकहाँ पु-याउने गरिएको छ।

प्रकाशित: १८ मंसिर २०७५ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App