८ वैशाख २०८१ शनिबार
समाज

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

काठमाडौं - तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेर अप्ठ्यारोमा परेकी एक महिलाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ। सोलुखुम्बु सोताङ गाउँपालिकाकी पार्वती बस्नेतलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएकी उनले उपचारपछि सोमबार साँझ नै बच्चा जन्माएकी छन्। गर्भको बच्चा ठूलो आकारको भएकाले सहज तरिकाले जन्म हुन नसकेको र त्यसका लागि भ्याकुम प्रविधिको सहयोग लिइएको पार्वतीका पति रमेश बस्नेतले बताए।

सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकी गएकी उनको तीन दिनसम्म पनि प्रसूति सम्भव नभएपछि घरआँगन संस्थाका अध्यक्ष दीपक सिलवालले उनको उद्धार गरेका हुन्। ‘डाक्टरले स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्माउन गाह्रो हुने बताएपछि गाउँलेको सहयोगमा हेलिकोप्टर गुहारेका हौं,’ पार्वतीका पति रमेशले भने। यातायातको सुविधा नभएकाले बस्नेतको घरदेखि जिल्ला सदरमुकाम पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ। सोही कारण पार्वतीको उपचारमा कठिनाइ आएको उनको भनाइ छ।

घरआँगन संस्थाका अध्यक्ष दीपक सिलवालले पार्वतीसहित पाँच गर्भवतीको उद्धार गरिसकेको बताए। पार्वतीको उद्धारअघि धादिङका दुई र सिन्धुपाल्चोकका दुई गर्भवतीको उद्धार गरिसकेको सिलवालले जानकारी दिए। सिलवालले गर्भवतीको उद्धार कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। गत असोजमा पत्रकार सम्मेलन गरी उनले गर्भवतीको उद्धार गर्ने कार्यक्रमबारे सार्वजनिक गरेका थिए। सात वर्षदेखि सामाजिक गतिविधिमा संलग्न सिलवालको ‘सुत्केरी बचाउ अभियान’ पछिल्लो चरणको कार्यक्रम हो। भौगोलिक विकटता रहेका स्थानमा उचित स्वास्थ्य सेवाको अभावमा गर्भवती तथा सुत्केरीको ज्यान गएका समाचारहरू सञ्चारमाध्यममा आइरहेपछि उक्त अभियान ल्याइएको अध्यक्ष सिलवालले बताए।

‘उपचार नपाएर गर्भवतीले ज्यान गुमाएको खबर पढ्दा दुःख लाग्थ्यो,’ उनले भने, ‘त्यसकारण नै गर्भवतीको उद्धार गर्ने सोच आएको हो।’ सोही सोचलाई व्यवहारमा उतार्न फरक उपाय खोजिरहेका उनले सहयोगका लागि सिम्रिक एयरसँग आग्रह गरेको उनले सुनाए। सिम्रिक एयरका प्रबन्ध निर्देशक पे्रम थापाले आफ्नो कार्यक्रम मन पराएपछि आफ्नो सोचले सार्थकता पाएको सिलवालको भनाइ छ। आफ्नो हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्च हेरी सिम्रिक एयरले १५ देखि २५ प्रतिशत छुट दिने र दीपकले पैसा जुटाएर बिस्तारै तिर्ने सम्झौता भएको जनाइएको छ। ‘विकट भौगोलिक स्थिति भएको ठाउँमा दीपककको उद्धार कार्यक्रम मन परेपछि केही सहयोग गरेको हुँ, स्थिति हेरेर अति विपन्न र संकटमा परेकाहरूलाई पुरै निःशुल्क सेवा दिने सोच पनि बनाउँदै छ,’ प्रबन्ध निर्देशक थापाले भने।

सिम्रिकबाट प्राप्त यही भरोसाकै कारण काम गर्न सजिलो भएको सिलवालको भनाइ छ। दीपकद्वारा उद्धार गरिएका पाँचमध्ये तीन गर्भवतीको हेलिकोप्टर खर्च तिर्न बाँकी छ। यसका लागि पनि उनले विभिन्न समाजसेवीसमक्ष आग्रह गर्दै आएका छन्। ‘पहिला डा. भोला रिजाल र कलाकार दीपाश्री निरौलाले सहयोग गर्नुभएको थियो, अब अरू अभियान चलाएर बाँकी पैसा तिर्छु,’ सिलवालले भने।

प्रकाशित: १८ मंसिर २०७५ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App