८ वैशाख २०८१ शनिबार
शिक्षा

आत्मविश्वास बढाउँदै बालिका शिक्षा

बालिका शिक्षा कक्षामा सहभागी बालिका। तस्बिर : भगवती/नागरिक

नुवाकोट - विदुर नगरपालिका–५ स्थित च्वाडी सामुदायिक माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने विपना अर्याल बोल्ने बानी बसाल्नुपर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेकी छन्। कक्षा ५ सम्म उनलाई शिक्षकले केही कुरा सोध्दा पनि मुटु काँपेर आउँथ्यो तर कक्षा ६ मा प्रवेश गरेसँगै बालिका शिक्षाका कक्षामा सहभागी हुन थालेपछि उनले आत्मविश्वासका साथ आफ्नो विचार राख्दै आएकी छन्। ‘आफूभन्दा ठूलो मान्छेसँग बोल्न अप्ठ्यारो लागेर आउँथ्यो। विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागी हुन पनि लाज लाग्थ्यो। अहिले त्यस्तो केही लाग्दैन,’ अर्यालले भनिन्, ‘बालिका शिक्षाले व्यावहारिक बन्न प्रेरित गरेको छ।’

बालिका शिक्षा पाठ्यक्रममा आधारित नभई बाहिरी वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्ने र जीवनोपयोगी हुँदा बालिका लाभान्वित भएका छन्। सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ, सबैसँग मिलेर बस्नुपर्छ, सरसफाइमा विशेष ध्यान दिनुपर्छ भन्ने जान्न र व्यवहारमा उतार्न बालिका शिक्षाले सहयोग गरेको सोही विद्यालयकी छात्रा एलिना कुमालले बताइन्। ‘२० वर्ष नपुगी विवाह गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जान्न पायौं। आफूमाथि कोहीकसैले गलत नजरले हे-यो भने सहेर बस्नुहुन्न, बोल्नुपर्छ र आफू सचेत हुनुपर्छ भन्नेजस्ता धेरै ज्ञान हामीले पाएका छौं,’ कुमालले भनिन्, ‘बालिका शिक्षाको कक्षा सञ्चालन भएदेखि विद्यालय नियमित आउन मन लाग्छ।’

च्वाडीमा बालिका शिक्षा यसै शैक्षिक सत्रमा सुरु भएको हो। यो शिक्षा कक्षा ६ मा पढ्ने बालिकालाई मात्र दिइन्छ। किशोरावस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तनलाई सहज रुपमा लिन पनि यो कक्षाले सहयोग गरेको शिक्षक सिर्जना दाहालले बताइन्। यो कक्षामा सहभागी बालिका सम्बन्धित विषयमा तर्कवितर्क राख्न सक्षम भएको, कुनै समस्या आए नआत्तिएर कसरी समाधान गर्ने भनेर सोच्न सक्ने भएको प्रधानाध्यापक टीकाराम खरेलले बताए। ‘बालिका शिक्षा कक्षा सञ्चालन हुँदा म पनि गइरहेको हुन्छु। बोल्दै नबोल्ने बालिका मज्जाले बोल्ने, आफ्नो अभिव्यक्ति राख्ने गरेको देख्छु,’ उनले भने, ‘विद्यालयमा कुनै अतिरिक्त क्रियाकलाप भयो भने कक्षा ६ का बालिकाको सहभागिता धेरै हुन्छ। विजेता पनि उनीहरु नै हुन्छन्। छोटो समयमा उनीहरुमा आएको यो परिवर्तनले पहिले नै यो शिक्षा किन लागू गरिएनछ भन्ने लागेको छ।’

बालिकालाई माध्यमिक शिक्षा पूरा गर्न सहयोग तथा जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले रुम टु रिडले च्वाडीसहित जिल्लाका १२ विद्यालयमा बालिका शिक्षा सञ्चालन गर्दै आएको छ। कक्षा ६ का २ सय ५२ जना बालिकालाई समेटेर १२ विद्यालयसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्दै आएको रुम टु रिडका जिल्ला कार्यक्रम संयोजक सुशील तिमिल्सिनाले बताए। ‘सानोसानो समस्या जीवनमा आए पनि बालिकाले विद्यालय छोडेको पाइन्छ। त्यस्तो अवस्था नआओस्, समस्यासँग भाग्न होइन, जुध्न प्रेरणा दिने लक्ष्यले बालिका शिक्षा सञ्चालन गरेका हौं,’ विद्यालय, अभिभावक र सिंगो समाजको साथ लिएर बालिकाको हितका लागि काम गरिरहेका छौं।’

प्रकाशित: १८ मंसिर २०७५ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App