७ वैशाख २०८१ शुक्रबार
समाज

हिरोइन सेवन गर्ने विषयमा विवाद हुँदा हत्या

धनगढी - धनगढी उपमहानगरपालिका– ४ का २८ वर्षीय आशिष सेठीले हिरोइनको डोज पूरा सेवन गर्न नदिएकाले विजय थापाको हत्या गरेको खुलासा भएको छ। लागूऔषध कारोबार मुद्दामा अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा छुटेका सेठीले २५ वर्षीय थापाको हत्या गरेको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार थापाको हत्या गरी नालीमा फाल्ने प्रयास गर्दै गर्दा सेठी पक्राउ परेका थिए।

गत कात्तिक ३० गते राति ८ बजेतिर धनगढी–४ का थापालाई धनगढी प्रदेश कार्यालय नजिकैको होटल कलश रहेको भवन पछाडिबाट रक्ताम्मे अवस्थामा सेठीले घिसार्दै लगिरहेका थिए। आवाज सुनेर घरभित्रबाट आएका ज्ञानेन्द्र चौधरी र दीपेन्द्र चौधरीले आशिष सेठीलाई समातेर प्रहरीलाई बुझाएका थिए। सेठी आर्थिक रूपमा सम्पन्न परिवारका भएकाले घटना साममसुम पार्ने गरी प्रहरीले अनुसन्धान गरिरहेको र प्रमाण नपुग्ने गरी मिसिल कमजोर बनाइराखेको आरोप पीडितले लगाउँदै आएका थिए। प्रहरीले सोमबार थापाको हत्या सेठीले गरेको भनेर सार्वजनिक गरेको छ। ‘विजय थापाको हत्या सेठीले गरेका हुन्’, प्रहरी नायब उपरीक्षक वलीले भने, ‘डोज पुग्ने गरी हिरोइन सेवन गर्न नदिएकाले हत्या गरेको सेठीले बयान दिएका छन्।’ उनले बयानमा हत्या गरेपछि मान्छेले थाहा नपाऊन् भनेर नालीमा फाल्न घिसार्दै लगिरहेको बताएको जानकारी उनले दिए।

लागूऔषध कारोबार मुद्दामा अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा छुटेका आशिष सेठीले २५ वर्षीय विजय थापाको हत्या गरेको प्रहरीले जनाएको छ।

यसरी भएको थियो घटना
विपन्न परिवारका विजय १० वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। उनी बेलाबेला घरमा आइराख्थे। एउटै वडा भएकाले सेठी र थापा साथी थिए। पाँच वर्षअघि थापाको बुबाको हृदयाघातबाट मृत्यु भएको थियो। घरमा आमा र पत्नी छोडेर विजय विदेश गएका थिए। दुबईबाट उनी गत असारमा घर आए।

सेठीले थापालाई घरमै आएर लागूऔषध सेवन गर्न लैजाने गरेको थापाकी आमा सीता बताउँछन्। ‘मेरो छोरालाई दुव्र्यसनीमा लगाउने त्यही सेठी हो’, उनले भनिन्, ‘छोराको हत्या हुनभन्दा चारपाँच दिनअघि मेरो छोरोलाई लागूऔषध सेवन गर्न नलैजा भन्दा मलाई समेत मारिदिन्छु भेनर धम्की दिएको थियो।’

कात्तिक ३० गते थापा र सेठी होटल कलशमा आए। होटल कलशमा सँगै बसे पनि सेठीले मदिरा सेवन गरेनन्। थापालाई मदिरा सेवन गर्न लगाए। मदिरा सेवन गरेपछि कलश होटल पछाडिपट्टि सिँढीको माथिल्लो भागमा दुवैजना बसेर हिरोइन सेवन गरे। थापासँग हिरोइन थियो। ‘तीनपटक मागेर सेवन गरिसकेको थिएँ। चौथो पटक माग्दा नदिएपछि मैले उसको टाउको समातेर सिँढीमा ठोक्काएर हत्या गरेको हुँ’, सेठीको बयान उधृत गर्दै डिएसपी वलीले भने।

थापाका आफन्तले भने सेठीले काठले टाउकोमा हानेर हत्या गरेको बताएका छन्। ‘मेरो छोराको टाउकाको पछाडि वारपार घाउ थियो। आँखामा र कानमा पनि रगत बगिरहेको थियो’, सीताले भनिन्, ‘मिसिल कमजोर बनाउन सिँढीमा ठोक्काएर हत्या गरेको भनिँदैछ, टाउकोमा काठले हानेर हत्या गरिएको हो।’ घटनास्थलमा काठको टुक्रा फेला परेको डिएसपी वलीले बताएका छन्। ‘घटनास्थलमा काठ फेला परेको छ, त्यसमा रगत लागेको थियो’, उनले भने, ‘अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालामा पठाएका छांै।’ पोस्टमार्टम रिपोर्टमा बोझिलो वस्तुले टाउकोमा हिर्काएर हत्या भएको उल्लेख छ।

थापाको परिवारको बिजोग
घरमा सीता र बुहारी मात्र छन्। परिवार विजयको आश्रयमा थियो। सीता गर्भवती छिन्। ‘हत्यारालाई पैसाको चलखेलमा जोगाउने खेल हुन्छ कि, निर्मलाको परिवारको जस्तै न्याय पाइँदैन कि भनेर हामीलाई पनि छटपटाहट भएको छ’, सीताले भनिन्, ‘मलाई न्याय दिलाउन सहयोग गरिदिन पत्रकार, मानवअधिकारकर्मी सबैमा अनुरोध गर्छु।’

यसअघि उनका आफन्त र स्थानीयले हत्याको घटना मोड्न चलखेल भइरहेको भन्दै मंसिर पहिलो साता धनगढीमा प्रदर्शन गरेका थिए। अस्थायी राजधानीको मुटुमा युवकको हत्या हुनु र हत्यारालाई आर्थिक प्रभावमा जोगाउने खेल भएमा दण्डहीनताले अपराध मौलाएर सबै असुरक्षित हुने स्थानीय युवक खेम मिश्र बताउँछन्।

नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीले थापाको हत्या आशिष सेठीले नै गरेको बताएका छन्। ‘आशिष सेठीले हत्या गरेको स्वीकारिसकेका छन्,’ उनले भने, ‘हत्या गर्ने सेठीलाई कर्तव्य ज्यानमा सजाय हुन्छ।’

प्रकाशित: १८ मंसिर २०७५ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App