coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सबै पदाधिकारी निर्वाचित गरौं

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी पदाधिकारीसहितका सबै सदस्यहरू महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था विधानमा राख्नुपर्नेमा जोड दिएका छन्। पार्टीको प्रस्तावित विधान मस्यौदामाथिको जारी छलफलका क्रममा सोमबारको छलफलमा सहभागी सदस्यहरूले पार्टीभित्र बृहत एकता कायम भए सभापतिसहित सिंगो कार्यसमिति महाधिवेशनबाट निर्वाचित गर्दा कुनै समस्या नआउने जिकिर गरेका हुन्। तर, गुट/उपगुटमा पार्टी विभाजित हुँदा महाधिवेशनबाट पदाधिकारी तथा सदस्यहरू निर्वाचित गर्दा समस्या आएको पनि सदस्यहरूको बुझाइ छ।

तत्कालीन सभापति कृष्णप्रसाद भट्टराइ३को महाधिवेशनका क्रममा केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था नराख्न आग्रह गरेको केन्द्रीय सदस्य शेखर कोइरालाले स्मरण गरे। ‘त्यसबेला तपाईं(शेरबहादुर देउवा र रामचन्द्र पौडेल)हरू युवा हुनुहुन्थ्यो सदस्य निर्वाचित गराैं भन्नुभयो,’ कोइरालाले भने, ‘अहिले युवाहरू सबै निर्वाचित गरौं भन्नेमा हुनुहुन्छ। तपार्इंहरू त्यसमा फर्कन खोज्दैहुनुहुन्छ।’

‘विधानमै व्यवस्था नभए पनि पहिला नेताहरूले विवेक पु-याएर महिला, दलित जनजाति, मधेसी समेट्नुहुन्थ्यो। अहिले नेताहरूबाट विवेक पु-याएको देखिँदैन, त्यसैले विधानमै व्यवस्था गर्नुपर्छ।’

पार्टी गुटउपगुटमा विभाजन भएकाले निर्वाचित गर्ने कुराले समस्या ल्याएको सुनाउँदै उनले भने, ‘हामी सबै एक भएर अघि बढ्ने हो भने जसले जिते पनि कांग्रेसले जित्ने हो। सबै निर्वाचित गर्दा पनि फरक पर्दैन।’

पार्टी पदाधिकारीको संख्यामा सहमति गरेर अघि बढ्न आग्रह गर्दै कोइरालाले प्रदेश, जिल्ला र क्षेत्रीय समितिलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए। महानगरदेखि स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार तल्लो तहलाई नै दिनुपर्ने भन्दै उनले भने, ‘संघीय क्षेत्रीय र प्रदेश क्षेत्रीय समितिको विधानमा रहेको दोहोरो व्यवस्थाले दुर्घटना हुन्छ। तयसलाई समायोजन गरे एकै प्रकारको बनाउनुपर्छ।’

पूर्वजिल्ला सभापति र पूर्वसांसदबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै कोइरालाले पार्टी सभापतिदेखिका सबै नेता तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे। तर केन्द्रीय सदस्य किरण यादवले पार्टीभित्रै अस्वस्थ प्रतिस्पर्धाले हावी हुँदै गएको भन्दै शीर्ष नेताहरू नै तल्लो तहमै पराजित भए त्यसको परिणम के हुन्छ भन्ने प्रश्न गरेकी छिन्। ‘हामी तल्लो तहबाट प्रतिस्पर्धा गरेर महाधिवेशनमा आउन अप्ठेरो होइन जाउँला,’ उनले भनिन्, ‘गुटगत लडाइँमा तपाईं शीर्ष नेता नै तलै पराजित हुनुभयो भने के होला भन्ने हाम्रो चिन्ता हो।’

केन्द्रीय सदस्य यादवले केन्द्रीय समितिको आकार बढेसँगै पदाधिकारीको संख्या पनि थपिनुपर्नेमा जोड दिइन्। पार्टी उपसभापति, महामन्त्रीको संख्या थप गर्नुपर्नेमा जोड दिंदै प्रदेश हेर्नेगरी सहमहामन्त्री बनाउनुपर्ने उनको प्रस्ताव छ। पार्टी पदाधिकरामा महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘विधानमै व्यवस्था नभए पनि पहिला नेताहरूले विवेक पु-याएर महिला, दलित जनजाति, मधेसी समेट्नुहुन्थ्यो। अहिले नेताहरूबाट विवेक पु-याएको देखिँदैन, त्यसैले विधानमै व्यवस्था गर्नुपर्छ।’

केन्द्रीय समितिमा मधेसको दलीत समुदायको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्नेमा जिकिर गर्दै अनुशासन, संसदीय र लेखा समिति महाधिवेशनबाटै निर्वाचित गर्नुपर्नेमा जोड दिइन्। केन्द्रीय सदस्य जीवन बहादुर शाहीले कर्णालीसहित पिछडिएको क्षेत्रलाई पनि पार्टी विधानमा विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइ। प्रतिनिधि र प्रदेश निर्वाचन क्षेत्रको फरक फरक क्षेत्रीय समिति रहने विधानको व्यवस्था व्यवहारीक नभएको जिकिर गर्दै त्यसलाई हटाउनु पर्नेमा जोड दिए।

कांग्रेस जनतामा आधारीत कि कार्यकर्तामा आधारीत पार्टी भन्नेमा अलमल देखिएको गुनासो गर्दै शाहीले भने, ‘ कांग्रेस कार्यकर्ताम आधारित पार्टी हुनसक्दैन। यसमा अलमल गर्नुको कुनै अर्थ छैन। पार्टी अघि बढाउने दूरदृष्टिसहित भविष्य हेरेर विधान बनाउ।’

बैठकमा केन्द्रीय सदस्यहरूले जनसंख्याको आधारमा पार्टीमा प्रतिनिधित्व गर्ने प्रस्तावित विधानको व्यवस्था ठिक नभएको बताएका छन्। बैठकमा बोल्नै सबै सदस्यहरूले पार्टी क्रियाशील सदस्य संख्याका आधारमा समानुपातिक समावेशी कोटा र्निधारण गर्नुपर्ने धारणा राखेका छन्।
‘देउवा सबै क्षेत्रमा असफल’

कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति शेरबहादुर देउवा नीति, संगठन निर्माणसहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएका छन्। १३औं महाधिवेशनबाट देउवा नेतृत्वमा पुगेपछि पार्टीको सबै मोर्चा कमजोर बनेको जिकिर गर्दै केसीले भने, ‘कांग्रेसलाई बलियो बनाउने हो भने पावरलाई केन्द्रीकृत होइन विकेन्द्रित गर्नुस्।’

सभापति र पार्टी वरिष्ठ नेता मिलेर मात्र अब कांग्रेस संगठन बलियो बन्न नसक्ने धारणा राख्दै तलैबाट संगठन निर्माणको अभियान थाल्नुपर्ने बताए। ‘तपाईहरू –(शरेबहादुर र रामचन्द्र नै स्वभाविक नेता हो तर दुई जना मिलेर मात्र अब पुग्दैन,’ उनले भने, ‘व्यक्ति व्यक्तिबीचको सहमतिले मात्र कांग्रेस बलिाय बन्दैन।’

निर्वाचनमा अन्तरघात गर्नेलाई किन कारबाही नगरेको भन्दै केसीले भने ,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मैदान उत्रिनेलाई कारबाही गर्नुको साटो तपार्इं (शेरबहादुर देउवा) आफैले केन्द्रीय सदस्य मनोनित गरेर विधानको धज्जी उडाइरहनुभएको छ। कसरी कारबाही कसलाई कारबाही गर्नुहुन्छ ?’ मैले गर्दा निर्वाचनमा पार्टी हारेको हो अब मबाट गल्ती हुँदैन भनेर सुधारको कार्याक्रम ल्याउन केसीले सभापति देउवालाई आग्रह गरे। बैठक मंगलबार पनि बस्नेछ।

प्रकाशित: १८ मंसिर २०७५ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App