coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पार्किङस्थल बनाउँदै नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज- नेपालगन्जमा ट्राफिक ब्यवस्थापनको समस्या समाधान गर्न व्यवस्थित पार्किङस्थल बनाउन थालिएको छ। उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर विभिन्न ५० स्थानमा पार्किङस्थल बनाउन थालेको हो। निःशुल्क पार्किङ स्थल बनाउन सोमबारबाट सडकमा मार्किङ सुरु गरिएको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए।

उपमहानगरपालिकाले नमुना स्वरुप विपी चोक क्षेत्रमा सडकको छेउमा मार्किङ गरेको उनले जनाए। ‘हामीले नमुनाको रुपमा अहिलेलाई एक/दुई ठाउँमा मार्किङ गरेर पार्किङको अभ्यास गराउँदैछौं, यसको रिजल्ट कस्तो देखिन्छ, त्यसपछि अरु ठाउँमा पनि मार्किङ गरेर पार्किङ स्थल तोक्नेछौं,’ राणाले भने। अबको १५ दिन भित्रमा सबै ठाउँमा मार्किङ गरेर पार्किङ ब्यवस्थित गरिने उनले बताए। ब्यवस्थित पार्किङ स्थल नहुँदा विगतमा ट्राफिक ब्यवस्थापनमा कठिनाई भएपनि अब धेरै सहज हुने राणाको विश्वास छ। सवारी साधन पार्किङ गर्ने निश्चित ठाउँ नहुँदा उपमहानगर क्षेत्रमा ट्राफिक ब्यवस्थापनमा कठिनाई हुने गरेको छ। सडकमा साना, ठूला सवारी साधन आफुखुसी चल्ने र पार्किङ हुने गरेका छन्।

उपमहानगरपालिकाले यसअघि राँझादेखी गणेशमान चोकसम्म तथा मालपोत कार्यालयदेखी बागेश्वरी मन्दिर सम्मको विभिन्न ५० स्थानमा पार्किङका लागि त्यतिबेला टेण्डर खोलेको थियो। उपमहानगरपालिकाले  पार्किङ शुल्क लिन खोजेको भन्दै चौतर्फी रुपमा विरोध भएपछि उक्त योजना बीचमै अलपत्र परेको थियो। उपमहानगरपालिकाले निःशुल्क रुपमा भएपनि पार्किङ स्थल तोकेर ट्राफिक ब्यवस्थापन गर्न अहिले ट्राफिक प्रहरीलाई जिम्मा दिएको छ। कुल ५० पार्किङ स्थलमा मार्किङ गर्न ठेकेदारलाई जिम्मा दिइएको उपमहानगरपालिकाले जनाएको छ। ट्राफिक प्रहरीसँगको समन्वयमा ठेकेदारले मार्किङ गर्ने जिम्मा दिइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रहरी नायव निरीक्षक भिम ओलीले सोमबार नमुनाको रुपमा विपी चोक क्षेत्रका केही स्थानमा मार्किङ गरिएको र क्रमिक रुपमा अन्य स्थानमा पनि मार्किङ गरिने बताए। ‘अरु ठाउँमा पनि क्रमशः मार्किङ गर्दै सवारी साधन पार्किङको कामलाई ब्यवस्थित गर्दै लैजान्छौं,’ उनले भने।

 

 

प्रकाशित: १७ मंसिर २०७५ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App