८ वैशाख २०८१ शनिबार
अर्थ

मन्त्री यादवको गुनासोः बजारमा सरकारको उपस्थिती भएन, कर्मचारीले टेर्दै टेरेनन्

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीले निर्देशन पालना नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

सोमवार खाद्य संस्थानको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले पटक पटक धान खरिदका लागि निर्देशन दिएपनि नटेरेको गुनासो गरे। ‘खाद्य संस्थानले टेर्दै टेर्दैन, जब मन्त्रीलाई नै टेर्दैन भने कसलाई टेर्छ होला?’ यादवले प्रश्न गरे, ‘यहाँका हाकिमलाई पटक पटक बोलाएर सोधे, जवाफमा सधै छैन भन्छ।’ 

सरकारले मूल्य तोकेर किसानबाट धान खरिद गर्न पटक पटक निर्देशन दिँदापनि खाद्य संस्थानले ढिलाई गरेपछि मन्त्री यादवले संस्थानको कार्यक्रममै असन्तुष्टि पोखेका हुन्। 

खाद्य संस्थान सक्रिय नहुँदा बजारमा सरकार नै नभएकोजस्तो अवस्था सिर्जना भएको भन्दै उनले थपे, ‘खाद्य संस्थानको काम धान/चामल किन्ने, सहयोगबाट खाद्य सामग्री प्राप्त गर्ने र कर्णालीका जनतासम्म पु¥याउने मात्र होइन। यसले बजारमा सरकार छैन भन्ने देखियो। अलि अलि अनुगमन त भएको छ। तर त्यो पर्याप्त छैन्। सरकार जुन रुपमा उपस्थित हुनुपर्ने हो, त्यो छैन्।’

यसको कारण व्यापारिक मानसिकता नै हो भन्दै मन्त्री यादवले कसरी नाफा कमाउने भन्ने मानसिकताले संस्थान माथि उठ्न नसकेको जिकिर गरे। ‘व्यापारमा सेवा पनि हुन्छ नी, यसको हद हुन्छ, सीमा हुन्छ’, उनले भने, ‘कानुनले दिएको कमाउनुपर्छ। तर हाम्रो नेपालमा छैन्। सबै व्यवस्थित हुनुप-यो। नियम कानुनभित्र नाफा हुनुप-यो न कि म्याद नाघेको समान बेचेर नाफा कमाउने। जनता, उपभोक्तालाई सचेत गराउनुप-यो, थाहा दिनुप-यो।’ 

तर खाद्य संस्थानमा कर्मकाण्डी काम मात्रै भइरहेको भन्दै यादवले यसले संस्थानका कर्मचारी कामप्रति प्रतिबद्ध छैन भन्ने देखाएको बताए। ‘सरकारको निर्णय कार्यान्वयन गर्न हिच्किचाउँछ। किसानले उचित मूल्य पाएका छैनन्। तल्लो वर्गको किसानले तुरुन्तै बेच्नुपर्ने हुन्छ। त्यो विक्री नगरी उनीहरुको नुनतेल चल्दैन’, उनले भने, ‘खाद्य संस्थानले ढिलाई गर्दा व्यापारीसँग न्यून मूल्यमा बेच्न बाध्य छन्।’ 

आफूहरुले किसानले उचित मूल्य पाओस, रोजिरोटी चलोस भनेर धान खरिदको निर्णय गरेको तर खाद्य संस्थानका हाकिमहरु पाइला पनि नचाल्ने भन्दै आक्रोश पोखे। ‘नमानेपछि मन्त्रीले नै घोक्र्याउनुपर्ने, अनि मात्रै काम गर्ने?’ उनले प्रश्न गरे। 

मन्त्री, कर्मचारी भएपछि आफूलाई जनताभन्दा ठूलो ठान्ने र जनतालाई भिख दिएजस्तो गर्ने चरित्रले संस्था कसरी उभो लाग्छ भन्ने प्रश्न गर्दै उनले भने, ‘हामी अब जनताको सेवक बन्नुपर्छ।’

डिजी निर्णय गर्न डराउने, काम नगर्ने प्रवृति गलत भएको भन्दै उनले सुनाए, ‘काम नगरेपछि तपाईलाई कुनै कारवाही हुँदैन किनकी गल्ती नै हुँदैन। तर काम नगर्नु पनि गल्ती हो।’

खाद्य संस्थानलाई भर्ती केन्द्र बनाइदिने र आवश्यकताभन्दा बढी कर्मचारी राख्ने प्रक्रिया गलत भएको भन्दै उनले देश बनाउन सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए। ‘संस्थानलाई कसरी जनताको पक्षमा उभ्याउने, बजारलाई व्यवस्थित गर्नमा कसरी मद्दत गर्न सकिन्छ यो कुरामा ध्यान दिनुप-यो’, मन्त्री यादवले जोड दिए। 

अब खाद्य संस्थानलाई सेवामुलक संस्थाको रुपमा विकास गर्नुपर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे।    

खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले सञ्चालक समितिले जोखिम लिन नचाहने र कर्मचारी परम्परागत ढंगबाट चल्दा संस्थानहरु धरासायी भएको बताए। उनले संस्थानहरुको पुनर्संरचनामा जोड दिए। खाद्य संस्थानलाई चालु आवको बजेटमा राष्ट्रिय आपूर्ति केन्द्रमा रुपान्तरण गर्ने र यसमा नेशनल ट्रेडिङ लिमिटेडलाई मर्ज गर्ने गरी अघि बढाइएको भन्दै अन्य संस्थानहरुमा पनि पुनर्संरचनाको आवश्यकता औल्याए। 

उनले धेरै ठाउँमा यातायात पुगेको र निजी व्यापारिक संस्था पुगेको भन्दै अब सुगमतिर भएका डिपोहरुलाई दुर्गममा सार्नुपर्ने बताए। ‘व्यवसायिक संस्था बन्न मोडालिटी, कार्यशैली परिवर्तनको आवश्यकता छ’, उनले भने। 

उनले संस्थानले बल्ल धान खरिद सुरु गरेको जानकारी समेत दिए। ‘एक हप्ता भयो। ५/६ हजार क्वीन्टल खरिद गरिएको छ। अहिलेसम्म ३५/३६ खरिद गरिसक्नुपर्ने हो। विचौलियाको हातमा परिसक्यो। भारतमा धान किलोको ५ रुपैयाँ बढी छ।’

कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष भेषनाथ न्यौपाने, आधिकारिक ट्रेड युनियनका अध्यक्ष माधव अर्यालले तत्काल नयाँ महाप्रबन्धक र सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्न मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए।  

प्रकाशित: १७ मंसिर २०७५ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App