coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हुलाकको राजस्व घट्दो

काठमाडौं - विज्ञान प्रविधिको विकाससँगै धरै कुरा ओझेलमा परे। त्यही मध्येको एक हो हुलाक। विगतमा सञ्चारको भरपर्दो माध्यम मानिने हुलाक सञ्चार प्रविधिको विकाससँगै ओझेलमा प-यो। कुनै बेला बिहान १० बजेदेखि बेलुकासम्म भीडभाड हुने काठमाडौं गोश्वारा हुलाक अचेल सुनसान देखिन्छ।

हुलाकमा चिठी आदानप्रदान घटे पनि इएमएस र पार्सलबाट दिइने सेवा भने यथास्थितिमै रहेको गोश्वारा हुलाक कार्यालयले जनाएको छ। ‘अमेरिका, जापान, बेलायतलगायत विकसित मुलुकमा भने हुलाकको प्रयोग अरु सञ्चार प्रविधि सरह नै प्रयोगमा रहेको छ,’ काठमाडौं उपत्यका हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी भन्छन्, ‘हुलाक सेवा पूर्ण रुपमा परिचालन नभएको होइन तर सूचना प्रविधिका अरु माध्यम प्रभावकारी हुँदा हुलाकको उपयोगमा कमी आएको हो।’

२०७३÷७४ को तथ्यांकअनुसार काठमाडौंको सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयमा एक लाख १५ हजार आठ सय ४४ चिठी दर्ता भएका थिए। उ चिठीको कूल तौल १६ हजार ८१ केजी रहेको छ। दर्ता भएका चिठीबाट एक करोड ६५ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको गोश्वारा हुलाक कार्यालयले जनाएको छ।

विगत चार वर्षको तथ्यांकअनुसार हुलाकमा चिठीको कारोबारमा कमी आएको देखिन्छ। हुलाकको वार्षिक आम्दानी करिब ४५ देखि ५० करोड छ जबकी खर्च तीन अर्बभन्दा बढी छ।

त्यस्तै ०७४/७५ को तथ्यांकअनुसार गोश्वारा हुलाक कार्यालयमा जम्मा ८८ हजार तीन सय ९७ वटा चिठी दर्ता भएकामा कूल तौल १५ हजार तीन सय केजी रहेको थियो। दर्ता भएका चिठीबाट एक करोड २९ लाख एक हजार रुपैयाँ राजस्व संकलन भएको थियो। विगत चार वर्षको तथ्यांकअनुसार हुलाकमा चिठीको कारोबारमा कमी आएको देखिन्छ।

नेपालमा हुलाकका चारवटा क्षेत्रीय कार्यालय, ७० वटा जिल्ला हुलाक कार्यालय र करिब आठ सय २४ वटा इलाका हुलाक कार्यालय रहेको केन्द्रीय हुलाक कार्यालयले जनाएको छ। नेपालमा तीन हजार नौ सय ९५ हुलाक कार्यालय छन्। हुलाकमा सात हजार स्थायी र १० हजार आठ सय ५३ जना अस्थायी कर्मचारी कार्यरत छन्।

केन्द्रीय हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मीका अनुसार हुलाकको वार्षिक आम्दानी करिब ४५ देखि ५० करोड छ जबकी खर्च तीन अर्बभन्दा बढी छ। खर्चको झन्डै ८१ प्रतिशत रकम कर्मचारीको तलब भत्तामा नै जाने गरेको रेग्मी बताउँछन्।

पर्याप्त जनशक्ति र स्रोत साधनको अभावका कारण एक ठाउँबाट पठाएको चिठी अर्को ठाउँमा पुग्न बढी समय लाग्ने रेग्मीले बताए। यसलाई छिटोछरितो बनाउन सञ्चार मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर प्रभावकारी रुपमा अगाडि बढाइने काम भइरहेको उनले जानकारी दिए। अबको केही महिनामा सेवाग्राहीले महसुस हुने गरी काम भइरहेको समेत उनको भनाइ छ।

नेपालबाट ‐इएमएस) दु्रत डाँक सेवामार्फत जम्मा ३९ वटा देशमा सञ्चालन छ भने हुलाकमार्फत विश्वका प्रायः सबै मुलुकमा चिठी पठाउन सकिन्छ।

कुनै पनि आन्तरिक तथा बाह्य चिठी पठाउनु परेमा त्यसको दूरी र तौलअनुसार मूल्य निर्धारण गरिएको केन्द्रीय हुलाक कार्यालयले जनाएको छ। हुलाक सेवा कम खर्चिलो र विश्वसनीय हुने हुँदा नेपालमा यो सेवालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने देखिन्छ।

गत आर्थिक वर्ष ०७४/७५ मा ‐इएमएस) दु्रत डाँक सेवामा आन्तरिकतर्फ सात हजार एक सय ४० चिठी भित्रिएको र १६ हजार एक सय ११ चिठी नेपालबाट अन्य मुलुकमा गएको थियो। चालू आर्थिक वर्षको साढे तीन महिनामा दु्रत डाँक सेवाबाट १३ हजार चार सय ५३ चिठी नेपाल भित्रिएको छ।

नेपालमा हुलाक सेवा विस १९३५ मा स्थापना भएको हो। यो सेवा पृथ्वीनारायण शाहको पालामा थाप्ले हुलाक अथवा कागजे हुलाकको नाममा स्थापना भएको थियो। प्रथम पञ्चवर्षीय योजनाको प्रारम्भसँगै नेपालमा योजनावद्ध विकास भएपछि क्रमिक रुपमा नेपालभर विस्तार भएको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App