coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज र भोलि

काठमाडौं - नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आज (सोमबार ) काठमाडौंमा सुरु हुँदैछ। बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको पहिलो बैठक बस्न लागेको हो।  

बैठक सोमबार र मंगलबार दुई दिन चल्नेछ। ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार नेपाल–बंगलादेशबीचको ज्वाइन्ट इनर्जी स्टेरिङ कमिटीको बैठक सोमबार र मंगलबार बस्ने तय भएको हो।

बैठकमा भाग लिन बंगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका छन्।  

नेपाली टोलीको नेतृत्व ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले गर्दैछन्। त्यसैगरी, सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकसमेत तय भएको छ। उक्त बैठकमा नेपाली टोलीको नेतृत्व सहसचिव दिनेश घिमिरेले गर्नेछन् भने बंगलादेशका तर्फबाट पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले टोलीको गर्नेछन्।  

बैठकमा क्रसबोर्डर इन्टरकनेक्सन सम्बन्धी छलफल हुनुका साथै विद्युत् व्यापारबारे समेत दुवै पक्षबीच वार्ता हुनेछ। त्यसैगरी, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोग, नेपालको जलविद्युत्मा बंगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट पाँच सय मेगावाट बिजुली बंगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ।

ऊर्जामन्त्री पुनले गत सेप्टेम्बरमा गरेको बंगलादेश भ्रमणका बेला पनि दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो। मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए।

पुन ऊर्जामन्त्री भएपछि नै बंगलादेशसँग ऊर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। काठमाडौंमा भएको उक्त समझदारीमा बंगलादेशका तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए।

ऊर्जामन्त्री पुनले नेपालको जलविद्युत् बंगलादेशलाई बेच्ने वातावरण आफूले बनाउने दाबी गर्दै आएका छन्। उनले नेपालमा उत्पादित बिजुली खपतका लागि आन्तरिक बजार बनाउनुका साथै क्षेत्रीय बजार निर्माणका लागिसमेत पहल गरिरहेका छन्। मन्त्री पुनकै पहलमा चीन र बंगलादेशसँग ऊर्जा सहकार्यमा हस्ताक्षर भएको थियो।

प्रकाशित: १७ मंसिर २०७५ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App