८ वैशाख २०८१ शनिबार
अन्य

डा. कमलप्रकाश मल्लको श्रद्धाञ्जली सभा

भाषाविद् तथा इतिहासकार डा. कमलप्रकाश मल्लको श्रद्धाञ्जली सभा मनाइएको छ। काठमाडौंमा शनिबार आयोजित सभामा वरिष्ठ पत्रकार कणकमणि दीक्षितले डा. मल्लको आयामिक व्यक्तित्वको चर्चा गर्दै भने, ‘हामीले डा. मल्लको उपस्थिति झन्डै २० वर्ष गुमायौं। मलाई लाग्छ– यो २० वर्षमा उहाँले हामीले कति कुराहरू बताउन सक्नुहुन्थ्यो होला ? अब त्यो क्षति कसरी पुर्ने होला भन्ने लागिरहेको छ।’

अंग्रेजी भाषाका प्रखर विद्वान् त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष डा. मल्लको निधन दुई साताअघि अमेरिकाको एटलान्टामा भएको थियो। उनको विद्वताबारे प्रकाश पार्दै पत्रकार दीक्षितले भने, ‘७०को दशकमा कमलप्रकाश मल्लको लेखले युवा पुस्ताका लागि संसार खोलिदिएको थियो। उहाँकाकृति, लेखहरू पढ्दा हामीलाई एउटा झ्यालबाट बौद्धिकताको चमक भएको कोठाभित्र चियाइरहेको जस्तो हुन्थ्यो।’

राज्यको बेवास्ताका कारण राज्यलाई आफूले दिन सक्ने योगदान तथा सेवा दिन नसकेकोमा पीडा महसुस भइरहेको उनले बताए। उनले भने, ‘उहाँ आफूलाई एक्लो महसुस गर्नुहुन्थ्यो। बौद्धिक वृत्तमा समेत उहाँ आफूलाई निरन्तर एक्लो महसुस गर्नुहुन्थ्यो।’

नेपालमा समावेशिता भन्ने शब्दसमेत नआएको बेला डा. मल्लले २० वर्ष अगाडि नै समावेशिताका कुरा उठाएको उनले बताए। उनले भने, ‘उहाँको परापूर्वकालदेखिको इतिहास र आधुनिक इतिहासलाई समायोजन गरेर भविष्यतर्फ हेर्ने उहाँको जुन क्षमता छ, त्यो क्षमताले नेपालबारेके बताइरहेको थियो होला, त्यो हामी सुन्न पाएनौं।’

कार्यक्रममा बोल्दै वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले ‘नेपालको इतिहास संशोधकहरूको उत्थान र पतन’ भन्ने पुस्तक नै लेखी नेपालका सबै इतिहासकारहरूलाई खिसी गर्दै आइरहेको इतिहास संशोधन मण्डलविरुद्ध एटम बम नै फोडेको स्मरण गर्दै भने, ‘उनी एक निर्भीक इमानदार इतिहासकार थिए। संशोधन मण्डलले गरेका एकएक गल्तीलाई उनले निर्भकरूपमा प्रस्तुत गरे।’

शताब्दीपुरुष जोशीले डा. मल्लको सम्पादनमा प्रकाशन भएको शब्दकोश ‘क्लासिकल डिक्सनरी अफ नेवार’ ले नेपाल भाषालाई अन्तर्राष्ट्रिय समुदायमा पु-याउन महत्वपूर्ण योगदान गरेको बताए। यो शब्दकोषमा ५०० वर्ष  अघिको ताडपत्रमा लेखिएको नेपालभाषाका शब्दहरु पनि कहाँ कसरी प्रयोग गरिएको छ भन्नेब्याख्या रहेको उनले बताए।

त्यस्तै, भाषा नेपाल लिंग्विस्टिक सोसाइटीका अध्यक्ष भीमनारायण रेग्मीले डा. मल्लले नै सोसाइटीको स्थापना गरेको स्मरण गर्दै उहाँमा बौद्धिक तथा प्राज्ञिक इमानदारी पनि त्यतिकै रहेको स्मरण गरे। भारतको पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम र बेलायतको लिड्स विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा बिए अनर्स गरेको उनले बेलायतको एडनबरा विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरेका थिए। पछिल्लो समय जर्जियाको इमोरी विश्वविद्यालयअन्तर्गत तिब्बती–बर्मेली भाषाको शब्दकोशनिर्माणमा संलग्न भई योगदान गरेका उनको अंग्रेजी तथा नेपालभाषामा दुई दर्जनभन्दा बढी शोधकृतिहरू प्रकाशन भएको छन्। पछिल्लो समय उनले लखेका वभिन्न लेख संगालिएको ‘फर्म लिट्रेचर टु कल्चर’ नामक अंग्रेजी पुस्तक प्रकाशनमा आएको थियो। उनले इतिहासकार धनबज्र बज्राचार्यसँग मिलेर गोपलराजवंशावलीको व्याख्या तथा अंग्रेजी रूपान्तरण गरिएको पुस्तक प्रकाशनमा ल्याएका थिए।निर्दलीय पञ्चायतकालमा तत्कालीन व्यवस्थाको आलोचनात्मक टिप्पणी गरिएको उनको ‘काठमाडौं योर काठमाडौं’ं अत्यन्त चर्चित लेखनमध्ये एक हो।विद्यार्थीकालमै विद्यार्थी साहित्य मण्डल जस्तो संस्था गठन गरेर युवाहरूमा साहित्य सिर्जनातर्फ प्रेरित गरेका उनी ‘च्वसापासा’का पूर्व अध्यक्ष तथा आशा सफूकुथिका पूर्वकोषाध्यक्ष पनि हुन्। उनको सम्झनामा च्वसापासा, आशा सफूकुथि लगायत पाँच संस्थाले संयुक्तरूपमा श्रद्धाञ्जली सभा गरेको थियो।

प्रकाशित: १७ मंसिर २०७५ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App