coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बल्न छाडे सडकका सोलार बत्ती

काठमाडौंको चावहिल चोकमा राखिएको धुलाम्मे सोलार प्लेट। तस्बिर : श्याम राई

उपत्यकाका सडकमा राखिएका अधिकांश सोलर बत्तीहरू बल्दैनन्। बलेका बत्ती पनि धमिला देखिन्छन्। त्यसको कारण हो– नियमित मर्मतसम्भार नगरिनु।

मर्मतसम्भार नगर्दा सोलार प्यानलमा धुलोले भरिएको छ। जसले गर्दा शौर्य शक्ति सञ्चित गर्न नसकेर सडकका सोलार बत्ती बल्न छाडेका हुन्।

उपत्यकाका विभिन्न ठाउँमा काठमाडौ महानगरपालिकाले ७० वटा र महानगरको नीजि सार्वजनिक साझेदारी अन्र्तगत विके ट्रेडर्स कम्पनीले महानगरभित्रमा एक हजार ४८ वटा सोलार बत्ती सडकमा राखेको छ।

सोलार बत्ती जडान गरिएका पोलमा विज्ञापन राखेर करोडौं आम्दानी गर्ने महानगर र निजी कम्पनीले त्यसको मर्मतसम्भारमा ध्यान दिएका छैनन्। ‘सोलार बत्ती राखियो, शुरुमा सडक झिलिमिली पनि भयो,’ त्रिपुरेश्वरका स्थानीय विनोदप्रसाद श्रेष्ठले भने, ‘अहिले नियमित रुपमा त्यसको मर्मत गरिएको छैन्। जसले गर्दा कतिपय सोलार बत्ती बल्दैनन् भने बलेका पनि मधुरो देखिन्छन्।’

विज्ञापन राखेर आम्दानी गर्ने उद्देश्यले राखिएका सोलार बत्ती मर्मत सम्भारमा भने ध्यान नदिएको उनको आरोप छ। सोलार बत्तीको मर्मतसम्भारमा कुनै निकायले पहल गरेको छैन। सोलार बत्ती मर्मत नहुँदा बेलुकाको समयमा हिँड्डुल गर्न असहज भएपछि सर्वसाधारण समेत चिन्तित बनेका छन्।

श्रेष्ठका अनुसार वर्षायाममा पानी पर्दा आकाशे पानीले सोलारको प्यानल सफा हुन्थ्यो। तर, हिउँदमा भने धुलो थपिएर प्यानल नै नेदेखिने भइरहेको छ। सोलारको प्लेट सफा नहुँदा बत्ती बल्न छाडेका उनले बताए। बत्ती नबल्दा सर्वसाधारणलाई सास्ती भएको छ। श्रेष्ठको घर अगाडि सोलर बत्ती नबलेको त एउटा उदाहरण मात्रै हो।

गत सोमबार बलुका नागरिककर्मीले त्रिपुरेश्वर चोकदेखी, थापाथली, माइतीघर, भद्रकाली र भृकुटीमण्डपसम्म अनुगमन गर्दा ३३ सोलार बत्ती बलेका थिएन्। त्यतिखेर कुनै बत्ति मधुरा बल्दै गरेको र कुनै झिमझिम गरिरहेको पाइएको थियो। चोक–चोकमा राखिएका सांकेतिक बत्ती समेत बलेका थिएनन्। बत्ती नबल्नुको अर्काे कारण हो– ब्याट्री मर्मत नहुनु।

सोलार राखिएपछि बेलाबेलामा प्लेट सफा गर्नुका साथै ब्याट्रीमा एसिड पानी हाल्नुपर्छ। तब ब्याट्री चार्ज भई बत्ती बल्ने गर्छ।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकासका  सिभिल इन्जिनियर अनिल श्रेष्ठले भने सोलरको प्लेट सफा गर्ने र ब्याट्री मर्मतमा महानगरको कुनै पनि दायित्व नरहेको बताए। ‘जो कम्पनीले सडकको पोलमा सोलार राखेको छ उसैले सफा र बिगे्रमा मर्मत गर्नुपर्छ,’ उनले भने ‘महानगरले राखेको सोलार मात्रै हामीले मर्मत गर्नुपर्छ।’ उनका अनुसार लाजिम्पाटदेखि केशरमहल चोकसम्ममा करिब ७० वटा सोलर बत्ती महानगरले हालेको छ। उक्त कम्पनीले पोल सोलार १० वर्षका लागि मात्रै राख्न दिएको छ।

महानगरले हालेको सोलार बत्ती पनि बलेका छैनन्। यसमा महानगरले मर्मत नगरेको उनी स्वीकार्छन्। नबलेका सोलर बत्तीमा छिट्टै मर्मत र सोलारको प्लेट सफा गरिने श्रेष्ठले बताए। अरु कम्पनीले हालेका सोलारमा पनि मर्मतको लागि केही पहल गरिदिने उनी बताउँछन्।

बिके ट्रेडर्स कम्पनीका सञ्चालक दिपेश चेपाङले बिग्रेका सबै सोलार बत्तीहरू मर्मत गरिरहेको बताए। ‘त्रिपुरेश्वर, थापाथली चोकको पनि अहिले मर्मत गरिसकेका छौँ। अन्य ठाउँको पनि मर्मत गर्नेछाैं,’ उनले भने।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार बिके ट्रेडर्स कम्पनीले महानगरका एक हजार ४८ पोलमा सोलार बत्ती राखेको छ। पोलमा राखिएको सबै विज्ञापनबाट उक्त कम्पनीले वार्षिक २४ हजार महानगरलाई राजश्व बुझाउनु पर्छ।

प्रकाशित: १७ मंसिर २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App