८ वैशाख २०८१ शनिबार
विचार

‘जिन एडिट’बाट पहिलो बच्चा

हाल विश्वव्यापी नै विज्ञानका अनुसन्धान निश्चित अर्थात् मानव स्वास्थ्य सुधारका दिशामा केन्द्रित छ। यसै सन्दर्भमा गत साता चिनियाँ वैज्ञानिकको अनुसन्धानले विश्वलाई तरंगित बनाएको छ। चीनका ३४ वर्षीय वैज्ञानिक ‘हे जिआनकुई’ले संसारलाई चकित बनाउँदै पहिलो पटक मानव भ्रूणमा ‘जेनेटिक इन्जिनेरिङ’ विधि प्रयोग गरी दुई जुम्ल्याहा बच्चा जन्माएको दाबी गरेका छन्। अमेरिकाको ‘राइस युनिभर्सिटी’बाट सन् २०१२ मा भौतिकशास्त्रमा पीएचडी गरेका ‘जिआनकुई’ले ‘जेनोम सिक्वइन्सिस’ विषयमा अमेरिकाको ‘स्टेनफोर्ड युनिभर्सिटी’मा पोष्टडक अनुसन्धान गरेका थिए। चीनले विदेशमा उच्च शिक्षा हासिल गरेका क्षमतावान् आफ्ना नागरिकलाई देशमा फर्काएर विज्ञानका अनुसन्धानमा लगाउने नीति लिएको छ। र, त्यसै कार्यक्रमलाई पछाउँदै उनी केही वर्ष अगाडि स्वदेश फर्केका थिए।

चीनको ‘सदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’मा सहप्राध्यापकका रूपमा कार्यरत ‘जिआनकुई’ले भविष्यमा ‘एचआईभी’ लाग्न नसक्ने गरी दुई जुम्ल्याहा बालिकाहरू ‘लुलु र नाना’को ‘जिन सम्पादन (एडिट) गरेका थिए। तर यो अनुसन्धान रिपोर्ट विश्वका अन्य वैज्ञानिकबाट मूल्यांकन र परीक्षण (रिभ्यु) हुन बाँकी छ। यस अनुसन्धानमा ‘एचआइभी’ संक्रमण भएका पिता र नभएका आमाबाट पैदा भएको भ्रूणमा ‘क्रिस्पर क्यास ९’ विधि प्रयोग गरेर ‘सिसिआर ५’ नामक जिन सम्पादन गरिएको थियो। किनकि मानव क्रोमोजोममा पाइने ‘सिसिआर ५’ जिन म्युटेसन भएपछि मानिसमा एचआइभी प्रतिरोधात्मक क्षमता पैदा हुने विश्वास गरिएको छ। त्यसैले ‘जिआनकुई’को अनुसन्धान मानव भ्रूणमा ‘सिसिआर ५’ जिन निष्क्रिय बनाउन केन्द्रित थियो। ‘इनभिट्रो फर्टिलाइजेसन’ प्रविधिबाट पैदा गरिएका ती जुम्ल्याहा बालिकाको भ्रूणमा ‘सिसिआर ५’ जिनको डिएनए परिवर्तन गरिएकाले भविष्यमा ती बालिकाहरूमा ‘एचआइभी’ संक्रमण नहुने दाबी अनुसन्धानरत वैज्ञानिकले गरेका छन्।

छिमेकी चीन द्रुत गतिमा दौडिँदा हामी चाहिँ बामे पनि सर्न सकेका छैनौँ।

यी चिनियाँ वैज्ञानिकले शुक्रकीट र डिम्बको फर्टिलाइजेसन भएपछि ‘क्रिस्पर क्यास ९’ (बायोलोजिकल मेसिन) भ्रूणमा पठाएका थिए। वैज्ञानिक ‘जिआनकुई’का अनुसार भ्रूणमा ‘क्रिस्पर क्यास ९’ पठाएको ३ देखि ५ दिनपछि जिन सम्पादन (एडिट) भएको नभएको परीक्षण गरिएको थियो। परीक्षण गरिएका २२ भ्रूणमध्ये १६ वटामा जिन सम्पादन भएको थियो। उक्त अनुसन्धानका अनुसार एक जोडी जुम्ल्याहामा दुवै कपी ‘सिसिआर ५’ जिन सम्पादित भएको थियो। तर अरू जुम्ल्याहामा भने एक कपी मात्र ‘सिसिआर ५’ जिन सम्पादित भएको थियो। एचआइभी प्रतिरोधक क्षमता विकास हुन दुवै कपी जिन सम्पादित हुनुपर्ने वैज्ञानिक ‘जिआनकुई’ले बताएका छन्। तर अन्य वैज्ञानिकले गरेका शोधका अनुसार ‘सिसिआर ५’ म्युटेसन भए पनि ‘एचआईभी’ बाहेकका अन्य भाइरसको संक्रमण मानिसमा हुन सक्ने खतरा भने कायमै रहन्छ। ‘जिआनकुई’को विस्तृत शोध विवरण जर्नलमार्फत विश्व समुदायमा आउन बाँकी छ।

गत वर्ष वैज्ञानिकहरूले ‘मानव भ्रूण’मा अनुसन्धान गरी वंशाणुगत मुटु रोग लाग्नुको कारक ‘‘एमवाइबिपिसी३’ नामक जिनमा देखिएको जेनेटिक म्युटेसनलाई परिवर्तन गरेर त्यसलाई नेचुरल अवस्थामा (रोग नलाग्ने अवस्थामा) फर्काउन सफल भएका थिए। केही वर्ष अगाडिदेखि निकै चर्चामा रहेको ‘जिन एडिट’ अर्थात् ‘क्रिस्पर क्यास’ विधिलाई पश्चिमा मुलुकमा क्यान्सर उपचारसँग सम्बन्धित अनुसन्धानमा बढी केन्द्रित गरेको पाइन्छ।

तर यस प्रकार मानव भ्रूणमा आधारित अनुसन्धानको दायरा विश्वमा फराकिलो हुँदै गएमा त्यसबाट भविष्यमा नयाँ मानव विकास हुन सक्ने र त्यसले हालको प्राकृतिक नियमलाई चुनौती दिने भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। चीन सरकारले ‘हे जिआनकुई’ को अनुसन्धानलाई कानुन विपरीत भन्दै प्रतिबन्ध गरेको समाचार पनि छापाहरूमा आएको छ।

‘क्यास ९’ भनेको डिएनएलाई कैँची जसरी काट्ने प्रोटिन हो। र, यस प्रोटिनले भ्रूणमा भएको अन्य जिन पनि काटेको वा सम्पादन गरेको हुन सक्ने सम्भावनालाई पुष्टि गर्न दशकौँ लामो थप अनुसन्धान आवश्यक पर्छ।

स्मरण रहोस्, वैज्ञानिकहरूले जैविक चिजमा ‘जेनेटिक इन्जिनेरिङ’ गर्न विगत १ दशकदेखि ‘क्रिस्पर क्यास ९’ प्रयोग गर्दै आएका छन्। यो ‘बायोलोजिकल मेसिन’को विकास वैज्ञानिकहरूले ९० कै दशकमा गरेका हुन्। क्यास ९’ भनेको डिएनएलाई कैँची जसरी काट्ने प्रोटिन हो। र, यस प्रोटिनले भ्रूणमा भएको अन्य जिन पनि काटेको वा सम्पादन गरेको हुन सक्ने सम्भावनालाई पुष्टि गर्न दशकौँ लामो थप अनुसन्धान आवश्यक पर्छ। वैज्ञानिकका अनुसार यसरी भ्रूणमा जिन परिवर्तन गरी जन्माएको बच्चामा भविष्यमा जेनेटिक वा अन्य शारीरिक परिवर्तन देखिन सक्ने शंका गरेका छन् जसलाई नकार्न सकिँदैन। त्यसैले यस अर्थमा भ्रूणमा गरिने ‘जेनेटिक इन्जिनेरिङ’ वा जिन सम्पादन विधि अझै पनि विज्ञान जगत्मा सार्थक र सफल मान्न सकिँदैन।

नेपाली सन्दर्भ
छिमेकी मुलुकमा भएको विश्वस्तरको अनुसन्धानले नेपाली प्राज्ञिक क्षेत्रमा पनि केही प्रश्न जन्माएको छ। पहिलो त हाम्रा विश्वविद्यालयहरूमा हुने अनुसन्धानको स्तर के छ ? छिमेकी चीन यसरी द्रुत गतिमा विज्ञानका क्षेत्रमा दौडिँदा हामी चाहिँ बामे पनि सर्न सकेका छैनौँ। र, यसो हुनुमा सरकारले विश्वविद्यालयमा हुने विज्ञानका अनुसन्धानमा गरेको लगानी ज्यादै न्यून हुनु प्रमुख कारण हो। हुन त नेपालमा अनुसन्धानका क्षेत्रमा आर्थिक अनुदान दिने संस्था करिब १७ पुगिसके तर अनुदान रकम अत्यन्त कम अर्थात् कनिका छरे जसरी वितरण हुने गरेको पाइन्छ। गत वर्ष विश्वविद्यालय अनुदान आयोगले ७ करोड र नेपाल राष्ट्रिय कृषि अनुसन्धान कोषले ८ करोड अनुसन्धान शीर्षकमा खर्च गरेको अनुमान छ। अमेरिका लगायत विकसित देशका विश्वविद्यालयहरूमा कुल खर्चको करिब १६ प्रतिशत रकम अनुसन्धानमा खर्च गरेको पाइन्छ। तर नेपालमा अनुसन्धानमा उच्च शिक्षाको कुल बजेटको एक दशमलव तीन प्रतिशत मात्र खर्च गरेको भेटिन्छ। र, त्यसमा पनि विज्ञानका अनुसन्धानमा जाने बजेट एक प्रतिशतभन्दा पनि कम हुने अनुमान छ।  त्यसैले नेपालका विश्वविद्यालयहरूमा विश्वस्तरका विज्ञानका अनुसन्धान हुँदैनन् भन्दा फरक पर्दैन। अमेरिका, जापान लगायतका मुलुकले कुल गार्हस्थ्य उत्पादनको करिब ३ प्रतिशत रकम अनुसन्धानमा खर्च गर्छन् तर नेपालले भने कुल बजेटको शून्य दशमलव तीन प्रतिशत मात्र लगानी गरेको छ, अनुसन्धानमा। माथि चर्चा गरिएको जस्तो जेनेटिक इन्जिनेरिङ विषयका अनुसन्धानको त नेपालमा नाम निसान छैन। सामान्य जिन पनि क्लोन हुँदैन नेपालमा। तर स्मरण रहोस्, विज्ञताको अभावमा हाम्रा विश्वविद्यालयहरूमा ‘जिन एडिट’ स्तरको अनुसन्धान नभएको चाहिँ होइन। यस विषयमा ज्ञान भएका र नेपाली अनुसन्धानलाई नयाँ उचाइमा पु¥याउन सक्ने जनशक्ति (प्राध्यापक) नेपाली विश्वविद्यालयहरूमा छन् तर उनीहरू अवसरबाट पूरै वञ्चित छन्।

अर्को पक्ष हाल विज्ञानका अनुसन्धान तीव्र्ररूपमा अन्तर्विधागत हुँदै गएको तथ्यलाई पनि ‘हे जिआनकुई’को अनुसन्धानले उजागर गरेको छ। किनकि भौतिकशास्त्रमा पीएचडी गरेका ‘जिआनकुई’ले बायोलोजिकल साइन्स अर्थात् जिन सम्पादन (एडिट)मा सफलता हात पारेका छन्। तथापि ‘जिआनकुई’को अनुसन्धान विश्वव्यापी रूपमा प्रतिबन्धित क्षेत्रमा पर्छ तर उनले हासिल गरेको सफलता भने प्राज्ञिक क्षेत्रका लागि  महत्वपूर्ण नै मान्नुपर्छ।

संसारमा विज्ञानका अनुसन्धान यति अन्तर्विधागत भइसक्यो कि रसायनशास्त्रको अनुसन्धानकर्तामा अब माइक्रोबायोलोजी, वनस्पतिशास्त्र र बायोटेक्नोलोजी आदि विधाको ज्ञान हुनैपर्छ। मेडिकल अनुसन्धानमा समाजशास्त्र तथा मानवशास्त्रको ज्ञान अनिवार्य भइसक्यो। अन्यथा अनुसन्धानकर्ताले अपेक्षाकृत सफलता प्राप्त गर्न सक्दैन। त्यस्तै जीवविज्ञान, प्राणीविज्ञान र जियोलोजी विषयका अनुसन्धानकर्तामा पनि (प्रोजेक्टको प्रकृति हेरी) डिएनए, जिन क्लोनिङ र सिक्वइन्सिङको पनि ज्ञान आवश्यक पर्छ। त्यस्तै गणित र तथ्यांकशास्त्रमा पनि अचेल पश्चिमा मुलुकमा लाइफ साइन्स समेतको पढाइ र अनुसन्धान हुन्छ। तर नेपालमा हालसम्म पनि विषयगत अनुसन्धानलाई मात्र जोड दिइएकाले आधुनिक अनुसन्धानका क्षेत्रमा यसले गम्भीर असर पुगेको छ। अतः बदलिँदो समयअनुसार अन्तर्विधागत अनुसन्धानको विकासमा राज्यले जोड दिन आवश्यक छ। विश्वविद्यालयहरूले विज्ञान तथा प्रविधिमा अध्ययन–अध्यापन गरिने हरेक विधामा अब ‘लाइफ साइन्स’ समावेश गर्न आवश्यक छ।

चिनियाँ वैज्ञानिक ‘हे जिआनकुई’सँग जोडिएको अर्को पक्ष जसबाट नेपाली नीति निर्माताले केही सिक्न आवश्यक छ, त्यो हो ‘विदेशमा उच्च शिक्षा हासिल गरेका नेपाली’लाई स्वदेशमा आकर्षित गरेर विज्ञानका अनुसन्धानलाई तीव्रता दिनु। यसै सन्दर्भमा केही समय अगाडि नास्टले ‘फर्क वैज्ञानिक’ नामक एक असफल कार्यक्रम ल्याएको थियो तर त्यसबाट बेलायत र अमेरिकाका विश्वविद्यालयमा अनुसन्धानरत एकजना पनि नेपाली वैज्ञानिक आकर्षित भएनन्। अमेरिकामा पढेका ‘जिआनकुई’ले चीन फर्केपछि गरेको अनुसन्धानबाट आज विश्वमा पहिलो पटक ‘जिन एडिट’ गरेर जुम्ल्याहा बच्चा विकास गरिएको छ।

पछिल्लो समयमा नेपालबाट अनुसन्धात्मक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्ने क्रमले तीव्रता पाएको छ। सन् २०१७ मा नेपालबाट करिब एघार सय शोध लेख जर्नलमा प्रकाशित भएको पाइन्छ। तर नेपाली अनुसन्धान यति कमजोर छ कि त्यसमध्ये एउटा पनि शोध लेख ‘जिन क्लोलिङ, जिन सम्पादन, जिन म्युटेसन, टिस्यु वा जेनेटिक इन्जिनेरिङसँग सम्बन्धित छैनन्। यसको सोझो अर्थ नेपाली विज्ञानका अनुसन्धानलाई विश्व स्तरका भन्न गाह्रो छ।

‘काग कराउँदै जान्छ, पानी सुक्दै जान्छ’ भने जस्तै नेपालमा ‘लाइफ साइन्स’का क्षेत्रमा हुने अनुसन्धानलाई विशेष महत्व दिएर जानुपर्नेमा हाल उल्टो प्राज्ञिक क्षेत्रमा जैविक विविधता (बायोडाइभर्सिटी) र जलस्रोतलाई महत्व दिएर राष्ट्रिय कार्यक्रम बन्दै छ भन्ने बहस सुनिन्छ। वास्तवमा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा ‘लाइफ साइन्स’ पढेका अधिकांश नेपाली वैज्ञानिक विदेशमा कार्यरत भइरहेको अवस्थामा नेपालमा भने परम्परागत विज्ञानका विधा जस्तै जैविक विविधतामा कार्यरतको हालिमुहाली चलेको देखिन्छ।

अन्त्यमा,
राज्यले विज्ञानलाई नयाँ उचाइमा पु¥याई मानव स्वास्थ्य र औषधी विज्ञानका क्षेत्रमा ठूलो फड्को मार्ने हो भने विज्ञानका अनुसन्धानलाई ‘लाइफ साइन्स’ केन्द्रित बनाउनै पर्छ। यस विषयलाई आत्मसात् गर्न सके मात्र यो क्षेत्र परिवर्तन र समृद्धिको सारथि बन्न सक्छ। र, कुनै एक दिन नेपालीले पनि जेनेटिक इन्जिनेरिङ लगायतका विषयमा अनुसन्धान गरेर विश्वलाई तरंगित बनाउन सक्नेछन्।

प्रकाशित: १७ मंसिर २०७५ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App