१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

महिलाको सम्मानमा ‘किम्फ’

काठमाडौं – प्रत्येक वर्ष फरक–फरक विषयलाई अजेन्डा बनाएर आयोजना हुँदै आएको ‘काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल(किम्फ)’को १६ औं संस्करण महिला लक्षित हुने भएको छ। फिल्म तथा वृत्तचित्र निर्माणमा संलग्न महिलालाई सम्मानसँगै उनीहरूको योगदानको स्मरण गर्न यसपटक महोत्सव आयोजकले ‘वुमन मुभ माउन्टेन्स’ नारा लिएका छन्।

हिमाल एशोसिएसनले आगामी मंसिर २१ गतेदेखि मंसिर २५ गतेसम्म आयोजना गर्न लागेको चार दिने फेस्टिभलमा महिला संलग्न झण्डै ३० प्रतिशत फिल्म तथा वृत्तचित्र प्रदर्शन हुनेछन्। ‘महोत्सवमा देश तथा विदेशका गरी झण्डै ८० वटा फिल्म, वृत्तचित्र, सर्ट फिल्म, प्रयोगवादी तथा एनिमेटेड फिल्म देखाइनेछन्,’ राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलकी निर्देशक रम्यता लिम्बुले भनिन्,‘यी फिल्ममध्ये ३० प्रतिशत फिल्म तथा वृत्तचित्रमा महिलाले निर्देशकदेखि प्राविधिक तहसम्म काम गरेका छन्। महिला संलग्न ३० प्रतिशत फिल्म प्रदर्शन हुन लाग्नु यो गर्वको कुरा हो। आगामी वर्ष यो संख्या अझ बढ्नेमा आशावादी छौं।’ फेस्टिभलको उद्घाटनमा निर्देशक जेनिफर पिडम निर्देशित ‘माउन्टेन’ देखाइनेछ।

३० प्रतिशत फिल्म तथा वृत्तचित्रमा महिलाले निर्देशकदेखि प्राविधिक तहसम्म काम गरेका छन्। महिला संलग्न ३० प्रतिशत फिल्म प्रदर्शन हुन लाग्नु यो गर्वको कुरा हो। आगामी वर्ष यो संख्या अझ बढ्नेमा आशावादी छौं।

एसोसिएसनका अध्यक्ष बसन्त थापाले चार वर्ष पछि राष्ट्रिय सभागृहमा फेस्टिभल हुन लागेकोमा खुशी व्यक्त गरे। ‘नेपालमा पछिल्लो पटक राष्ट्रिय सभागृहमा सार्क सम्मेलन भएको थियो। त्यो सम्मेलनले गर्दा त्यहाँ फेस्टिभल गर्न पाएनौं। त्यसयता हामी कुमारी सिनेमा हलमा कार्यक्रम गर्दै आएका थियौं,’थापाले भने,‘यसपटकको फेस्टिभलमा काठमाडौं महानगरपालिका सह–आयोजक रहेकाले हामीलाई सभागृहमा कार्यक्रम गर्न सजिलो हुनेछ। महानगरपालिकासँगको सहकार्य सार्वजनिक निजी साझेदारी कार्यक्रम जस्तै हो।’ थापाले सरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट चाहे जस्तो सहयोग अझै पाउन नसकेको जनाए।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा एकसाथ हुने फेस्टिभलमा नेपालसहित ३१ देशका ७० बढी फिल्म, वृत्तचित्र, सर्ट फिल्म, प्रयोगवादी र एनिमेसन फिल्महरू प्रदर्शन हुनेछन्। फेस्टिभलमा नेपाली पानोरामा अन्तर्गत २० फिल्म प्रतिष्पर्धी छन्। आयोजकका अनुसार जुरीले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट ३ फिल्म र नेपाली पानोरामा अन्तर्गत २० फिल्मबाट ‘उत्कृष्ट वृत्तचित्र’ र ‘कथानक चलचित्र’को छनौंट गर्नेछ। यो वर्ष जुरीमा ‘केन्डल माउन्टेन फिल्म फेस्टिभल’का कला निर्देशक क्लेर जेन कार्टर, अष्ट्रेलियन फिल्मकर्मी जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा छन्।

फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ सय डलर, १ हजार डलर र ५ सय डलर पुरस्कार पाउनेछन्। ‘नेपाल पानारोमा’ अन्तर्गत आख्यान र गैर आख्यान विधामा क्रमशः एक लाख र ७५ हजार रुपैंयाँ पुरस्कार पाउनेछन्। त्यस्तै ‘किम्फ’मा प्रदर्शित ‘उत्कृष्ट पर्वतीय फिल्म’लाई इसिमोडले १ हजार अमेरिकी डलर, ‘उत्कृष्ट साहसिक फिल्म’लाई आपा शेर्पा फाउन्डेसनले १ हजार अमेरिकी डलर र दर्शकको रोजाईमा पर्ने फिल्मले ५० हजार रुपैंयाँ राशीको ‘अडियन्स अवार्ड’ प्राप्त गर्नेछन्।

फेस्टिभलमा आयोजकले नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभलर इज एन अटिच्युड’ शीर्षकमा ३५ वर्षमुनिका युवाहरूको सर्ट फिल्म प्रतियोगिता हुनेछ। आयोजकले ‘माउन्टेन्स म्याटर–अ कल फ्रम द हिमालयज’, ‘ब्रेकिङ कोड रेड–अ कन्जरभेसन एण्ड हाउ टु सि इट’ र ‘ब्रेकिङ व्यारियर्स–पस्र्पेक्टिभ अन वुमन एण्ड एड्भेन्चर’ शीर्षकमा छलफल हुने जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App