७ वैशाख २०८१ शुक्रबार
समाज

विषेश शिक्षाका शिक्षक कर्मचारीमाथि विभेद भएकोमा विरोध

कार्यक्रममा उपस्थित अपांग विद्यार्थी सोनाम तथा सम्झना। तस्बिर : नागरिक

काठमाडौं - विशेष शिक्षा अध्यापनमा संलग्न शिक्षक तथा कर्मचारीको सेवा सुविधा साधारण विद्यालयका शिक्षक तथा कर्मचारी सरह नै हुनुपर्ने माग गर्दै विशेष शिक्षा शिक्षक महासमितिमा आबद्ध देशभरिका शिक्षकहरु आन्दोलनमा उत्रने भएका छन्।

महासमितिका अध्यक्ष राधवप्रसाद दवाडीले आइतबार का ठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारले आफूहरुको माग पूरा नगरे सोमबारदेखि देशभरका विशेष शिक्षा शिक्षक उपत्यकामा भेला भई भक्तपुर स्थित शिक्षा तथा मानव विकास केन्द्रमा धर्नामा बस्ने बताए।

गत कात्तिक ८ गते देखि आन्दोलनरत शिक्षकहरुले शिक्षा मन्त्रालयलगायत सरोकारवाला निकायमा आप्mना माग बुझाए पनि त्यसको बेवास्ता गरिएको हुँदा आन्दोलनमा उत्रने बाध्य भएको अध्यक्ष दवाडीले बताए। सोमबार अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा उनीहरु आन्दोलनमा उत्रने तयारीमा छन्।

हाल देशभर प्राथमिक विद्यालयदेखि माध्यमिक तहसम्म पढाइ हुने विषेश शिक्षाका विद्यालयको संख्या ३२ छ भने ३ सय शिक्षक कर्मचारी कार्यरत छन्। ती विद्यालयमा ७६ हजार विद्यार्थी अध्ययनरत छन्। ‘विशेष शिक्षाका शिक्षकको शिक्षक किताबखानामा विवरण दर्ता नभएकाले स्थानीय तहले तलब रोक्का गरेको छ,’ अध्यक्ष दवाडीले भने, ‘विशेष शिक्षा परिषद्को अनुदानमा तलब, भत्ता, ग्रेड, संचयकोष, पाइरहेका स्थायी शिक्षकहरुको शिक्षक किताबखानामा पद दर्ता गराई वृत्तिविकासको व्यवस्था राज्यले गर्नुपर्छ भन्ने हाम्रो माग हो।’ उनले थपे, ‘यसै गरी विशेष शिक्षाका विद्यालयहरुको बजेट, शैक्षिक, भौतिकलगायतका व्यवस्थापनको जिम्मेवारी केन्द्र सरकारको हुनुपर्छ।’

१४ बुँदे मागमा विशेष शिक्षा परिषद्को पूर्व सहमतिमा खुला प्रतिस्पर्धाबाट करार स्थायी छनोट भई कार्यरत शिक्षकहरुलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने, विशेष विद्यालयमा आधारभूत तथा माध्यमिक तहसम्म विद्यालयको सञ्चालन न्यूनतम शिक्षक तथा कर्मचारीको दरबन्दी उपलब्ध गराइनुपर्ने, ६० वर्ष पूरा गरेका कर्मचारीलाई अस्थायी शिक्षकहरुको सुविधा दिई अवकास दिनुपर्ने, विद्यालयमा अध्ययनरत अपांग बालबालिकाले प्रयोग गर्ने सहयोगी सामग्री (वैशाखी, ह्विलचेयर, सेतो छडी, क्यालिफर, सुन्ने सामग्री तथा अपांगमैत्री पाठ्यपुस्तक) उपलब्ध गराउनु पर्ने रहेको छ।

२७ औं अन्तर्राष्ट्रिय अपांग दिवसको नारा ‘मलाई गणना गर, समावेश गर’ लाई व्यवहारमा उतार्न विषेश शिक्षाका शिक्षक तथा विद्यार्थीको जोडदार माग छ।

२७ औं अपांग दिवसको नारालाई परिमार्जन गर्दै ‘मलाई शिक्षक कर्मचारीको रुपमा गणना गर, म शिक्षण गर्दै आएको छु’ भन्ने नाराका आफूहरु आन्दोलनमा उत्रेको पोखरास्थित सिर्जना बहिरा माविका प्रअ सुनिल भण्डारीले बताए। ‘अपांगता भएका बालबालिकाको विद्यालय हेरचाह निकै कठिन छ। त्यस्ता बालबालिकाका लागि आवश्यता अनुसार आवासीय सुविधासहितको विद्यालय निर्माण हुनुपर्छ। उनीहरुको स्वास्थ्य उपचारका लागि राज्यले बजेट व्यवस्था गर्नु र्छ,’ प्रधानाध्यापक भण्डारीले भने, ‘यस्ता बालबालिकालाई पौष्टिक आहार, पोसाक, दिवाखाजा, लगायतको शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने मागसहित हामी राजधानीमा आन्दोलनका लागि आएका हौं।’

सरकारले प्राथमिक तहमा १८ वर्ष माथिकालाई विशेष शिक्षा विद्यालयमा भर्ना गर्ने नियम नबनाएकाले बौद्धिक अपांगता भएका विद्यार्थीलाई निकै सास्ती हुने गरेको छ।

काठमाडौं भिसेनगोलास्थित निर्मल बालविद्यालयमा ८५ विद्यार्थीहरु बौद्धिक अपांग भएका छन्। विद्यालयकी प्रधानाध्यापक ज्योति भट्टराईका अनुसार ५० प्रतिशत विद्यार्थी १८ वर्ष माथिकै छन्। ‘२७ वर्षका विद्यार्थीहरुसमेत काखे नानीको जस्तो व्यवाहार गर्छन्,’ प्रधानाध्यापक भट्टराईले भनिन्, ‘सरकारले १८ वर्षमाथिका बौद्धिक अपांगलाई कहाँ लाने र कसरी व्यवस्थापन गर्ने हो शिक्षा नीतिमै स्पष्ट पार्नु पर्छ।’

प्रकाशित: १७ मंसिर २०७५ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App