coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहाड–मधेस जोड्ने झोलुंगे पुल

सिरहासँग धनुषा, सिन्धुली र उदयपुरका पहाडी बस्ती जोड्ने कमला नदीको उत्तरबाहिनीमा बनेको झोलुंगे पुलबाट ओहोरदोहोर गर्दै स्थानीय। तस्बिरः मिथिलेश/नागरिक

उत्तरबाहिनी(सिरहा) - धनुषाको पहाडी गाउँ मैनावत्तीबाट सिरहाको बन्दिपुर झर्न पूरै दिन खर्चनु पथ्र्यो। पहाडी बाटो हिँड्दै र कमला नदीमा गोडा चोपल्दै बन्दिपुर पुग्न झन्डै पाँच घण्टा लाग्थ्यो। संयोगले गत वर्ष कमला नदीको उत्तरबाहिनीमा झालुंगे पुल निर्माण पूरा हुनु र मैनावत्तीसम्म पैदल मार्गको ट्रयाक बन्नु एकैपटक भयो। अहिले मैनावत्तीबाट पूर्व–पश्चिम राजमार्गस्थित बन्दीपुर बजार एक घण्टामै पुग्न सकिन्छ। पुलले मधेस र पहाडलाई जोडेको छ।

दैनिक उपभोग्य सामग्री खरिदका लागि राजमार्ग क्षेत्रको बजार आउन यस भेगका बासिन्दालाई अहिले सहज भएको छ। मैनावत्तीबाट आधा घण्टा हिँडेर कमला नदीको झोलुंगे पुल पार गरेपछि टेम्पो पाइन्छ। पुलको पश्चिपट्टि टेम्पो चढेपछि आधा घण्टामै सिरहाको बन्दिपुर बजार पुगिन्छ।

कमला नदीमा झोलुंगे पुल बनेपछि धनुषा, सिन्धुली र उदयपुरका पहाडी बस्ती र मधेसबीचको दूरी स्वाट्टै घटेको छ। यो पुल पहाड र मधेश जोड्ने सेतु बनेको छ।

यसअघि सहज आवागमनको सुविधा नहुँदा बजारबाट गाउँसम्म दैनिक उपभोग्य सामग्री लैजान निकै गाह्रो थियो। पुल नहुँदा बन्दीपुरबाट चामलदेखि नुनसम्म बोकेरै गाउँ पु-याउनुपर्ने बाध्यता मैनावत्तीका बासिन्दालाई थियो। अब यो कष्टको अन्त्य भएको छ। पुल बनेपछि मैनावत्तीसहित यस भेगका बासिन्दालाई किनमेलका लागि बजार पुग्न निकै सहज भएको छ। मैनावत्तीकी नानु दहाल भन्छिन्, ‘पुल हुँदैनथ्यो भने अहिलेजस्तो सजिलै दाल–चामल खान कहाँ पाइन्थ्यो र ?’ उनका अनुसार युवा विदेशिएपछि गाउँका जमिन बाँझो छन्।

पुल नहुँदा यहाँका बासिन्दा बजार जान बिहानै हिँड्थे। कमला नदी तरेर सिरहाको बन्दीपुर पुग्थे। साँझ चामल दालजस्ता दैनिक उपभोग्य सामान बोकेर फर्किन्थे। कमला नदीमा झोलुंगे पुल बनेपछि धनुषा, सिन्धुली र उदयपुरका पहाडी बस्ती र मधेसबीचको दूरी स्वाट्टै घटेको छ। यो पुल पहाड र मधेश जोड्ने सेतु बनेको छ।

कमला नदीमा पुल नहुँदासम्म पूर्व–उत्तर र पूर्व–दक्षिणको पहाडी क्षेत्र मधेसँग बिरानो थियो। पहाडी क्षेत्रमा सडकसम्म बनेका थिएनन्। ‘हिउँदमा त जसोतसो जिन्दगी चल्थ्यो,’ दहालले भनिन्, ‘बर्खा लागेपछि त जीवनयापन गर्नै गाह्रो हुन्थ्यो।’ झोलुंगे पुल बनेपछि चिसापानी, दमार, मैनावत्ती, कुमहर, टाडी, सिर्थोली लगायतका गाउँका बासिन्दालाई बर्खामा पनि सजिलो भएको उनले बताइन्।

पुल बनेपछि कमलाको बगरमा बजार जम्न थालेको छ। उत्तरबाहिनीमा चिया–खाजा पसलदेखि किरानाका खुद्रे पसलहरू थपिएका छन्। पुल भएपछि सडक पनि बन्यो। सडक भएपछि यातायातका साधनहरू पनि थपिएका छन्।

सिरहाको कर्जन्हा नगरपालिका बगहाका भोला महतोले उत्तरबाहिनीमा खुद्रे पसल गर्न थालेको एक वर्ष भयो। ‘पहिले सुनसानै हुन्थ्यो,’ उनले भने, ‘अहिले मध्यरातसम्मै मानिसको चहलपहल हुन्छ।’ चहलपहल बढेपछि व्यापार पनि बढेको उनी बताउँछन्। ‘छिट्टै यहाँ पक्की पुल बन्ने सुनेको छु। पक्की पुल बनेपछि त सवारीसाधन नै चल्छ। मधेसबाट दैनिक उपभोग्य सामान पहाडका बस्तीसम्मै पुग्छ,’ उनले भने, ‘यातायातले मधेस–पहाड जोडिएपछि यहाँको व्यापार अझ बढ्छ।’

उत्तरबाहिनीबाट बन्दीपुर जान टेम्पो भाडा ७० रुपैयाँ लाग्छ। ‘हिँडेरै पुग्नुपर्ने बाध्यता थियो,’ दमारका श्यामकुमार मानन्धरले भने, ‘७० रुपैयाँ तिरेर भए पनि यात्रा सहज भएको छ।’ झोलुंगे पुलतर्फ देखाउँदै उनले थपे, ‘हाम्रा लागि यो, पुल मात्र होइन, लाइफ लाइन नै हो।’

कमला नदीको उत्तरबाहिनीमा पुल नहुँदा आवतजावतमा कठिनाइ भोग्दै आएका धनुषा, सिन्धुली र उदयपुरका करिब १५ गाउँका बासिन्दाले अहिले राहत महसुर गरेका छन्। झोलुंगे पुल बनेपछि साइकल, मोटरसाइकलमा तथा पैदल यात्रा गर्नेहरूलाई बढी सुविधा भएको स्थानीय बासिन्दा बताउँछन्।

प्रकाशित: १७ मंसिर २०७५ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App