coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालको शान्तिप्रक्रियाबाट शिक्षा लिन अपिल

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार एशिया प्यासिफिक सम्मेलनको समापान समारोहमा सहभागी हुँदै। तस्वीर : रासस

काठमाडाैं - दुईदिने ‘एसिया प्यासिफिक समिट–२०१८’ आइतबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘वर्तमान समयका गम्भीर चुनौतीहरुमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ विषयक सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा फरकफरक सत्रमा छलफल भएपछि घोषणापत्र जारी गरिएको हो। घोषणापत्रमा ‘शान्ति, सहकार्य र सहयोग’ मा जोड दिइएको छ।

समिटको उद्घाटन सत्रलाई शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, रिपब्लिक अफ नाउरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सकी उपराष्ट्रपति मारिया लियोनोर रोब्रेदो, सामोआका राज्य प्रमुख अफिओगा तुइमाले अलिफानो भालेटोआ, टुभालुका महाराज्यपाल सर लाकोबा टाइयाल टालेली, भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडा, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलगायतले सम्बोधन गरेका थिए। पिस एन्ड फेमिली फेस्टिभल कार्यक्रममा ४५ देशका एक हजार पाँच सय प्रतिनिधि सहभागी भएको आयोजक पक्षको दाबी छ।

पहिलो दिन शनिबार उद्घाटन सत्रसँगै वर्तमान चुनौती सम्बोधन गर्न विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिकाका विषयमा छलफल भएको थियो। दोस्रो दिन आइतबार जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिका, तथा समापन समारोहअन्तर्गत विश्वमा शान्तिका लागि पहल र शान्ति परियोजनासम्बन्धी विषयमा छलफल भएको थियो।

घोषणापत्रमा जलवायु परिवर्तनका कारण विश्व समुदायले चुनौती भोगिरहेको र मानव अस्तित्व एवं पृथ्वीमाथि नै खतरा उत्पन्न भएकाले यसलाई सम्बोधन गर्न तत्काल प्रभावकारी कार्य अघि बढाउने उल्लेख छ। समिटले विभिन्न सामाजिक, राजनीतिक र आर्थिक कारणले विश्वव्यापी रुपमा बढिरहेको सुरक्षा चुनौतीसँग लड्न आपसी समझदारी, सुरक्षित आवास र संवादलाई जोड दिएको छ। त्यस्तै विश्वव्यापी शान्ति स्थापनाका लागि समिटले द्वन्द्वग्रस्त मुलुकलाई नेपालको शान्तिप्रक्रियाबाट शिक्षा लिन अपिल गरेको छ। महिला सशक्तीकरण, समाजमा विद्यमान लैंगिक विभेद अन्त्य, युवा तथा विद्यार्थीमा सामाजिक उत्तरदायित्वको बोध गराएर कुशल नेतृत्व विकास गर्न पनि सम्मेलनले जोड दिएको छ।

सम्मेलनको आयोजक नेपाल सरकार नभए पनि अतिविशिष्ट तथा विशिष्ट विदेशी पाहुनाको सुरक्षा प्रबन्धलगायतको जिम्मा सरकारले लिएको थियो। कार्यक्रममा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मगुरुहरुको पनि उपस्थिति थियो। यस किसिमको कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको आयोजकको दाबी छ। कार्यक्रमका लागि आयोजक युनिभर्सल पिस फेडेरेसनले करिब २० करोड खर्च भएको जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App