८ वैशाख २०८१ शनिबार
ब्लग

माधव अंकल, इमेल पाउनु भो ? रिप्लाइ प्लिज !

‘उहाँलाई चिन्नु हुन्छ?’ पूर्व गृहमन्त्री माधव घिमिरे पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह रानालाई मेरो परिचय गराउँदै हुनुहुन्थ्यो– ‘उहाँ टेकनारायणजी, यो सबै फोटो उहाँले खिच्नु भएको।’

मलाई हाँसो उठि सकेको थियो। राना हाँस्दै उछिनेर बोल्नुभयो– ‘मेरो गाउँको मान्छेलाई तपाईँले चिनाउनु पर्छ?’ हामी हास्यौं।

राना र म एकै गाउँका। जहाँ रानीमहल छ त्यही गाउँ –पाल्पा बौघागुम्हा। घिमिरे तानसेन नजिकैको गाउँ –धरमपानीका। परिचय सन्दर्भको हाँसो सकिएपछि दुबैजनाको ध्यान फोटोतर्फ तानियो। स्थान थियो भृकुटीमण्डप जहाँ मैले खिचेका फोटोको प्रदर्शनी थियो। गत शनिबार।

एउटा कुनोमा काठमाडौंका पूर्व मेयर केशव स्थापित फोटो हेर्दै हुनुहुन्थ्यो। मलाई नजिकै बोलाउनु भयो। योजना बनाउन र कल्पनाका खाका उतार्न स्थापितलाई कसैले भेट्दैन।

पाल्पा माडि फाँटमा लागेको कुहिरोको तालको फोटो देखाउँदै स्थापितले आफ्नो कल्पना सुनाउनु भयो–‘यो फाँटको बस्तिलाई माथि सारेर फाँटमा पानी भरेर तालको रुपमा विकास गर्न कस्तो होला?’ मैले कल्पनै नगरेको कुरा, मलाई मजाक जस्तो लाग्दै थियो। तर, स्थापित ‘सिरियसली’ भन्दै हुनुहुन्थ्यो।

स्थापितसँग मेरो फोटोग्राफीको एउटा रोचक साइनो छ। माधव अंकललाई मैले तत्क्षण त्यो काहानी सुनाएँ।

त्यो साइनो यस्तो छ–
तीनबर्ष पहिले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मेरो फोटो प्रदर्शनी थियो। त्यो प्रदर्शनीमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्रीका हैसियतमा माधव घिमिरेलाई मैले अवलोकनकर्ताको रुपमा भेट्ने सौभाग्य पाएको थिएँ।

पाल्पा निकै मन पराउने स्थापित पाल्पामा केही गर्ने योजना बुन्दै हुनुहुन्थ्यो। त्यसैले उहाँ साथिहरुसँग प्रज्ञा प्राङ्गढमा चलेको मेरो प्रदर्शनीमा छिर्नुभएको रहेछ। पाल्पाली संगमले गरेको पाल्पा महोत्सवले हामी सबैलाई त्यहाँ जुटाएको थियो।

पानी परेपछिको बिहानीमा पाल्पा तेल्घाको गुफाचौरबाट खिचिएको सदरमुकाम तानसेन बजार र त्यसको पछाडी खुलेको लामो हिमश्रृङ्खला देखिने तस्बिर अगाडी स्थापित निकैबेर अडिनु भयो। र, मलाई सोध्नु भयो–यो फोटो रियल हो? मैले फोटोबारे विस्तृतमा बताएपछि उहाँले भन्नुभयो– ‘यस्तो राम्रो ठाउँहरु त्यसै फालिएका छन्। यहाँ केही गर्नुपर्छ, म यहाँ जान चाहन्छु।’

स्थापित त्यो ठाउँमा पुग्नु मात्रै भएन, उहाँले त्यहाँ १८ फिट अग्लो एउटै ढुंगामा कुँदिएको विशाल आकारको गणेश मुर्ती स्थापना गर्दै हुनुहुन्छ। मुर्ती पाल्पा पुगिसकेको छ। गुफाचौरलाई पर्यटकीय केन्द्र बनाउन स्थापितको नेतृत्वमा पाल्पाली अगुवाहरु प्रयत्नरत छन्।

संयोग के भने तात्कालिन गृहमन्त्री घिमिरेलाई स्थिापितले गुफाचौरलाई पर्यटकीय केन्द्र बनाउने योजना तीनबर्ष पहिले संक्षेपमा त्यही फोटो अगाडी उभिएर सुनाएका थिए। फेरी एकपटक दुबैजनालाई एकसाथ प्रदर्शनीमा पाउँदा मेरालागि चमत्कार जस्तै थियो।

मैले यो प्रशंग स्मरण गराउँदा माधव अंकलका लागि निकै रुचीकर लागेको अनुहारमा झल्कन्थ्यो। त्यही तस्बिर देखाउँदै उहाँको प्रतिकृया थियो–‘यो ठाउँ हाम्रो गाउँबाट नजिकै हो, तर यति राम्रो दृश्य देखिन्छ भन्ने मलाई पनि थाहा थिएन, गुफाचौर त जानै पर्छ।’

म हजुरको जवाफ कुरिरहेको छु,
अंकल, तपाईँ कहाँ हुनुहुन्छ?
एउटा प्रश्न सोधुँ?
–हामी गुफाचौर कहिले जाने?


...
एक राउण्ड फोटो हेरेपछि माधव अंकलको जिज्ञासा थियो– ‘फोटो हेरेर निकै मजा आयो, अब फोटो खिच्दा फोटोग्राफरले गरेको मेहनत पनि सुनौं न।’
फोटोग्राफरलाई उस्ले खिचेका तस्बिरबारे प्रतिकृया र जिज्ञासा आउँदा आनन्द लाग्छ। माधव अंकलको जिज्ञासा मेरोलागि परीक्षा र अवसर दुबै थियो। खिच्दा बढी मेहनत परेका र महत्वका तस्बिर छानेर मैले त्यसको वर्णन गर्नुपर्ने भयो।

गुँडमा पखेटा फिँजाएर उड्न तम्सेको विश्वमै लोपोन्मुख सूचिमा पर्ने सुन गिद्धको तस्बिरले मेरो ध्यान तान्यो।

‘यो तपाईँको गाउँको गिद्ध हो,’ मैले हाँस्दै भनें ‘सेतीपोखरी त थाहा छ नि?’

‘हाम्रो गाउँको सेतीपोखरी?’ उहाँको प्रश्नमा मैले भनेँ –‘हो’

त्यसपछि मैले त्यो गिद्धले गुँड लगाएदेखि अण्डा पारेको, बच्चा कोरलेको, हुर्काएको र बच्चा उडाएको सबै दृश्य खिच्दा तीन महिना बिताएको क्षण मज्जाले ब्याख्या गरेँ।

‘अरे वा,’ उहाँले धन्य हुँदै हात बढाएर धाप मार्दै मलाई स्वावासी दिनुभयो।

देख्नै दुर्लभ गिद्ध त्यसमाथि त्यसले सन्तान हुर्काएको क्षणको दृश्य कैद गर्न म निकै उत्साहित भएको थिएँ। नाइट बस चढेर पाल्पाबाट काठमाडौं आएर ५०० एमएमको टेली लेन्स किनेको मैले सगौरव सुनाएँ।

फलेदोको पतझर उजाड रुखमा गिद्ध गुँड लगाउँदै थियो। त्यसको सामुन्नेमा कटहरको रुखको टुप्पोमा म आफू बस्ने कटेरो बनाएर दृश्य उतार्दै गएँ।
उता जोडी गिद्धले अण्डा पार्यो, रुखका पालुवा पात बन्दै गए। यता मेरो कटहरको रुखमा फुलेका फुल विस्तारै फलमा परिणत हुँदै गए। उता बच्चा हुर्कदै गयो र उड्न तयार भयो, यता कटहर पाकेर खान तयार भयो।

मैले यो सबै सुनाउँदा फोटो हेर्न जुटेका धेरैजना मेरो वयान सुन्न झुम्मिएका थिए। सबैका अगाडी पूर्व गृहमन्त्री मेरो तारिफ गर्दै हुनुहुन्थ्यो। म मख्ख थिएँ।

‘हजुरको गाउँको त्यो रुखमा गिद्धले तीन पटक गुँड लगायो, गिद्ध संरक्षणमा गाउँ पुरस्किृत नै भयो।’ मैले सुनाएँ– ‘पहिले गिद्ध गाउँ पस्दा अशुभ ठान्नेहरु अहिले गिद्ध प्रकृतिको कुचीकार हो भन्ने भएका छन्। गिद्धले मायाँ पाएको छ।’

हाँस्दै...उहाँको प्रतिकृया थियो –‘गाउँ जाँदा गुँड लगाएको बेला परेछ भने हेर्न जानु पर्ला।’

म हजुरको जवाफ कुरिरहेको छु,
अंकल, तपाईँ कहाँ हुनुहुन्छ?
एउटा प्रश्न सोधुँ?
–गिद्धले फेरी गुँड लगायो भने मैले हजुरलाई कहाँ खबर गरुँ?

...
एकपछि अर्को तस्बिर छान्दै तस्बिर खिच्दाका पृष्ठभुमीबारे मैले सुनाउदै गएँ।

घिमेरे गृहमन्त्री हुँदाको क्षणको तस्बिरको पालो आयो। पक्कै रुचीकर हुने ठानेर मैले त्यो तस्बिर छानेर विवरण सुनाएँ–
पाल्पा पोखराथोकको खिलराज रेग्मी जन्मेको साँघुरो कोठा। सानो टिभि। घर कुरेर बस्ने दुईजना दम्पत्ति नेपाल टेलिभिजनमा रेग्मीले सपथ लिँदै गरेको दृश्य लाईभ हेर्दै थिए। त्यो क्षण मैले तस्बिरमा उतारेको थिएँ।

मन्त्रीपरिषद अध्यक्ष रहेकाबेला प्रज्ञा प्रतिष्ठानमा भएको प्रदर्शनीमा खिलराज रेग्मीले त्यो तस्बिर अर्डर गर्नुभएको थियो। पहिलोपटक मलाई प्रधानमन्त्रीको कार्यकक्षमा छिर्ने अवसर त्यही तस्बिरले जुराएको थियो। रेग्मी निवासमा त्यो तस्बिर अहिले पनि झुण्डिएको छ।

यो सुनाएपछि मैले बीचमा एउटा हँसि–मजाक गर्ने मौकालाई गुम्न दिइन र भनें– ‘राजनीतिक दलहरु असफल हुँदैछन्। अब फेरी रेग्मीले जस्तै हजुरले नेतृत्व लिएर चुनाव गराएर देशलाई दोस्रो चरणको निकास दिन पर्ला जस्तो छ। त्यतिबेला तपाईँले सपथ खाएको तस्बिर खिच्ने धोको छ।’ उहाँ फिस्स हाँस्नु भयो र मलाई धाप मार्नुभयो।

म हजुरको जवाफ कुरिरहेको छु,
अंकल, तपाईँ कहाँ हुनुहुन्छ?
एउटा प्रश्न सोधुँ?
–हजुरले सपथ खाएको फोटो खिच्ने मेरो धोको अधुरै रहन्छ त?


...
‘मौकाको फाइदा लिन पर्यो।’ घिमिरे अंकल अब फोटो खिच्ने मुडमा देखिनु भयो।

‘सिपालु फोटोग्राफरलाई भेटेपछि फोटो त खिच्नै पर्छ, यस्तो मौका कहाँ पाइन्छ।’ उहाँ सर्टको गला सम्याउँदै कोट मिलाएर फोटो खिच्न तयार हुनुभयो।
मैले क्यामेरा चलाउन थालें, उहाँले पोज दिनुभयो।

‘तपाईँले खिचेको फोटो भित्तामा सजाउँछु, गज्जब खिच्नु है।’ उहाँ भन्दै हुनुहुन्थ्यो ‘मेरो इमेलमा पठाइदिनुस् म प्रिन्ट गर्छु, फेसबुकमा पनि राख्छु।’
मैले ब्याकग्राउण्ड मिलाउन उहाँलाई सेतो पर्दामा उभ्याएँ र तस्बिर खिचें। मलाई चुनौती पनि थियो– ‘बुढालाई मनपर्ने तस्बिर खिच्नै पर्छ।’ मनमा यस्तै कुरा खेलाउँदै मैले क्यामेराको ट्रिगर दवाउँदै गएँ।

फोटो खिचेर सकेपछि विदा हुने तर्खरमा उहाँले भन्नुभयो –‘आजको दिन निकै उपलब्धिपूर्ण भयो।’
मैले भनें –‘म झनै धन्य भएँ, यति धेरै समय दिएर मेरा तस्बिर हरिदिनु भयो।’

‘फेसबुक म्यासेन्जरमा मैले इमेल एड्रेस पठाउँछु, मेरो इमेलमा फोटो पठाउनुस् है।’ जाँदाजाँदै उहाँले दोहोर्याएर आफ्ना फोटोहरु पठाउन आग्रह गर्नुभयो।

अंकल, मैले खिचेका तपाईँका तस्बिर हेर्दा यतिबेला मेरा आँखा रसाइरहेका छन्।
म हजुरको जवाफ कुरिरहेको छु,
तपाईँ कहाँ हुनुहुन्छ अंकल?
एउटा प्रश्न सोधुँ?
–फोटो पाएँ भनेर इमेलमा कहिले रिप्लाइ गर्नुहुन्छ?
–रिप्लाइ प्लिज !

माधव घिमिरेका आफन्त नारायण काफ्ले घिमिरेसँग तस्बिर खिचाउँदै। काफ्लेको सोही गाडी दुर्घटनामा निधन भएको थियो। उनको शव फेला परेको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App