८ वैशाख २०८१ शनिबार
खेल

आर्मीको जितमा भरतको २ गोल, हिमालयन शेर्पाको पहिलो हार

हिमालयन शेर्पाविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै आर्मीका कप्तान भरत खवास ।

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा आर्मीको जितमा दुवै गोल कप्तान भरत खवासले गरे।

जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीको ५ खेलबाट ४ जित र १ बराबरीसँगै १३ अंक भएको छ। हिमालयन शेर्पाको भने लिगमा पहिलो हार हो। ५ खेलबाट १० अंक जोडेकाे शेर्पा चौथो स्थानमा छ। खेलको ३३ औं मिनेटमा सन्तोष तामाङको कर्नरमा कप्तान भरत खवासले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुग्यो। ८६ औं मिनेटमा भरतले नै गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। दिनेश हेम्जाङको प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले पन्च गर्दै बाहिर पठाएपनि रिबाउन्डमा भरतले गोल गरेका थिए। भरतले गोल गरेको २ मिनेटपछि शेर्पाका अलरिच सिवेले गोल गर्दै अन्तर कम गरेका थिए।

सिवेले २५ यार्ड टाढाबाट गरेको प्रहार डिफ्लेक्ट हुँदा विकेश झुक्किएपछि गोल हुन पुगेको थियो। तर, त्यसपछि कुनै गोल नभएपछि शेर्पालाई पराजित गर्दै आर्मीले महत्वपूर्ण ३ अंक बटुल्यो। खेलअवधिभर दुवै टोलीले गोल गर्ने केही अवसरको सदुपयोग गर्न सकेनन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका भरत म्यान अफ दि म्याच घोषित भए।

प्रकाशित: १६ मंसिर २०७५ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App