coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पक्की हुलाकी सडकले ल्यायो खुसीयाली

कालोपत्रे गर्न अलकत्रा छरिएको हुलाकी सडकअन्तर्गतको गुलरिया–बेलवा सडकखण्ड। तस्बिर : निर्मल/नागरिक

सानोश्री (बर्दिया) - लाइफलाइन नाम दिइएको हुलाकी सडक पक्की बन्न थालेपछि शनिबार मधुवन नगरपालिकाको ८ नम्बर चोकमा निकै भिँड थियो। उक्त चोकबाट औपचारिक रुपमा कालोपत्रे हुलाकी सडक निर्माणका लागि सुरुवात गर्ने तयारी  भइरहेको थियो।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी, निर्माण कम्पनीका तर्फबाट तुल्सी भण्डारीले औपचारिक रुपमा पूजा गरेर मेसिनले अलकत्रा छर्दा त्यहाँ उपस्थित सर्वसाधारण खुसीले गदगद भए।

विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि पक्की सडकको सपना साकार हुन लागेको देख्दा सर्बसाधारण पक्की सडक निर्माण कार्यले तीव्रता पाएपछि सडक बन्नेमा ढुक्क छन्। अलकत्रा छरेर पक्की हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, सडककै कारणले वर्षौदेखि ओझेलमा परेका ग्रामीण क्षेत्रमा खुसी थपिएको सर्वसाधरणको अनुहारमा झल्कन्थ्यो।

तराईका जिल्लाको मुहार फेर्ने योजनाको रुपमा विगत एक दशकदेखि अलपत्र अवस्थामा रहेको हुलाकी सडकसँग जोडिएका परिकल्पनाहरु अब सार्थक हुनेमा स्थानीय विश्वस्त छन्।

‘पक्की सडकको रुपरेखा बनेको छ, विकास नपुगेका गाउँको अझ कालोपत्रे सडक हुने भएपछि साच्चिकै यस ठाउँको भाग्य फेरिन लागेको छ,’ वडाध्यक्ष राजेन्द्र हमालले भने, ‘पक्की सडक निर्माण कार्यको निरन्तरताका लागि हाम्रो योगदान र सहयोग सधैं रहनेछ।’ एक दशकअघि निर्माण गर्ने नाममा अलपत्र पारिएको सडकले दिएको सास्तीबाट केही समयमा नै मुक्त हुने उनले बताए।  

मधुवन नगरपालिकाको विकास निर्माण सहजीकरण गरिरहका नयाँ पुस्ताका यूवा नेता हमाल आफ्नै कार्यकालमा यो आमुल परिवर्तन हेर्न पाउने पक्का भएको सुनाउँछन्।

भारतीय सहयोगमा भारतीय निर्माण कम्पनीले २०६८ मा तीन खण्डमा निर्माण गर्न थालेको सडक बन्न सकेन। उक्त कम्पनीले ५७ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो। २०७१ मा भारतीय निर्माण कम्पनीहरु ठेक्का छाडेर भागेपछि अलपत्र परेको हुलाकी सडक योजनाको काम भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले नै बनाउने सहमति भएर यतिखेर निर्माण गर्न थालिएको हो।

सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण गर्न लागिएको गुलरिया–बेलवा सडकखण्ड अन्तर्गतको १० किलोमिटर १५ दिनभित्र सक्ने लक्ष्यका साथ काम सुरु गरिएको गणपति निर्माण कम्पनीका प्रमुख तुल्सी भण्डारीले बताए। ‘देशभर एकैसाथ निर्माण सुरु गरिएका हुलाकी सडकमध्ये यो सडकखण्डमा पक्की सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘हाम्रो जिम्मामा रहेको १८ किलोमिटर सडक लक्ष्यभन्दा अघि सक्छौं।’ पक्की सडक निर्माणका लागि चाहिने आधुनिक मेसिन र कच्चा पदार्थको व्यवस्थापन गरिसकेको उनले दाबी गरे।

सुरुमा पप्पु कम्पनीले जिम्मा लिएको उक्त सडक कालोपत्रे गर्न गणपति कन्स्ट्रक्सन प्रालिले सम्झौता गरी काम थालेको छ।

अहिले ट्र्याक खोल्ने काम सकिएर सडकको आधार निर्माण कार्य तीव्र पारिएको छ। खुलाइएको सडकमा यातायातका आवागमनमा सहज भएको छ। यसरी सडक निर्माण कार्य अघि बढ्दै गर्दा हुलाकी सडकसँग जोडिएका गाउँमा खुसियाली थपिएको छ।

‘यो सडक आर्थिक, सामाजिक र सुरक्षाको हिसाबले महत्वपूर्ण छ, आवागमन सहज भएसँगै सवारीसाधन गुड्न थालेपछि आफैं विकास हुँदोरहेछ,’ नगर प्रमुख केसीले भने, ‘सडक तयार भएसँगै गाउँको पनि विकास हुन्छ भने खाद्यान्न बिक्री गरेर सर्वसाधारणको जीवनस्तर पनि माथि उठ्ने छ।’ अनकन्टार ठानेर गाउँबाट पलायन भएका वा विदेशिएका युवा व्यापार व्यवसाय गर्न  फर्किन आशा उनले व्यक्त गरे। नगरपालिकाभित्र सडक निर्माण अवरोध गर्ने र सडक अतिक्रमण गर्न कडाइ गरेको उनले बताए।

प्रजिअ कुरुम्बाङका अनुसार अहिले नयाँ ठेक्कापट्टा भएर सुरु भएका हुलाकी सडकको काम यतिखेर तीव्र रुपमा अघि बढ्दै छ। उनका अनुसार तीन खण्डमै कामले तीव्रता पाएको छ। ग्रामीण भेगको विकासका लागि  मेरुदण्ड मानिएको यो सडकबाट बर्दिया, छिमेकी जिल्ला कैलाली र कर्णाली प्रदेशसँग जोडिन सहज हुने उनले बताए। सर्वसाधारणको जीवनस्तर यस सडकले गर्दा माथि उठ्ने उनले विश्वास व्यक्त गरे। सँगै यसले पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा जोड्ने भएकाले समयमै निर्माण सम्पन्न गर्न अथक प्रयास गरिरहेकोे उनले बताए।

हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ। राजापुर–बेलवा, गुलरिया–बेलवा र बेलवा–भुरिगाउँको दूरी करिब ५७ किलोमिटरको करिब एक अर्ब लागत छ। सुरुमा भारत सरकारको ‘रुचि’ अनुसार नै निर्माण हुने भनिएको हुलाकी राजमार्ग वर्षौसम्म बन्न नसकेपछि बल्ल नेपाल सरकार आफैं कसिएको छ। सन् २००४ मा भारत सरकारले हुलाकी राजमार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरेको थियो।

त्यतिखेर दुवै देशका सरकारी अधिकारीको सम्झौताअनुसार पहिलो र दोस्रो चरणमा गरी उत्तर–दक्षिण जोड्ने विभिन्न खण्ड जोडेर बनाउने भनिएको सडकखण्डमध्ये बर्दियामा तीनवटा सडकखण्ड परेका थिए। हुलाकी राजमार्ग आयोजनाका अनुसार सन् २००६ जुन २७ मा भारत सरकारले उक्त सडक निर्माण गर्न विस्तृत अध्ययन सकेको थियो।

विस्तृत अध्ययन सकेलगत्तै पुनः दुई देशबीच भएको सम्झौताअनुसार राजमार्गको डिजाइन, सुपरीवेक्षण र निर्माणमा लाग्ने सबै खर्च भारतले बेहोर्ने र जग्गा अधिग्रहण, सडकमा परेका रुख हटाउने तथा सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने भन्ने थियो। तर, लामो समयसम्म पनि राजमार्ग निर्माण त कता हो कता उल्टै भारतीय पक्षले छनोट गरेका ठेकेदार नै भागेपछि उक्त राजमार्ग अलपत्र अवस्थामा छ।

हुलाकी राजमार्ग निर्माण हुने अपेक्षामा रहेका सर्वसाधारण आफैंले बनाउन सकिने आयोजनामा अरुको मुख ताक्दा ढिलाइ भएको स्थानीयको भनाइ छ।  हुलाकी सडक निर्माणसँगै पहाडी जिल्ला र तराईलाई जोड्न पुलको काम गर्ने र यसबाट स्थानीय लाभान्वित हुने छन्। भारतीय सीमासम्म जोडिएको सडकखण्ड निर्माण ढिलाइ नभए आर्थिक र व्यापारिक केन्द्रको रुपमा जिल्लाको विकास हुनेमा सर्वसाधारण आशावादी छन्।

प्रकाशित: १६ मंसिर २०७५ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App