६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिविरुद्धको प्रदर्शनमा झडप

इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्सको राजधानी पेरिसको च्याम्पस् एलिसीमा भएको प्रदर्शनका क्रममा दंगा प्रहरीलाई पहेंलो रंग छ्याप्दै प्रदर्शनकारी। तस्बिर : एजेन्सी

पेरिस (बिबिसी) – पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध फ्रान्सको राजधानी पेरिसमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

पेट्रोलियम पदार्थमा भएको वृद्धिको विरोधमा फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘पहेंलो भेस्ट’ प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बिबिसीले उल्लेख गरेको छ। फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा तीन सातादेखि प्रत्येक सप्ताहन्तमा सरकारविरुद्धमा प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीले प्रहरीका कैयौं अधिकारीमाथि पहेंलो रंग छ्यापेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ। प्रदर्शनका क्रममा कम्तीमा ३९ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ। फ्रान्सको राजधानी पेरिसमा इन्धनमा भएको मूल्य वृद्धि र महँगीका कारण जीवनयापनमा भइरहेको कठिनाइको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीले निरन्तर प्रदर्शन गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले गत साता समझदारीको भाषा बोले पनि आफूले लागू गरेको इन्धनमाथिको कर भने नहटाउने बताएका थिए।

उनले ग्लोबल वार्मिङविरुद्ध लड्न फ्रान्सको भविष्यको ऊर्जा रणनीतिको एउटा प्रमुख भाग इन्धनमाथिको कर भएको भन्दै आफ्नो योजनाबाट पछि नहट्ने बताएका थिए। यद्यपि उनले करलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न भने आफू तयार रहेको बताएका थिए। राष्ट्रपति म्याक्रोंले वार्ता र छलफलका लागि आफू तयार रहेको संकेत दिए पनि उनको सम्बोधनले केही असर नपरेको शनिबारको प्रदर्शनले पुष्टि गरेको बिबिसीले जनाएको छ। राष्ट्रपति म्याक्रोंमाथि सर्वसाधारण मानिससँग सम्बन्ध नराखेको जस्ता आरोप लाग्न थालेपछि उनले सम्बोधनमार्फत् आफू वार्ताका लागि सदैव तयार रहेको आशयसहितको सम्बोधन गरेका थिए।

पछिल्लो झडपमा के भयो ?
औपचारिक प्रदर्शन हुनुपूर्व नै शनिबार प्रहरी र प्रदर्शनकारीबीच झडपको सुरुआत भएको थियो। प्रहरीले पेरिसको प्रख्यात च्याम्पस् एलिसी पर्यटकीय मार्ग बन्द गरेपछि र सोही बाटो भएर जाने मानिसमाथि खानतलासी गर्न थालेपछि झडप सुरु भएको बताइएको छ। आक्रोशित प्रदर्शनकारीका कारण सो क्षेत्रमा रहेका कैयौं पसल, बैंक र क्याफेका सिसा फुटेका छन्।

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले कैयौं सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले राखेको छेकबार मास्क लगाएका केही प्रदर्शनकारीले भाँच्न खोजेका थिए। सुरक्षित उपकरण र हेल्मेट लगाएका कैयौं प्रहरी अधिकारीमाथि प्रर्दशनकारीले गहिरो पहेंलो रंग छ्यापेका थिए। प्रहरी र प्रदर्शनकारीबीच शनिबार राजधानी पेरिसमा भएको झडप अत्यन्तै तनावग्रस्त रहेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शनकारीमध्ये अधिकांश शान्तिपूर्ण प्रदर्शनका पक्षमा देखिए पनि केही भने प्रहरीसँग झडप गर्ने पक्षमा नै त्यहाँ उपस्थित भएको बिबिसीले बताएको छ।

पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप निरीक्षण गर्न गएका फ्रान्सका आन्तरिक मन्त्री क्रिस्टोफ कास्टनरले त्यहाँ शान्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेका दुई सयजना प्रदर्शनकारी रहेको ट्विटमार्फत बताएका छन्। उनले ट्विटमै सुरक्षा घेराभन्दाबाहिर झडप नै गर्ने उद्देश्यका साथ एक हजार पाँच सय जना आन्दोलनकारी पनि उपस्थित रहेको आन्तरिक मन्त्री कास्टनरले बताएका छन्। उनका अनुसार प्रहरीसँगको झडपमा सहभागी भएका ३९ जनालाई पक्राउ गरिएको छ।

यसै वर्षको नोभेम्बर महिनाको सुरुबाट फ्रान्समा पहेंलो भेस्ट आन्दोलन सुरु भएको हो। राष्ट्रपति इमानुएल म्याक्रोंले इन्धन करमा वृद्धि गरेको विरोधमा पहेंलो भेस्ट प्रदर्शन सुरु भएको थियो। फ्रान्समा सवारी साधन चलाउने सबैले पहेंलो भेस्ट लगाउनै पर्ने कानुन रहेको छ। त्यही पहेंलो भेस्ट लगाएर प्रदर्शनकारीले देशको प्रमुख सडक बन्द गरेका थिए, जसका कारण चौतर्फी ट्राफिक जाम भएको थियो। फ्रान्समा पछिल्लो समयको पहेंलो भेस्ट आन्दोलन सामाजिक सञ्जालमार्फत् फैलिएको बिबिसीले उल्लेख गरेको छ। देशमा भएको उच्च कर र मूल्य वृद्धिका साथै राष्ट्रपति म्याक्रोंको आर्थिक नीतिविरुद्ध सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि व्यक्त भइरहेका छन्। यही असन्तुष्टिले पहेंलो भेस्ट आन्दोलनअघि बढ्न सहयोग पु-याएको बिबिसीले उल्लेख गरेको छ। देशमा प्रदर्शन चर्केपनि राष्ट्रपति म्याक्रोंले भने प्रदर्शनका पछाडि अतिदक्षिणपन्त्री दलको सक्रिय सहयोग रहेको आरोप लगाउँदै आएका छन्। उनले आफूसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी अतिदक्षिणपन्थी नेत्री मरिन ल पेनको दललाई प्रदर्शन चर्काएको आरोप लगाएका छन्। यद्यपि फ्रान्समा केही सातादेखि भइरहेको प्रदर्शनमा परिचित नेतृत्व नभएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १६ मंसिर २०७५ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App