७ वैशाख २०८१ शुक्रबार
शिक्षा

जीर्ण भवनमा पठनपाठन

काठको टेको लगाइएको नेचाएपेक्स एकेडेमीको भवन। तस्बिर : शिखर/नागरिक

सोलुखुम्बु - सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका ३ स्थित नेचा एपेक्स एकेडेमीले जोखिम मोलेर विद्यार्थी पढाइरहेको छ। कक्षा ५ सम्म पढाइ हुने एकेडेमीले चिराचिरा परेको भवनमा काठको टेको लगाएर विद्यार्थी पढाउँदै आएको छ।

निकै जीर्ण भवनमा अहिले नर्सरी र कक्षा ३ का बालबालिकालाई राखिएको छ। सुरक्षित विकल्प खोज्न दबाब दिए पनि विद्यालयले टेरपुच्छर नलगाएको अभिभावक विमला कट्टेलको गुनासो छ। ‘गत चैतमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने समयमा अभिभावकले तत्काल विकल्प खोज्न दबाब दिएका थियोैं,’ उनले भनिन्, ‘एक महिनामै विकल्प खोज्ने आश्वासन अहिलेसम्म पूरा भएको छैन।’ उनले हावाहुरी आएका बेला भवन भत्कियो कि भन्ने डरले विद्यालयतिर दौडधुप गर्नुपर्ने अवस्था रहेको बताइन्।

चिन्ता अभिभावकलाई मात्र होइन विद्यार्थीको मनमा पनि डरको भारी छ। विद्यालय व्यवस्थापनले बालमनोविज्ञान बुझ्न नसकेको अभिभावकले गुनासो छ। कक्षा ३ मा अध्ययनरत विद्यार्थी एल्जिन कट्टेलले सुरुमा निकै डर लागे पनि अहिले बानी परिसकेको बताए। कट्टेलले भने, ‘अझै पनि बेलाबलामा साथीहरुले डर व्यक्त गर्छन्।’

करिब एक सय विद्यार्थी पढ्ने एकेडेमीको पुरानो भवन २०७२ वैशाखको भूकम्पले चिराचिरा परेपछि काठको टेको दिइएको छ। भवन कुनै पनि बेला भत्कने अवस्थामा देखिन्छ।

एकेडेमीले प्रयोगमा ल्याएका अन्य कक्षाकोठा पनि शैक्षिक वातावरण सुहाउँदो नभएको अभिभावकको गुनासो छ। भवनको अघिल्लो भागमा बाँसको चोया र अन्य भागमा जस्तापाता प्रयोग गरिएको छ भने शौचालयको अवस्था भन् दयनीय छ। समस्या थाहा हुँदाहुँदै पनि हात बाँधेर बस्नुपरेको प्रिन्सिपल मुकुन्द अधिकारीको भनाइ छ। ‘हामीले व्यवस्थापनलाई पटकपटक भनिसकेका छौं,’ उनले थपे, ‘कार्यकारी पावर आफूसँग नभएकाले पनि समस्या टुलुटुलु हरेर बस्नुबाहेक विकल्प छैन्।’ उनले जीर्ण भवनमा पढाउँदा शिक्षकसमेत डराउने बताए।

विद्यालय व्यवस्थापन पक्षले दिगो व्यवस्थापनको तयारी थालिएको प्रतिक्रिया दिएको छ। भवन निर्माणका लागि साढे ३ रोपनी जग्गा भाडामा लिएको र यही महिनादेखि निर्माण थाल्ने व्यवस्थापन समितिका अध्यक्ष हेमराज भट्टराईले बताए। उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि नयाँभवनमा सार्ने हाम्रो योजना छ। नर्सरी र कक्षा ३ को कक्षा सञ्चालनका लागि अस्थायी विकल्पको खोजी गर्नेछाैं।’ नजिकै गाउँपालिकाको कार्यालय र सोही बाटो भएर हिँड्ने जनप्रतिनिधिले जीर्ण भवनमा पठनपाठन भएको चाल पाए पनि चासो नदेखाएको स्थानीयको गुनासो छ।

प्रकाशित: १६ मंसिर २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App